
तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा बीआईसीटी अध्ययनरत छात्रा अस्मिता अधिकारीले कयौं पटक कलेज छाडेर घर फर्किनु भएको छ । कहिले बाटोमा आउँदा आउँदै त कहिले कलेजमा हाजिर भएर पनि फर्किएको अनेकन घटना छन् । कलेजमा हाजिर भएर होस् वा बाटैबाट । फर्किनुको एउटै कारण हुन्थ्यो ‘महिनावारी ।’
‘पढिरहेको बेला अचानक महिनावारी भयो भने के गर्ने ? कहाँ जाने ? कहाँबाट प्याड ल्याउने ? पढिरहेका बेला पनि मनमा घुमिरहने यस्ता प्रश्न अब हटेको छ । हामीले यसको प्रत्यक्ष सकारात्मक प्रभाव उनीहरुको शैक्षिक अवस्थामा झल्किने आशा लिएका छौं ।’
महिनावारी हुँदा अस्मिता जस्ता धेरैजसो किशोरीहरु विद्यालय वा कलेजमा पूरा समय बिताउँदैनन् । कलेज तथा विद्यालयमा सहपाठीहरुले जिस्काउँलान् कि भन्ने समस्या र चाहेकै बेला स्यानिटरी प्याडको व्यवस्था नहुँदा घरमै बस्न बाध्य हुन्छन् ।
विद्यालय तथा कलेजमा महिनावारी भएको समयमा किशोरीहरुले झेल्नुपर्ने यही समस्यालाई बुझेर तनहुँको आदिकवि भानुभक्त क्याम्पसले विद्यालयमा भेण्डिङ मेसिन जडान गरेको छ ।
क्याम्पसलाई लायन्स क्लब अफ काठमाडौंले स्वचालित तथा आधुनिक स्यानिटरी न्याप्किन प्याड भेन्डिङ मेसिन उपलब्ध गराएको हो । उक्त भेन्डिङ मेसिनमा दुई रुपैयाँको सिक्का खसालेपछि स्यानिटरी न्याप्किन प्याड निकाल्ने व्यवस्था मिलाइएको क्याम्पसकी सहप्राध्यापक कल्पना लम्सालले बताउनुभयो ।
आदिकवि भानुभक्त क्याम्पसमा ८० प्रतिशत छात्रा अध्ययन गर्छन् । झण्डै २ हजार ३ सय अध्ययनरत क्याम्पसमा १ हजार ६ सय जति छात्रा मात्र छन् । छात्राहरु महिनावारी भएको समयमा क्याम्पस आउनै छाडेपछि पढाइ नियमित गराउन भेण्डिङ मेसिन जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताउनुभयो । मेसिन जडान गरेपछि छात्राका साथै महिला प्राध्यापक र कर्मचारीलाई समेत सहज भएको क्याम्पस प्रमुख हड्खले बताउनुभयो ।
खासगरी पसलमा स्यानिटरी प्याड किन्न समेत हिच्किचाउने, शिक्षक शिक्षिका सँग प्याड माग्न पनि लजाउने र प्याड किन्ने रकम नहुने छात्राहरु यसबाट लाभान्वित भएको क्याम्पसकी सहप्राध्यापक कल्पना लम्सालले बताउनुभयो ।
‘पढिरहेको बेला अचानक महिनावारी भयो भने के गर्ने ? कहाँ जाने ? कहाँबाट प्याड ल्याउने ? पढिरहेका बेला पनि मनमा घुमिरहने यस्ता प्रश्न अब हटेको छ । हामीले यसको प्रत्यक्ष सकारात्मक प्रभाव उनीहरुको शैक्षिक अवस्थामा झल्किने आशा लिएका छौं ।’ सहप्राध्यापक लम्सालले भन्नुभयो ।


1585 पटक हेरिएको 

