शंखरापुर खुला दिसामुक्त घोषणा, अब काठमाडौ महानगरपालिका मात्र बाँकी

काठमाडौ : काठमाडौको शंखरापुर नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गरिएको छ । ५ हजार ४ सय ६ घरमै शौचालय बनाएर प्रयोगमा आएपछि नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले आयोजना गरेको खुला दिसामुक्त नगर घोषणा कार्यक्रममा शंखरापुरलाई आज (बिहीबार) खुला दिसामुक्त घोषणा गरिएको हो ।

शंखरापुरमा निर्मित शौचालय प्रयोग भए नभएकोबारे जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) ले गत सोमबार अनुगमन गरी खुला दिसामुक्त नगर घोषणा गर्न सहमति प्रदान गरेको थियो ।

शंखरापुर नगरपालिका खुला दिसामुक्त नगर घोषणा भएपछि काठमाडौ उपत्यकाभित्र खुला दिसामुक्त घोषणा हुना काठमाडौ महानगरपालिका मात्र बाँकी रहेको छ । भक्तपुर र ललितपुर जिल्ला यस अघि नै खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

महानगर र काठमाडौ जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्छौ : अध्यक्ष राजबैद्य

शंखरापुर नगरपालिका खुला दिसामुक्त घोषणा सभामा बोल्दै डिवाससीसी काठमाडौका अध्यक्ष शिवसुन्दर राजबैद्यले काठमाडौ महानगरपालिका र काठमाडौ जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

त्यसअघि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले स्मार्ट सिटीको कुरा गरिरहने महानगरपालिकाले दिसापिसाब चाहिं थन्क्याउन नजान्ने हो भने स्मार्ट हुन नसक्ने भन्दै डिवाससीसी अध्यक्षलाई काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौंका सदस्य सचिव एवं खानेपानी तथा सरसफाइ डिभिजन ५ नं. कार्यालयका प्रमुख हरिदत्त पौडेलले महानगरपालिका पहिले नै खुला दिसामुक्त घोषणा गर्नुपर्ने भएपनि अव्यवस्थित बस्ती, बढ्दो जनघनत्व लगायत कारणले अहिलेसम्म खुला दिसामुक्त घोषणा नसकेको बताउनुभयो ।

उहाँले अब महानगरपालिका माथि दबाब बढेको र चर्पी बनाउन बाँकी घरघुरी र सार्वजनिक शौचालय निर्माण गरेर चाँडै महानगर पनि खुला दिसामुक्त घोषणा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खुला दिसामुक्त घोषणा सभाका प्रमुख अतिथी एवं संघीय संसदका सांसद सरिता न्यौपानेले पनि देशको राजधानी रहेको काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा खुला दिसामुक्त घोषणाको चरणमा पु -याउन योगदान पु-याएका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार