सहकारीबाट ऋण लिएर खानेपानी आयोजनामा लगानी

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका बासिन्दाले सहकारीबाट ऋण लिएर सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्ने भएका छन् । खानेपानी परियोजना सञ्चालनका लागि प्रत्येक घरबाट संकलन गर्नुपर्ने रकम कतिपय घरपरिवारसँग नभएपछि सहकारीबाट ऋण लिएर जम्मा गर्ने निर्णय गरेको हो । खानेपानी उपभोग गर्ने घरपरिवारले १८ हजारका दरले परियोजनाको बैंक खातामा जम्मा गर्नुपर्छ ।

पाँचखालका छ हजार घरपरिवार मध्ये १५ प्रतिशतले तोकिएको रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरसभाले उपभोक्तालाई ऋण उपलब्ध गराउने उपाय अपनाएको हो ।

यसका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीबाट ऋण प्रदान गरिने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुल उपर गर्ने निर्णय गरेको हो । जसरी पनि खानेपानी योजना सम्पन्न गर्नुपर्ने भएकाले यसबाहेक अर्को विकल्प नभएपछि नगरसभाले यस्तो निर्णय गरेको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

पाँचखालका छ हजार घरपरिवार मध्ये १५ प्रतिशतले तोकिएको रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरसभाले उपभोक्तालाई ऋण उपलब्ध गराउने उपाय अपनाएको हो । नगरप्रमुख खरेलका अनुसार सहकारीमा सदस्य भएकाले सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण उपलब्ध गराईनेछ ।

दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।

खानेपानी परियोजनाका लागि स्थानीय युवाले तीन महीनादेखि जागरण अभियान सञ्चालन गरिरहेका छन । परियोजनाको बैंक खातामा अहिलेसम्म चार करोड ४० लाख जम्मा भएको समितिका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । दातासँगको सम्झौता अनुसार परियोजना सञ्चालनका लागि उपभोक्ता समितिले पाँच प्रतिशत रकम ब्यहोर्नुपर्नेछ ।

दातासँग आउँदो असार मसान्तभित्र परियोजनाको पाँच प्रतिशत रकम जम्मा गर्नुपर्ने सम्झौता भएको छ । सम्झौता अनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने अध्यक्ष लामिछानेले बताउनुभयो ।

 

परियोजनाबारे जानकारी गराउन जागरण अभियान

सुनकोशी पाँचखाल बृहत खानेपानी र सरसफाइ उपभोक्ता समितिले परियोजना र उपभोक्ता समितिको बारेमा बिस्तृत जानकारी गराउन तीन महिनादेखि जागरण अभियान चलाइरहेको छ ।

जागरण अभियान अन्तर्गत वडाका बस्ती–बस्तीमा उपसमिति बनाइएको छ । सोही उपसमितिले बस्तीका बासिन्दालाई रकम जम्मा गर्न जानकारीमूलक सन्देश दिइरहेको पाँचखाल नपा–६ धोत्राका भेषराज दनुवारले बताउनुभयो ।

जागरण अभियानमा विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजना सम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्ड सहितको -याली गर्दै आइरहेको छ ।

इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्ने परियोजनाको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार