
धादिङ : धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको केन्द्र मानिने वडा नं. ६ को साँध भञ्ज्याङ क्षेत्रलाई नमुना स्वास्थ्य गाउँ बनाईने भएको छ । सरसफाइ स्वच्छताको नमुना गाउँ निर्माण गर्न साँध भञ्ज्याङ ७ वटा टोल सुधार समिति गठन गरिएको छ । टोल सुधार समितिका पदाधिकारीहरुलाई पूर्ण सरसफाइको बिषयमा अभिमुखीकरण समेत गरिएको छ ।
नमुना स्वास्थ्य गाउँ निर्माण कार्यक्रम शुभारम्भ तथा अभिमुखीकरणमा गाउँपालिकाका प्रमुख बिनोदराज तिमल्सेनाले सरसफाइ स्वच्छताको नमुना गाउँ निर्माण अभियान सुरु गर्नुभयो ।
नमुना स्वास्थ्य गाउँ निर्माण कार्यक्रम शुभारम्भ तथा अभिमुखीकरणमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले कार्यक्रमको औचित्यको बिषयमा टोलसुधार समितिका पदाधिकारीहरुलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो ‘सभ्यताको पहिलो सूचक नै सरसफाइ हो, गाउँलाई सभ्य बनाउन सरसफाइको क्षेत्रमा सहयोग गर्ने सबै प्रति धन्यवाद दिन चाहन्छौं ।’
यस्तै गाउँपालिका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले गाउँपालिकाको स्वास्थ्य क्षेत्रको हाल सम्मको स्वास्थ्य स्वच्छताको अवस्थाको बारेमा जानकारी गराउनुभयो । गाउँमा भएको नमुना कार्यक्रमलाई आगामी दिनमा गाउँपालिकाको सबै वडाहरुमा कार्यान्वयन गरी छिट्टै गाउँपालिकालाई नै पूर्ण सरसफाइ उन्मुख घोषणा गरिने बताउनुभयो ।
गाउँपालिका प्रमुख बिनोदराज तिमल्सेनाले गाउपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छताको क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखी काम गरिरहेका बताउनुभयो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष अर्जुन अर्यालले सरसफाइमा व्यबहार परिवर्तन अहिलेको आवश्यकता रहेको भन्दै उहाँले वडा नं. ६ लाई गाउँपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख बनाईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहयोगमा शान्ति नेपाल र ज्वालामुखी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम वडा नं. ६ का वडा अध्यक्ष अर्जुन अर्यालको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष बिनोदराज तिमल्सेनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
नमुना स्वास्थ्य गाउँ कार्यक्रम कार्यान्वयनका लागि जनचेतना अभिबृद्धि, सहजीकरण र प्राविधिक सहयोगमा शान्ति नेपालले सहकार्य गर्नेछ भने सर्भेक्षण, क्षमता विकास तथा प्राविधिक क्षेत्रमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहयोग रहनेछ ।


शान्ति नेपालका सुरेश सिग्देलको सहयोगमा निर्मित समाचार ।


1142 पटक हेरिएको 

