तम्घास : गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबारदेखि फैलिएको झाडापखालावाट आज अपरान्हसम्ममा १६० जना पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताउनुभयो ।
ती बिरामीमध्ये पाँच जनाको तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको र एक जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बिरामी भने दजाकोटमै सञ्चालित अस्थायी शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताउनुभयो ।
गुल्मी अस्पतालका डा उत्तम पचभैयाका अनुसार उपचार गराउन आएका पाँचैजनाको दिसा परीक्षण गर्दा सबैको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा सङ्क्रमण हुन सक्ने बताउनुभयो । उक्त स्थानमा झाडापखालाको कारण पत्ता लगाउन पानी परीक्षण गर्न विश्व स्वास्थ्य सङ्गठनको एक टोली आजै प्रभावित क्षेत्रमा पुग्ने उहाँले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखाले प्रभावित क्षेत्रमा स्थानीय विद्यालयमा अस्थायी शिविर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ भने जिल्ला स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका चिकित्सक सहितका स्वास्थ्कर्मीको टोली प्रभावित क्षेत्रमा पुगेर बिरामीको उपचार गर्दै आएको छ । डा उत्तम पचभैयाका अनुसार अहिले त्यस क्षेत्रमा फैलिएको झाडापखाला विस्तारै नियन्त्रणमा आउन लागेको र बिरामीको अवस्था समेत सामान्य बन्दै गएको छ ।
प्रभावित क्षेत्रमा खानेपानीको समस्या
झाडापखालावाट प्रभावित दजाकोटको सिङ्गो बस्तीमा यतिबेला पिउने पानीको समस्या भएको छ । विगत एक वर्षदेखि नियमित ८५ घरपरिवारले उपभोग गर्दै आएको पानीले झाडापखाला फैलिएपछि स्थानीयवासीले यति बेला उक्त पानी पिउन छाडेका छन् ।
गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने स्थानबाट नगरपालिकाले शुक्रबारदेखि ट्याङ्करमा पानी बोकेर स्थानीयवासीलाई वितरण गर्दै आएको छ । पानीको सङ्क्रमणबाट मानिस थप बिरामी नहोउन् भनेर नगरपालिकाले उक्त स्थानमा झाडापखाला नियन्त्रणमा नआउँदासम्म शुक्रबारदेखि प्रत्येक घरपरिवारलाई पिउनका लागि एक कार्टुनका दरले प्रशोधित पानी उपलब्ध गराएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।
नगरपालिकाले झाडापखालाबाट बिरामी भएकालाई उपचारका लागि आवश्यक बजेट उपलब्ध गराउने र उपचारमा कुनै कमी हुन नदिने जनाएको छ । अहिले प्रभावित बस्तीमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिले स्थानीयवासीलाई सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।


893 पटक हेरिएको 

