महिनावारीमा नेपाली महिलाको खर्च : मासिक आयको तीन प्रतिशत

काठमाडौ : नेपाली महिलाहरूले महिनावारी हुँदा औसतमा आफ्नो मासिक आयको तीन प्रतिशत रकम खर्च गर्ने गरेका एक अध्ययनले देखाएको छ । यो खर्च एशियाकै राम्रो अर्थतन्त्र भएका देशहरू सिङ्गापुर र दक्षिण कोरियाको भन्दा पनि झन्डै दश गुणाले बढी हो। महिनावारीको समयमा महिलाले गर्ने खर्च सिङ्गापुरमा कुल आयको ०.२२ र दक्षिण कोरिया ०.३४ भन्दा पनि कम छ ।

नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २ लाख १० हजार ५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्। यो रकमले काठमाडौमा तीनवटा शयनकक्ष भएको अपार्टमेन्टमा सात महिनाको भाडा तिर्न पुग्छ।

त्यति रकमले एउटी महिलाले हरेक साता फिल्म हलमै गएर झन्डै पाँच सय वटा चलचित्र हेर्न सक्छिन्। हरेक सप्ताहान्तमा चलचित्र हेर्न जाने हो भने उक्त रकम १० वर्षका लागि पर्याप्त हुन्छ।

यो रकम औसत नेपाली परिवारले शिक्षामा खर्च गर्ने रकम जति नै हो। यो विश्लेषण खुद्रा पसलमा बिक्री हुने स्यानिटरी प्याड, दुखाइ कम गर्ने औषधि र डन्डीफोर आउँदा लगाउने क्रिमको मूल्यका आधारमा गरिएको बिबिसीले जनाएको छ । विशेषज्ञहरूका अनुसार यी सामग्री सामान्यतया प्रत्येक चक्रमा सात दिन प्रयोग गरिन्छ।

नेपालमा डिस्पोजेबल स्यानिटरी प्याड महँगो छ। उदाहरणका लागि नेपाली महिलाहरूले भारतीय महिलाहरूको तुलनामा झन्डै दुई गुणा खर्च गर्छन्। वास्तवमा नेपालमा धेरै महिलाहरू निकै कम खर्च गर्छन्।

स्यानिटरी प्याडको खर्च धान्न नसक्ने हुँदा उनीहरू कम खर्च गर्छन् र स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाउँछन्। यसो गर्दा आर्थिक भार नपरे पनि अरू किसिमले मूल्य तिर्नुपर्छ।

अधिकांश महिलाहरू सारी वा कपडा प्रयोग गर्छन् वा खुल्ला रूपमा रगत बगाउँछन्। फोहर कपडाको बारम्बार प्रयोग गर्ने वा अनुपयुक्त रूपमा धुने, सुकाउने र राख्ने प्रक्रियाले मूत्रनलीमा सङ्क्रमण हुन सक्छ ब्रिटिश एकेडेमीको आर्थिक सहयोगमा अनुसन्धान गरेका डा. केय स्टयान्डिङ र डा. सारा पार्करले प्रतिवेदनमा भनेका छन्।

महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न नसक्दा उनीहरू हेपिन्छन्। तसर्थ त्यस्तो अवस्थामा उनीहरू छाउपडी भनिने पुरानो प्रचलन अनुसार गाईगोठ वा छाप्रोमा छुट्टै बस्न बाध्य हुन्छन्।

 

औसत महिलाले महिनावारीको पहिलो दिनमा दुखाइ महसुस गर्ने हुँदा पेनकिलर अर्थात् दुखाइ कम गर्ने औषधिलाई समेत गणना गरिएको हो। व्यक्तिगत खर्चको मूल्य महिनावारीका बेला एउटा चक्रमा प्रयोग गरिएको सामग्रीलाई ४८० ले गुणन गरेर पत्ता लगाइन्छ जुन राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार एउटी महिला आफ्नो जीवनकालमा महिनावारी हुने औसत सङ्ख्या हो।

बीबीसीले गरेको एउटा विश्लेषणले महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको देखिएको छ। त्यो विश्लेषणका लागि एशियाका विभिन्न १८ देशबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।

अध्ययनमा अन्तर्राष्ट्रिय मुद्राकोषले देखाएको विभिन्न देशको पर्जेजिङ पावर प्यारिटी (पीपीपी) को दरलाई आधार मानेर मूल्यको समायोजन गरिएको छ। त्यसपछि उक्त देशका महिलाहरूको औसत मासिक आय सँग तुलना गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार