जुम्लामा जलकचहरी, २०७६ भित्र एकीकृत वास रणनैतिक योजना निर्माण गरिने

मनिराज पाण्डे

कालिकोट : बिश्व पानी दिवसको अवसरमा १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै जुम्लामा जलकचहरी सम्पन्न भएको छ । जुम्ला जिल्लाको हिमा गाउँपालिकाले खानेपानी सरसफाइ र स्वच्छताको अवस्थामा सुधार ल्याउन जलकचहरी कार्यक्रम आयोजना गरिएको हो ।

“मानवअधिकार मैत्री गाउँपालिका हाम्रो अभियान, सरसफाइ स्वच्छता र समृद्ध हिमा हाम्रो पहिचान” भन्ने मुलनारा राखेर गाउँपालिकाले १० बुँदे प्रतिवद्धता पत्र जारी गरेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।

जलकचहरीमा सहभागी भएका स्थानीयले नियमित स्वच्छ सफा र गुणस्तरीय पानी सुलभ मुल्यमा पिउन पाउनुपर्ने कुरा राखेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाले बताउनुभयो ।

बुढाका अनुसार चलकचहरीमा खानेपानीको माग राख्दै १५ जना भन्दा बढीले निबेदन दर्ता गराएका छन् । खानेपानीको टट्कारो आवश्यकता रहेको हिमा गाउँपालिकामा वाटर एडको सहयोगमा किर्डाक नेपाल जुम्लाले खानेपानी सरसफाइ र स्वच्छता कार्यक्रम गरिरहेको छ । जलकचहरीमा जिल्ला समन्वय समिति सभापति लालबहादुर सार्कीले स्थानीय जनतालाइ पहुँच योग्य, गुणस्तरीय, बिभेद रहित र सुलभ मुल्यमा शुद्ध खानेपानी पु¥याउने प्रतिबद्धता जनाउनु भयो । स्वच्छ र सर्वसुलभ खानेपानी पाउनु नागरिकको मौलिक हक भएको खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार अभियन्ता राजेश हमालले बताउनुभयो ।

नागरिकका मौलिक हकको परिपुर्ति गर्न स्थानीय सरकारले खानेपानी सरसफाइ तथा स्वच्छता योजना निर्माण गरी अघि बढ्नु पर्ने किर्डाक नेपालका वास थिम लिडर नबिनकुमार शाहीले बताउनुभयो । कार्यक्रममा १ सय भन्दा बढी स्थानीयले सहभागिता जनाएका थिए ।

जलकचहरीले जारी गरेको १० बुँदे प्रतिबद्धता

१.खानेपानी तथा सरसफाइ प्रवर्धनका सवालमा गाउँपालिकाले कम्तिमा बर्षमा २ पटक जलकचहरी गर्न प्रतिवद्ध छौं ।

२. किर्डाक नेपाल/वाटरएडको सहयोग एंव सहजीकरणमा हिमा गाउँपालिकाको एकीकृत उत्थानशिल खानेपानी सरसफाइ तथा स्वच्छता रणनैतिक योजना २०७६ भित्र निर्माण गरी कार्यान्वयन गर्न गाउँपालिका प्रतिवद्ध छ ।

३. हिमा गाउँपालिकाको खानेपानी तथा सरसफाइको अवस्थामा उल्लेख्य सुधार ल्याउन खानेपानी तथा सरसफाइ क्षेत्रमा पुँजीगत बार्षिक बजेटको न्यूनतम २० प्रतिशत बजेट बिनियोजन गरिरहेको सन्र्दभमा दिगो खानेपानी तथा सरसफाइ, बिपद् जोखिम न्युनीकरण र जलवायु अनूकूलनका नीति तथा कार्यक्रम तर्जुमा तथा प्रभावकारी कार्यान्वयन गर्न प्रतिवद्ध छौं ।

४ उत्थानशील खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्धनमा टेवा पु¥याउन खानेपानी उपभोक्ता समितिहरुमा सिमान्तकृत, पछाडि पारिएका समुदाय, दलित, महिला (महिला कम्तिमा ३३ प्रतिशत) तथा अपांग भएका ब्यक्तिहरुको अर्थ पूर्ण सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध छौं ।

५. हिमा गाउँपालिका भित्र संचालन भइरहेका खानेपानी आयोजनाको लागत संकलन गरी गाउँपालिकामा सूचीकृत गरी अनिवार्य मर्मत सम्भार कोष, हेरालु तथा मर्मत सम्भार कार्यकर्ता उत्पादन गर्ने र हिमा गाउँपालिकाको नीति अनुसार एक घर एक धारो, मिटर प्रणालीको ब्यवस्थापन, विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता र सुरक्षित खानेपानी उपलब्ध गराउदै आगामी ३ वर्ष भित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउन प्रतिबद्ध छौं ।

६. गाउँपालिका भित्रका सबै खानेपानी तथा सरसफाइ उपभोक्ताको क्षमता बृद्धि गर्दै, गाउँपालिका स्तरीय खानेपानी उपभोक्ता महासंघको संजाल गठन भइ क्रियाशील भएकोले आवश्यक क्षमता बृद्धिमा सहयोग गर्न प्रतिबद्ध छौं ।

७. गाउँपालिका अन्तर्गतका सबै सरकारी, गैर सरकारी तथा अर्ध सरकारी कार्यालय वा संस्थामा कार्यरत सबै ब्यक्तिलाई अनिवार्य रुपमा मोडल शौचालय निर्माण सहित पूर्ण सरसफाइका सूचक पुरा गराउन यसै आर्थिक वर्ष भित्र गाउँपालिकाले अनुगमन गरी निर्माण गर्न गराउन सहजीकरण गर्नेछ ।

८ गाउँपालिकामा दिगो एवं सुरक्षित खानेपानी सरसफाइ तथा स्वच्छता सबैका लागि सधैका लागि र पर्याप्त मात्राको अभियान पुरा गर्न सबै निकाय तथा संघ संस्थालाई गाउँपालिकाको योजना अनुसार एकद्धार प्रणाली मार्फत सबै वडामा सेवा पुर्याउन गाउँपालिका प्रतिबद्ध छ ।

९. गाउँपालिकाको मुख्य बजार तथा गाउँवस्तीमा आवश्यक ढल निकासको लागि पहल गरिनेछ ।

१०. हिमा गाउँपालिकाका सबै वडाहरुमा वडा अध्यक्षको अध्यक्षतामा रहने गरी यसै बर्ष भित्र वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरी समिति मार्फत सबै कार्यहरु गर्न गराउन गाउँपालिका प्रतिबद्ध छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार