८ बुँदे दोलखा प्रतिबद्धता जारी, दोलखा असारभित्रै खुला दिसामुक्त हुने

दोलखा : प्रदेश ३ को दोलखा जिल्लालाई असार मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्न दोलखाको स्थानीय सरकारले प्रतिबद्धता जाहेर गरेको छ ।

चरिकोटमा दोलखा जिल्लाका स्थानीय तहका ‘जनप्रतिनिधीहरुका लागि खानेपानी तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा’ जनप्रतिनिधीहरुले २०७६ असार महिनाभित्रै खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दोलखाको दिगो र समतामूलक खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्धन गर्न अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यले राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र/खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौ र जिल्ला समन्वय समिति दोलखाले संयुक्त रुपमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

जनप्रतिनिधीले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न ८ बुँदे प्रतिबद्धता जाहेर गरेका छन् ।

यी हुन् जनप्रतिनिधीले गरेका प्रतिबद्धताहरु :

– खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी गाउँपालिका तथा नगरपालिका तहका नीति, नियम र प्रोफाइल र योजना तर्जुमा गर्ने ।

– सम्पूर्ण पालिका र वडा तहमा पूर्ण सरसफाइ र खानेपानी सुरक्षा योजना प्रबर्धनको लागि सम्बन्धित खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समिति र उपभोक्ता समितिका पदाधिकारीहरु लगायतका सम्बन्धित सरोकारवालाहरुको क्षमता विकास गरी सबैलाई क्रियाशील बनाउने ।

– खानेपानीका मुहानहरुको पहिचान र स्रोत संरक्षण गर्ने ।

– पालिका तहको योजना अनुरुप खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्धनको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने ।

– खानेपानी आयोजनाहरुमा खानेपानी सुरक्षा योजना, पानी प्रशोधन, शुद्धिकरण र परिक्षण कार्य प्रबर्धन गर्ने ।

– स्थानीय तहमा व्यवस्थापन गर्ने गरी विद्यालय र सार्वजनिक स्थलहरुमा उपभोक्तामैत्री शौचालय निर्माण गर्ने ।

– खानेपानी आयोजना तहमा मर्मत सम्भार कोष स्थापना गरी संरचनाको मर्मत सम्भार र सुचारुपनमा सुधार गर्ने ।

– जिल्ला र पालिका तहका खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समिति एवं अनुगमन टोली मार्फत नियमित अनुगमन गर्ने, अभिलेख व्यवस्थापन गर्ने र आम सञ्चारका माध्यमहरुबाट उपलब्धीहरुको ब्यापक रुपमा प्रचार प्रसार गर्ने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार