खानेपानी मन्त्रालय मातहतका निकायलाई परियोजना विश्लेषण सम्बन्धी तालिम

 

काठमाडौ : आगामी आर्थिक बर्षको बजेट निर्माण भईरहेका बेला खानेपानी मन्त्रालयले मातहतको निकायका प्रमुख तथा कर्मचारीहरुलाई परियोजना विश्लेषण तथा प्रतिवेदन लेखन विषयक तालिम प्रदान गरेको छ ।

खानेपानी मन्त्रालय तथा मातहतका निकायहरुलाई आयोजना चक्रका विभिन्न चरणहरुमा सम्बन्धित कार्यालयको भूमिका, आयोजना निर्माणको बर्तमान अभ्यास, वर्तमान तरिकाबाट आयोजना सञ्चालन र रिपोर्टिङमा आउने समस्या र आगामी दिनमा योजना तर्जुमा, कार्यान्वयन र प्रतिवेदन लेखनका बिषयमा छलफल गरिएको खानेपानी मन्त्रालय, आयोजना तथा विकास सहायता समन्वय महाशाखाका अर्थशास्त्री कमलकान्त पौडेलले जानकारी दिनुभयो । तालिममा चार वटा समूहमा विभाजन भएर आयोजना निर्माणको विभिन्न पक्षबारे छलफल गरिएको थियो ।

यी हुन् छलफल गरिएका मुख्य बिषय

१. परियोजना विश्लेषण

परियोजना विश्लेषणमा परियोजना छनौटका आधारहरु, कस्ता योजनालाई बढी प्राथमिकता दिने, लाभ लागत विश्लेषणका तरिकाहरु, फाइदाहरु के – के हुन्छन् र कस्ता टुल्सहरुको प्रयोग गर्ने लगायत बिषयमा छलफल भएको थियो ।

स्रोत, साधन र आवश्यकताको सन्तुलन कसरी मिलाउने, आयोजनाहरुको प्राथमिकीकरण गरी मुख्य प्रोजेक्टहरुलाई बढी प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने लगायत बिषयमा छलफल गरिएको थियो ।

२. बजेट फर्मुलेसन

देशमा तीन तहको सरकार छ । संघले बजेट बनाउँदा संघ, प्रदेश र स्थानीय सरकारलाई कसरी समेट्ने ? सरकारले लिएको राष्ट्रिय लक्ष्य तीनै तहको सक्रियताबाट मात्र प्राप्त हुने भएकाले तीनै तहमा बजेट परिचालन कसरी गर्ने र विनियोजन दक्षता, तीनै सरकारको भूमिका, अहिले देखिएका समस्याहरु र समाधानका उपायका बिषयमा यो सत्रमा छलफल गरिएको थियो ।

३. ग्रान्ट प्रपोजल र रिपोर्ट राईटिङ

ठूला आयोजना स्वीकृत गराउनका लागि फण्डिङ एजेन्सीलाई कसरी प्रस्तावना लेख्ने ? अन्तर्राष्ट्रिय स्तरमा कस्ता प्रपोजलहरु बिड हुन सक्छन् ? हामीले पेस गरेका प्रोपोजलहरु किन फेल हुन्छन् ? प्रपोजलमा हुनुपर्ने मुख्य मुख्य बिषय, फण्डिङ भएपछि कार्यान्वयन गर्ने तरिका र सम्पन्न भएपछि रिपोर्टिङ गर्ने कलाका बिषयमा यो सेसनमा छलफल भएको थियो ।

४. इनपुट आउटपुट विश्लेषण

एउटा क्षेत्रमा गरिएको लगानीले राष्ट्रको अन्य क्षेत्रमा कस्तो प्रभाव पर्छ ? भन्ने बिषयमा यो सेसनमा छलफल गरिएको थियो । ‘हामीले एउटा क्षेत्रमा गरिएको लगानीले राष्ट्रिय अर्थतन्त्रमा कस्तो प्रभाव ल्याउँछ ? वासमा गरिएको लगानीले अन्य क्षेत्रमा सकारात्मक प्रभाव कसरी ल्याउँछ ? भन्ने बिषयमा बृहत छलफल भएको थियो ।’ खानेपानी मन्त्रालय, आयोजना तथा विकास सहायता समन्वय महाशाखाका अर्थशास्त्री कमलकान्त पौडेल भन्नुहुन्छ ‘अब हामीले छनौट गरिने योजनाहरु एउटामा लगानी गरेपनि त्यसको प्रभाव बहुआयमिक क्षेत्रमा पर्ने खालका योजनाहरु छनौट गर्नुपर्छ ।’

कार्यक्रममा खानेपानी मन्त्रालयका महाशाखा प्रमुखहरु मन्त्रालयका सहसचिवहरु, विभागीय प्रमुखहरु समेत सहभागी हुनुहुन्थ्यो । बजेटिङको समयमा प्राप्त भएको तालिम निक्कै प्रभावकारी भएको तालिमका सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

तालिम खानेपानी मन्त्रालय, आयोजना तथा विकास सहायता समन्वय महाशाखाको आयोजना तथा युनिसेफ नेपालको सह आयोजनामा सम्पन्न भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार