महिनावारी दिवस : राष्ट्रपतिले सन्देश दिने देखि सेलिब्रेटीलाई नचाउनेसम्म

 

काठमाडौ : सरकारले महिनावारी स्वच्छता दिवस भव्यताका साथ मनाईने भएको छ । महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल (MHM PA) को समन्वयमा खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको तयारी बैठकमा दिवस भव्य रुपमा मनाउने निर्णय गरिएको हो ।

दिवस आउन एक महिना समय बाँकी रहँदै बसेको तयारी बैठकमा सञ्जालका सदस्यहरुले दिवसका लागि गरिएको तयारीबारे जानकारी गराएका थिए ।

महिनावारी स्वच्छता दिवस राष्ट्रिय स्तरमा भव्यताका साथ मनाउन राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्षको संयोजकत्वमा कार्यदल निर्माण गरिने र कार्यदलमा युनिसेफ, महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल, जिआईजेट लगायत संस्थाहरु सदस्य रहने बैठकले निर्णय गरेको छ ।

बैठकमा महिनावारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट महिनावारी स्वच्छता सन्देश दिन लगाउने, सञ्चारमाध्यममा महिनावारी स्वच्छता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, सेलिब्रेटीहरुसँग टिभी अन्तर्वार्ता गराउने, दिवसको नारामा आधारित भएर प्रियंका कार्की तथा रेखा थापा जस्ता सेलिब्रेटिहरुलाई नृत्य गर्न लगाउने, महिनावारी स्वच्छता सँग सम्बन्धित कार्यक्रम तथा कार्ययोजनाहरु छन् वा कुनै बुकलेटहरु तयार पारेको भए सोही दिन सुरुवात गर्ने लगायत प्रस्ताव गरिएको थियो ।

यद्यपि उक्त दिन के कस्ता कार्यक्रम गर्ने भन्ने बिषय कार्यदलले निक्र्यौल गर्ने महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल (MHM PA)  का संयोजक गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक बर्ष मे २८ तारिखमा महिनावारी स्वच्छता दिवस मनाइन्छ । यो दिवस सन् २०१४ देखि विश्वभर मनाउन थालिएको हो । प्रजनन स्याहार केन्द्रका अनुसार नेपालमा दैनिक लगभग २ लाख ९० हजार जना महिला तथा किशोरीहरुमा महिनावारी  हुने गरेको छ ।

८२ प्रतिशत महिला ग्रामीण क्षेत्रमा बसोबास गर्ने र उनीहरुले महिनावारी व्यवस्थापनका लागि परम्परागत, फोहर, अस्वस्थ र  खतरनाक उपाय अपनाउने गरेका छन् ।

बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागकी उप महानिर्देशक मीना श्रेष्ठले विभागले यसअघि चर्पी बनाउने र खुला दिसामुक्त घोषणा गर्ने कार्यमा बढी जोड दिएपनि अब महिनावारी स्वच्छतामा समेत काम गर्ने बताउनुभयो ।

उहाँले यसबर्ष सुदुरपश्चिमका जिल्लाहरुमा काम गर्ने सोच रहेको बताउनुभयो । महिनावारी स्वच्छताका बिषयमा तालिम पुस्तिका प्रकाशन गर्ने, महिनावारीमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने विभागको योजना रहेको पनि उहाँले बताउनुभयो ।
महिनावारी सम्बन्धी सचेतनाको आवश्यकता काठमाडौमा भन्दा पनि देशको दुरदराजमा आवश्यकता रहेको भन्दै उहाँले काठमाडौमा भन्दा सुदुरपश्चिम तथा कर्णालीका जिल्लाहरुमा विस्तार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले महिनावारी स्वच्छताको बिषय पूर्ण सरसफाइ सँग सम्बन्धित भएकाले महिनावारी स्वच्छता सञ्जाललाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग समन्वय गरेर मात्र अघि बढ्न आग्रह गर्नुभयो ।

महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल (MHM PA) को यो १३ औं बैठक हो । बैठकको अध्यक्षता खानेपानी तथा ढल व्यवस्थापन विभागकी मीना श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार