छाउगोठमा जन्मिएको बच्चा, बचाउनै मुश्किल, बार्षिक सयको हाराहारीमा मृत्यु

बाजुरा : हिमाली गाँउपालिकास्थित धिमकी पुल्तिसरा सार्कीले पाँचवटा बच्चा गोठमै जन्माउनुभयो ती मध्ये दुई बच्चा गोठमै मरे। बच्चा जन्माएको एक महिनासम्म गोठमा बस्दा चिसोले बच्चाको ज्यान लिएको उहाँले सुनाउनुभयो ।

त्यही गाँउकी रेला रोकायाले पनि बच्चा जन्माउनुभयो । तर, एक महिना नपुग्दै बच्चाको मृत्यु भयो। रेलाले पनि आफ्नो बच्चा चिसोकै कारणले ज्यान गएको बताउनुभयो । गोठमै जन्माएर गोठमै बस्दा चाहिने तापक्रम नपुग्दा बच्चाको मृत्यु भएको आमाहरुको बुझाइ छ।

हुम्लाको ताजाकोट गाँउपालिकाकी दुधारी धामीले पनि जम्मा ३ बच्चा जन्माउनुभयो। तर, २ बच्चाको मृत्यु शिशु अवस्थामै भयो। गोठमा बस्नुपर्ने बाध्यता नै मृत्युको कारण थियो। गोठमा बस्दा बच्चा सहित आफ्नो ज्यान पनि खतरामा रहेको उहाँले बताउनुभयो ।

बच्चा जन्मिएको बेला घरमा बस्न पाइँदैन। त्यही कारण आफु जस्तै गाँउमा अन्य महिलाले जन्माएका बाच्चाको पनि मृत्यु हुने गरेको रेला बताउनुहुन्छ । एकातिर सुत्केरी अवस्थामा कडा काम गर्नु पर्ने अर्को गोठमा बस्नु पर्ने वाध्यता भएकाले आफुहरुले जन्माएका बच्चा असुरक्षित हुने गरेको हिमाली गाँउपालिकास्थित रुगीन बस्ने सरस्वती बुडाथापाले बताउनुभयो ।

बाजुराको रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकला मल्लले पनि दुर्गम गाँउका धेरै शिशुहरु गोठमै मर्ने गरेको बताउनुभयो । सुत्केरी भएका महिलाहरुलाई घरमा राखे देउता रिसाउँछन् भन्ने मान्यताले दुर्गममा आमा र बच्चा सँधै खतरामा रहेको मल्लको निष्कर्ष छ।

अर्कोतर्फ गोठमै बच्चा जन्माउने र गोठमै एक महिनासम्म बस्ने भएकाले बच्चा मर्ने गरेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ। गोठमा बस्दा निस्सासिने र अन्य रोगको संक्रमण हुने भएकाले बच्चाको मृत्यु हुने गरेको जिल्ला अस्पतालमा कार्यरत सिनेर अहेब रामचन्द्र यादबले बताउनुभयो ।

बर्षमै सय जना शिशुको गोठमै मृत्यु

गाँउमा धेरै बच्चाको मृत्यु भएको तथ्याङ्क नआए पनि जिल्ला स्वास्थ्य कार्यालयमा २८ दिन भित्र गोठमै मृत्यु हुने शिशुको संख्या उल्लेख्य छ। जिल्ला स्वास्थ्य कार्यलयको तथ्याङ्क शाखामा कार्यरत रुगम थापाका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा २४ जना शिशुको गोठमै मृत्यु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार ०७१/०७२ मा ८३ जना, ०७२/०७३ मा ६९ जना, ०७३/०७४ मा १७ जना र ०७४/०७५ मा १८ जना शिशुको छाउगोठमै मृत्यु भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार