लम्जुङ : बेँसीसहरस्थित भाचोक खोला खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । २८ करोड रुपैयाँको लागतमा असार मसान्तसम्म सक्ने गरी आयोजना निर्माणको सम्झौता भए पनि अहिलेसम्म ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो ।
बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले खानेपानी आयोजना निर्माणको जिम्मा लिएको महादेव खिम्ती पराजुली जेभीले निर्माणमा ढिलाइ गरेको बताउनुभयो । साउन ०७४ बाट सुरु गरिएको आयोजना ०७६ को असार मसान्तमा सम्पन्न गर्ने सम्झौता छ ।
निर्माण कम्पनीका सतिश पराजुलीले खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको स्वीकार गर्नुभयो । ‘रिभर क्रसिङ डिजाइन परिवर्तन, आयोजना सम्झौता, जग्गा खरिद, मर्स्याङदी नदीको पुल निर्माणमा ढिलाइ हुँदा आयोजना निर्माणमा ढिलाइ भएको हो,’ पराजुलीले भन्नुभयो ।
भाचोक खानेपानी आयोजना बेँसीसहरबाट भाचोक खोला उखुबारी सम्मको दूरी ६ किलोमिटर छ । हालसम्म आयोजनाको इन्टेकको काम सकिएको छ भने पानी प्रशोधन केन्द्रको काम ६५ प्रतिशत सम्पन्न भएको छ ।
आयोजना आठ लाख लिटर क्षमताको छ । आठ लाख लिटर क्षमताका दुईवटा पोखरीमध्ये तीन लाख लिटरको पोखरी निर्माण सम्पन्न भएको छ । पाँच लाख लिटरको पोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । मुख्य खानेपानीको लाइन जडान तथा बेँसीसहरमा शाखा लाइन विस्तार भइरहेको बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सबइन्जिनियर त्रिलोचन पौडेलले बताउनुभयो ।
आयोजना सम्पन्न भएपछि बेँसीसहरवासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने बेँसीसहर समितिका कार्यालय प्रमुख विष्णुबहादुर अधिकारीले बताउनुभयो । निर्माणधीन आयोजना सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी हुनेछ । ‘आयोजना निर्माणपछि हिउँदबर्खा पानीको समस्या हुनेछैन,’ उहाँले भन्नुभयो । कुल ४० हजार जनसंख्या रहेको बेँसीसहरमा हाल महभीर खोला, ढुडखोला, लब्ले खोला, फुर्केभिर, ढाडखोला, पुवा खोला, सप्लिङ, ठूलो पँधेरो डिप बोरिङबाट खानेपानी उपलब्ध हुँदै आएको छ ।


957 पटक हेरिएको 

