नमुना स्वस्थ गाउँमा यस्तो छ सरसफाइको अवस्था

धादिङ : आगामी एक बर्ष भित्र धादिङकै पहिलो नमुना स्वास्थ्य समुदाय घोषणा गर्ने लक्ष्य लिएको ज्वालामुखी गाउँपालिकाको वडा ६ मा १.७६ प्रतिशत जनसंख्याले अझै खुला ठाउँमै दिसापिसाब गर्ने गरेको पाइएको छ । हालको बास्तबिक सरसफाइ र स्वच्छताको अवस्था सर्बेक्षण प्रतिवेदनले ९६.९२ प्रतिशत घरका सदस्यले मात्र चर्पीको प्रयोग गरेको पाइएको हो ।

 

वडा नंं. ६ का ३११ घरपरिवार मध्ये २२.३ प्रतिशतले मात्र बच्चाको दिसा चर्पीमा बिसर्जन गरेको पाइएको छ ।

सर्वेक्षणले ४६.२६ प्रतिशत शौचालय फोहोर रहेको अर्थात शौचालय भित्रै दिसा देखिएको, ८१.५ प्रतिशत शौचालय गन्हाउने र ६१.६७ प्रतिशत शौचालयमा मात्र हावा छिर्ने ठाउँ भएको पत्ता लगाएको छ । ५७.२७ शौचालयमा भने सफा गर्ने सामग्री भेटिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

 

कार्यान्वयन प्रक्रिया :

नमुना स्वास्थ्य गाउँ कार्यक्रमलाई ज्वालामुखी गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत आगामी सन् २०२३ सम्ममा गाउँपालिकालाई नै सफा तथा स्वस्थ क्षेत्र घोषणा गर्ने अभियानको थालनीको रुपमा लिइएको छ ।

नमुनाको रुपमा रहेको यस कार्यक्रममा समावेश भएका घर परिवारका सबै जनामा सरसफाइ र स्वच्छता सम्बन्धी थप जनचेतना अभिबृद्धि, सचेतीकरण र जागरण भै बानी व्यवहारमा सुधार र निरन्तरता भएको अवस्था पछि हुने अवस्था हो ।

तसर्थ  समुदायमा सरसफाइ सम्बन्धी वानीव्यवहार बारे गहिरो गरी छलफल, अनुगमन र उत्प्रेरणा जगाउने कार्य निरन्तर हुन आवश्यक छ । यो अभियान समुदायको सभ्यता, संस्कार, सामाजिक इज्जत र प्रतिष्ठासँग पनि जोडिएको हुँदा यसमा विशेष गरी स्थानिय समुदाय, सामाजिक अगुवा, विद्यालय, स्वयंसेवक तथा समितिहरुको अग्रणी भूमिका रहेको छ ।

कार्यक्रमको स्वामित्व, अनुगमन निरिक्षण आदि क्षेत्रमा स्थानिय टोल विकास समिति, वडा कार्यालय, गाउँपालिकाको मुख्य भूमिका रहनेछ । जनचेतना अभिबृद्धि, सहजीकरण र प्राविधिक सहयोगमा शान्ति नेपालले सहकार्य गर्नेछ भने सर्भेक्षण, क्षमता विकास तथा प्राविधिक क्षेत्रमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहयोग रहनेछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार