
लमजुङ : लमजुङको क्व्होलासोंथर गाउँपालिका ८ घिचेमा घरघरमै खानेपानीको धारा जडान गरिएको छ ।
घरैपिच्छे धारा जडान गरिएपछि उक्त गाउँमा खानेपानीको समस्या टरेको स्थानीयले बताएका छन् । खानेपानीले स्थानीयलाई खुसी र सहज बनाएको छ । गाउँमा खानेपानीको समस्या भएपछि घिचे एक घर, एक धारा खानेपानी उपभोक्ता समिति मार्फत पानी ल्याइएको हो । समितिका अध्यक्ष पदमबहादुर गुरुङका अनुसार गाउँ माथिको बिन्खो मूलबाट पानी ल्याइएको हो । गाउँमा खानेपानी ल्याउनका लागि गाउँन जिकै ५ हजार लिटरको ट्याङकी राखिएको छ ।
खानेपानी आयोजनाबाट १८ घर लाभान्वित भएका छन् । खानेपानीको धारा १८ घरमा, एक सामुदायिक भवन र विद्यालयमा जडान गरिएको छ । खानेपानी आयोजनाबाट स्थानीयको जीवनस्तर परिवर्तन भएको उहाँले बताउनुभयो । ‘पानीका लागि धेरै समस्या थियो । टाढा जानुपथ्र्यो । अहिले घरमै धारा ल्याएका छौं’ उहाँले भन्नुभयो, ‘पानीले स्थानीयको दैनिकी नै परिवर्तन भएको छ ।’
खुसमाया गुरुङका अनुसार यसअघि गाउँमा सामुहिक धारा थियो । गाउँभरि ४ वटा मात्र धारा थियो । पानी लिनका लागि लाइनमा बस्नुपर्ने, कुर्नुपर्ने हुँदा कामकाजमा ढिलाई हुन्थ्यो, आँगनमै धारा आएपछि काम काजमा सहज भएको उहाँले बताउनुभयो । ‘घरमै धारा आयो । पहिलेको जस्तो अब समस्या छैन । खोला र कुलोको समेत पानी खान बाध्य थियौं’ उहाँले भन्नुभयो, ‘नुहाउन, कपडा धुन, तरकारीमा हाल्न सजिलो भएको छ । काम पनि छोटो समयमै सकिने गरेको छ ।’
वडाध्यक्ष राजु गुरुङका अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा वडाले खानेपानी आयोजनाका लागि ३ लाख रुपैयाँ बजेट छुट्याएको थियो । स्थानीयले २ लाख रुपैयाँको श्रमदान गरेर ५ लाख रुपैयाँमा आयोजना सम्पन्न गरिएको उहाँले बताउनुभयो । गाउँमा खानेपानीको धारा घरघरमै जडान गरिएपछि स्थानीय खुसी भएको उहाँले बताउनुभयो । ‘वडाका सबै गाउँमा एक घर एक धारा पु¥याउने भनेका छौं । यसबर्ष यहाँ पु¥याएका छौं’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार वडा नं. ८ को घिचेसंगै घ्रामाङ, तामु गाउँमा समेत एक घर, एक घारा आयोजना सम्पन्न भइसकेको छ । २ सय ११ घरधुरी रहेको उक्त वडाको मपिङमा भने एक घर एक धारा कार्यक्रम पुगेको छैन । उक्त गाउँमा ४० घरधुरी छ । आगामी बर्ष बजेट छुट्याएर आयोजना सञ्चालन गरिने वडाध्यक्ष गुरुङले बताउनुभयो ।


1158 पटक हेरिएको 

