महिनावारी स्वच्छता सम्बन्धी कार्टुन कमिक ‘सपनाको सपना’ प्रकाशित

काठमाडौ :  महिनावारी हुँदा विद्यालयमा किशोरीहरुले भोग्नुपर्ने समस्या, सहपाठीहरुले गर्ने व्यवहार र महिनावारीमैत्री शौचालयको महत्व लगायत विषय समेटेर कार्टुन कमिक पुस्तक ‘सपनाको सपना’ प्रकाशित गरिएको छ ।

महिनावारी स्वच्छता व्यवस्थापनको पक्षलाई उजागर गर्ने उद्देश्यले केएर नेपालले यो पुस्तक प्रकाशन गरेको हो । पुस्तक प्रकाशनका लागि लेखनमा सुमी लिम्बु, प्राविधिक पक्षमा फुर्बा साङ्गे मोक्तान, सुरज श्रेष्ठ, सञ्चार समन्वयमा विशेष संगत तथा डिजाइनमा एलिता श्रेष्ठले योगदान पुराउनुभएको छ ।

‘सपनाको सपना’ को केही दिन अघि खानेपानी तथा ढल व्यवस्थापन विभागमा आयोजना गरिएको ‘महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल’ को १३ औं बैठकका क्रममा विभागकी उप महानिर्देशक मीना श्रेष्ठले विमोचन गर्नुभयो ।

 

 

कथाको मूल सार :

कथाको मूख्य पात्र सपना हुन्छिन् । सपनाको साथी माया । सपनालाई विद्यालयमा महिनावारी हुन्छ । यो कुरा केटाहरुले थाहा पाउँछन् र जिस्काउँछन् ।

सुनिता विद्यालयकी शिक्षिका र गाउँकी स्वयंसेविका पनि हुन् । कक्षामा सपनालाई नदेखेपछि उनको खोजी हुन्छ र सपना विद्यालयमा नआउनुको कारणबारे केटाहरुले जिस्काएको भावमा बताउँछन् ।

 

 

किशोरीहरुलाई हुने महिनावारीहरुलाई केटाहरुले हाँसोमा उडाउने र जिस्काउने बिषय बनाएपछि सुनिता (शिक्षिका एवं स्वयंसेविका) ले यसबारेमा बुझाउने कोशिश गर्छिन् ।

शिक्षिकाले महिनावारीका बिषयमा प्रष्ट पारेपछि केही दिन अघि सपनालाई जिस्काउने सहपाठी केटाहरु आफूले जिस्काएकोमा पश्चाताप मान्दै सपनासँग माफी माग्ने निश्कर्षमा पुग्छन् ।

अर्को दिन उनीहरु सपनाको साथी मायासँग सपनाको घर जान्छन् र पहिले गरेको गल्ती प्रति क्षमा याचना गर्दै सपनालाई महिनावारी भएको समयमा गर्न हुने र गर्न नहुने कुरा बारे जानकारी गराउँछन् ।

छलफलकै क्रममा सपनाले स्कुलमा महिनावारीमेत्री शौचालय नहुँदा प्याड फेर्न, सरसफाइ गर्न नपाउने भएकाले घरमै बस्न उचित लाग्ने बताउँछिन् ।

त्यसपछि सपना, माया, प्रकाश र श्याम विद्यालयमा छात्रछात्राका लागि अलग अलग शौचालय हुनुपर्ने र छात्राका लागि बनाएको शौचालय महिनावारीमैत्री हुनुपर्ने निष्कर्षमा पुग्छन् र उक्त शौचालय निर्माणका लागि शिक्षिका मार्फत विद्यालयका प्रधानाध्यापक सम्म पुराउने निधो हुन्छ ।

अन्त्यमा सपना, माया, प्रकाश र श्यामको मेहेनत एवं सुनिता मिस र हेडसरको मद्दतले विद्यालयमा महिनावारीमैत्री शौचालय बनाउन सफल हुन्छन् ।

कार्टुन कमिक पुस्तक ‘सपनाको सपना’ ले सपनाको समस्या, मात्र सपनाको होइन, यो त महिनावारी हुने उमेरका सबै किशोरीहरुको हो र उनीहरुका लागि महिनावारी स्वच्छता सेवा सहितको शौचालय विद्यालयमा उपलब्ध हुनुपर्छ भन्ने मूल सन्देश दिइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार