काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालय, खानेपानी तथा वातावरण महाशाखाका प्रमुख मनोज घिमिरेलाई बिदाई गरेको छ । कर्मचारी समायोजनका क्रममा प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव भएर जानु हुने भएपछि समितिले आज विदाई समारोहको आयोजना गरी उहाँको आगामी कार्यकाल सफलताको शुभकामना सहित विदाई गरिएको हो ।

मन्त्रीपरिषदको फागुन २८ गतेको निर्णयले खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा वातावरण महाशाखा प्रमुख घिमिरेलाई प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा खटाउने निर्णय गरेको थियो । प्रदेश १ सरकारले पनि अनुभवी सचिवको आवश्यकता महसुस गर्दै घिमिरेलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सचिवमा ल्याउन चाहेको थियो ।
प्रदेश सरकारले पनि आफूलाई आईदिनुहोस् भनेर आग्रह गरेको र आफूले पनि निजामति सेवामा बटुलेको लामो अनुभव आफ्नै प्रदेशमा लगानी गर्न चाहेकाले प्रदेश १ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सचिव भएर जान लागेको उहाँले बताउनुभयो ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले सरसफाइमा ठूलो योगदान पु-याउनु भएका समितिका अध्यक्ष घिमिरेको सरुवाले सरसफाइ क्षेत्र प्रभावित हुनसक्ने बताउनुभयो ।
को हुन मनोज घिमिरे ?
मनोज घिमिरेको जन्म २०१८ सालमा भएको हो । २०४२ सालमा औद्योगिक विकास प्रतिष्ठानबाट सेवा सुरु गर्नुभएका घिमिरले २०४३ सालमा सार्वजनिक निर्माण शाखामा सेवा गर्नुभयो । २०४६ सालमा तत्कालीन भवन विभागमा इञ्जिनियर भएर स्थायी सेवामा प्रवेश गरेका घिमिरे २०५२ सालमा सिनियर डिभिज्नल इञ्जिनियर (उप सचिव) मा बढुवा हुनुभयो ।
२०७१ सालमा सहसचिवमा बढुवा हुनुभएका घिमिरे खानेपानी तथा ढल व्यवस्थापन विभागमा उपमहानिर्देशक हुँदा ६८ प्रतिशत रहेको सरसफाइको कभरेज ९९ प्रतिशत पुगेको छ ।
सचिव घिमिरेसँग धादिङ, पाल्पा, रसुवा, सोलुखुम्बु, नुवाकोट, काठमाडौ, मुस्ताङ, सुनसरी, झापा, मोरङ, काभ्रे, डोटी, कास्की लगायत जिल्लामा खानेपानी डिभिजन तथा सवडिभिजन कार्यालयमा प्रमुख भएर सेवा गरेको अनुभव छ ।

उहाँले पूर्वाञ्चल क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय धनकुटा, सुदुरपश्चिमाञ्चल क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय डोटी, मध्यमाञ्चल क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौं र पश्मिाञ्चल क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय कास्कीको निर्देशक भएर सेवा गरिसक्नुभएको छ ।


3717 पटक हेरिएको 

