काठमाडौ खुला दिसामुक्त घोषणा गर्न महानगर बाधक, अझै १३ सय घर शौचालय बिहीन

 

काठमाडौ : काठमाडौ उपत्यकाको भक्तपुर र ललितपुर जिल्ला खुला दिसामुक्त घोषणा भए । ५ बर्ष अघि नै दक्षिण एसियाली सरसफाइ सम्मेलनका क्रममा खुला दिसामुक्त घोषणा भएको भक्तपुरले पूर्ण सरसफाइ रणनीतिक योजना बनाएर पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

‘राजधानीले खुला दिसामुक्त घोषणा गरेर अरु जिल्लालाई सभ्यताको बाटो देखाईदिए अन्य जिल्लामा कार्यक्रम सञ्चालन गर्न सजिलो हुन्छ । सरसफाइमा आफ्नो तन, मन, धन लगाएर समर्पित साथीहरुको पनि नैतिक बल पुग्छ अनि सरसफाइले गति लिन्छ ।

छिमेकी जिल्लाहरु भक्तपुर र ललितपुर धमाधम खुला दिसामुक्त घोषणा भएपछि काठमाडौको दक्षिणकाली नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकाले पनि तातिएर आफ्नो नगरपालिका क्षेत्रमा चर्पी बनाउन बाँकी घरमा चर्पी बनाउन लगाएर खुला दिसामुक्त घोषणा गरे ।

यस्तै टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिका पनि खुला दिसामुक्त घोषणा भईसकेका छन् । काठमाडौ महानगरपालिका भन्दा पछि पछाडि रहेको शङखरापुर नगरपालिकामा समेत महिना दिनमै ५ सय भन्दा बढी चर्पी बनाएर खुला दिसामुक्त घोषणा गर्न सफल भयो ।

काठमाडौ जिल्लाभित्रका ११ वटा स्थानीय तह मध्ये अब काठमाडौ महानगरपालिका मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार काठमाडौ महानगरपालिकामा अझै १ हजार ३०९ घरमा चर्पी बनाउन बाँकी छ । काठमाडौ महानगरपालिकाको ४ लाख ३६ हजार ३४४ घर मध्ये ४ लाख ३५ हजार ३५ घरमा शौचालय बनिसकेका छन् ।

संघीय राजधानी रहेको काठमाडौलाई नै खुला दिसामुक्त घोषणा गर्न समस्या भएपछि सरसफाइ अभियन्ता, सरकारी निकाय, विकास साझेदार तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सबैको चिन्ताको बिषय बन्न थालेको छ । हुन त अरु १२ जिल्ला पनि खुला दिसामुक्त घोषणा गर्न बाँकी छ तर काठमाडौ खुला दिसामुक्त घोषणा नहुँदा बाँकी ती जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्न समस्या भईरहेको सरसफाइ अभियन्ताको अनुभव छ ।

‘पहिले तपाईहरु बसेको काठमाडौ जिल्ला खुला दिसामुक्त घोषणा गर्नुस्, अनि हामी गरौंला’ अन्य जिल्लामा सरसफाइ अभियान सञ्चालन गर्न जाने क्रममा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले यो भनाई धेरै पटक सहनुपरेको छ ।
उहाँ भन्नुहुन्छ ‘जुन दिन हामी काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न सफल हुन्छौं, त्यसपछि देशलाई खुला दिसामुक्त घोषणा गर्न सफल हुन्छौं ।’

उहाँको एउटै तर्क छ ‘राजधानीले खुला दिसामुक्त घोषणा गरेर अरु जिल्लालाई सभ्यताको बाटो देखाईदिए अन्य जिल्लामा कार्यक्रम सञ्चालन गर्न सजिलो हुन्छ । सरसफाइमा आफ्नो तन, मन, धन लगाएर समर्पित साथीहरुको पनि नैतिक बल पुग्छ अनि सरसफाइले गति लिन्छ । अहिले त आफै काठमाडौबाट अभियानका लागि जानुहुन्छ अनि मैले जस्तै गालीको सामना गर्नुपर्छ ।’

अहिले चर्चा जताततै काठमाडौ महानगरपालिकाकै छ । सरसफाइ सम्बन्धीका कार्यक्रममा सबैले सोध्ने बिषय नै त्यही हुन्छ ‘होइन काठमाडौ महानगरपालिका कहिले ओडिएफ हुन्छ ?’

मंगलबार ललितपुरमा आयोजित ‘सरसफाइ अभियानमा सञ्चार माध्यम’ बिषयक अन्तरक्रिया कार्यक्रममा पनि कुरा उठ्यो काठमाडौ महानगरपालिकाको । अन्तरक्रियामा महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ र महानगरपालिकाको १५ नं. वडाका वडाध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोल पनि सहभागी हुनुहुन्थ्यो ।

 

खुला दिसामुक्त घोषणा सम्बन्धी महानगरपालिकाले खासै चासो नदिएको कुरा उठेपछि वातावरण विभाग प्रमुख श्रेष्ठले महानगरपालिका फोहोर व्यवस्थापन र खुला दिसामुक्त घोषणा गर्नुपर्छ भन्नेमा गम्भीर रहेको बताउनुभयो ।

उहाँले स्मार्ट शौचालय र स्मार्ट डस्टबिन लागु गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशैभर खुला दिसामुक्त अभियान सञ्चालन भईरहेपनि महानगरपालिकामा भने यो अभियानका बिषयमा सरोकारवाला पक्षले जत्ति ध्यान दिनुपर्ने हो त्यत्ति नदिएको गुनासो गर्नुभयो ।

त्यसपछि बोल्ने पालो आयो महानगरपालिकाको १५ नं. वडाका वडाध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको । उहाँले पनि महानगरपालिकामा स्मार्ट शौचालय निर्माण गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग सँग साझेदारी गर्ने बिषयमा सम्झौता भईसकेको यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

सम्झौता बमोजिम काठमाडौ महानगरपालिकाले ४० प्रतिशत रकम उपलब्ध गराउन तयार भएको र शौचालय बनाउने जग्गाको समेत खोजी भईसकेकाले तत्काल काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले चर्पी बनाउन बाँकी घरमा चर्पी बनाएर महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले भने सरसफाइको आधारभूत तह पूरा नगरी महानगरले अघि सारेको स्मार्ट सिटीको अवधारणा पूरा नहुने तर्फ इंगित गर्दै प्रश्न गर्नुभयो ‘बच्चा बामे सर्न जानेको छैन, कसरी दौडिन सक्छ ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार