सोच परिवर्तन भए घर घरमा शौचालय बन्छ : मुख्यमन्त्री राउत

 

जनकपुर : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताउनुभएको छ । जनकपुरधाममा आयोजित खुला दिसामुक्त अभियान सम्बन्धी कार्यशालामा सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले धनुषा र महोत्तरी जिल्लामा सञ्चालित खुला दिसामुक्त अभियानमा सहयोग गर्नका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताका लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गरिदिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘तपाईहरुले निर्माण गर्नुपर्ने स्थानबारे जानकारी गराउनुस्, प्रदेश सरकारले त्यहाँ सार्वजनिक शौचालय बनाउँछ ।’ मुख्यमन्त्री राउतले प्रदेश सरकारले सञ्चालन गरेको स्वच्छता अभियान अन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको पनि जानकारी गराउनुभयो ।

असार १५ सम्म खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता

खुला दिसामुक्त अभियान सम्बन्धी कार्यशालामा प्रस्तुतीकरण गर्दै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले धार्मिक एवं सांस्कृतिक पर्यटकीय नगरी जनकपुरलाई स्वच्छता राख्न पनि खुला दिसामुक्त घोषणाको विकल्प नभएको बताउनुभयो । जनकपुरको रामजानकी मन्दिरमा बर्षेनी हजारौं पर्यटकहरु आउने र यहाँको राम्रो तथा नराम्रो पक्ष समेत पर्यटकहरुले प्रचार गर्ने भएकाले जनकपुरलाई जत्ति सफा राख्न सक्यौं, उत्ति धेरै पर्यटन प्रबर्धन हुने बताउनुभयो ।

‘हामीले अधिकार मागेर मात्रै हुँदैन, आफूले कर्तव्य पनि पूरा गर्नुपर्छ । आफैले शौचालय बनाएर दिसापिसाब गर्नु हाम्रो कर्तव्य हो, यसलाई कर्तव्यको रुपमा बुझिदिए शौचालय बनाउन कति पनि लाग्दैन’ उहाँले महोत्तरी तथा धनुषाको विभिन्न नगरपालिका तथा गाउँपालिका बाट कार्यशालामा सहभागी प्रमुख तथा उपप्रमुखहरुलाई चाँडो भन्दा चाँडो चर्पी निर्माण गरी खुला दिसामुक्त घोषणा गर्न पनि आग्रह गर्नुभयो ।

‘सम्पूर्ण प्रदेशवासीको महत्वपूर्ण अभिभारा खुला दिसामुक्त एवं स्वच्छ बनाऔँ, गाउँ शहर सारा’ भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति प्रदेश नं २ ले आयोजना गरेको कार्यशालामा धनुषा र महोत्तरीका गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।

सो अवसरमा उनीहरुले आउँदो असार १५ सम्म आफ्नो गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धनुषामा ९५ र महोत्तरीमा ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार