महिनावारी स्वच्छता दिवस मनाउन विभिन्न तहका वास सीसीलाई परिपत्र

काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले विश्व महिनावारी स्वच्छता दिवस मनाउन विभिन्न तहका खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई परिपत्र गरेको छ ।

समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सह सचिव चन्द्र बहादुर केसीले सबै प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, जिल्ला स्तरीय, नगरपालिका स्तरीय, गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सबै सरोकारवालालाई आफ्नो स्रोत साधन र परिवेश भित्र रही दिवस मनाउन पत्राचार गर्नुभएको हो ।

विश्वव्यापी रुपमा सन् २०१४ देखि मनाउदै आएको महिनावारी स्वच्छता व्यवस्थापन दिवस यसबर्ष यही जेठ १४ गते परेको छ । हरेक बर्षको मे २८ लाई विश्वव्यापी रुपमा महिनावारी स्वच्छता व्यवस्थापन दिवसको रुपमा मनाईदै आएको छ । यसबर्षको नारा ‘मर्यादित महिनावारी : अब काम थालौं’ भन्ने तय गरिएको छ ।

समितिले निम्न बिषयहरुमा आधारित रहेर दिवस मनाउन सकिने जनाएको छ ।

बिषयहरु :

 महिला तथा किशोरीहरुले महिनावारी हुँदाको समयमा भोग्नु परेका समस्याहरु र समाधानका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट छलफल गर्ने ।
 सरकारी तथा गैरसरकारी संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा महिनावारी स्वच्छता र सामग्रीको बिषयलाई समावेश गर्ने ।
 महिनावारी र यसको स्वच्छताका सम्बन्धमा रहेको मौनतालाई खुला गरी छलफल गर्ने ।
 विद्यालय, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, खानेपानी उपभोक्ता समूह आदिको सहयोगमा महिनावारी स्वच्छताका सम्बन्धमा -याली गर्ने ।
 महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी प्रदर्शनी, कार्यशाला आयोजना गर्ने गराउने ।
 विद्यालयहरुमा हाजिरी जवाफ, क्वीज, चित्रलेखन प्रतियोगिता आयोजना गर्ने ।
 महिनावारी स्वच्छता व्यवस्थापनको सामाजिक नेतृत्व पहिचान गर्ने र अगुवालाई पुरस्कृत गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार