कञ्चनपुरमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता अन्तरक्रिया

कञ्चनपुर : कञ्चनपुरमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता सम्बन्धी अन्तरक्रिया गरिएको छ । देशको ४४ औं खुलादिसामुक्त जिल्ला कञ्चनपुरमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति कञ्चनपुरको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

कञ्चनपुरलाई २०७४ साल पुस ७ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । पूर्ण सरसफाइ अभियान, खुला दिसामुक्त घोषणा भएपछि सञ्चालन गर्नुपर्ने दोस्रो चरणको सरसफाइ कार्यक्रम हो । पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन प्रक्रिया, पूर्ण सरसफाइका सूचकहरु आदिका बिषयमा सरोकारवाला निकायलाई जानकारी गराउने उद्देश्यले डिवाससीसी कञ्चनपुरले अन्तरक्रिया आयोजना गरिएको हो ।

पूर्ण सरसफाइ अन्तर्गत सञ्चालन गर्नुपर्ने स्वच्छ तथा सफा क्षेत्र र पूर्ण सरसफाइ उन्मुख क्षेत्रको बिषयमा खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्रीहरु कमल अधिकारी र भोजेन्द्र अर्यालले प्रस्तुतीकरण तथा सहजीकरण गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा खानेपानी डिभिजन कार्यालय कैलालीका प्रमुख मोहन कुँवरले स्वच्छ खानेपानी र पूर्ण सरसफाइको बिषयमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले खुला दिसामुक्त घोषणा भएका गाउँपालिका तथा नगरपालिकाहरुमा तत्काल पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति कन्चनपुरका प्रमुख एवं डिवाससीसी अध्यक्ष फैरु तामाङले पूर्ण सरसफाइमा कमी हुन नदिन स्थानीय सरकारले रणनीतिक योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाभरि सञ्चालन गरिने पूर्ण सरसफाइ कार्यक्रममा डिवाससीसीको साथ सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सरसफाइ सँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार