चाँगुनारायण नपाले यसरी कार्यान्वयन गर्दैछ पूर्ण सरसफाइ रणनीतिक योजना

 

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ अभियानलाई संस्थागत गर्न थालेको छ । सन् २०२१ अर्थात २०७८ सालभित्र नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ रणनीतिक योजना तयार पारिसकेको नगरपालिकाले वडा तह देखि नै संस्थागत संरचना तयार पार्न थालेको हो ।

नगरपालिकाले वडाहरुमा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु गठन गरी ती समितिहरुको क्षमता अभिवृद्धि गरी प्रत्येक वडाको खानेपानी सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) कार्यान्वयन गर्न थालेको छ ।

चाँगुनारायण नगरपालिकाले तयार पारेको पूर्ण सरसफाइ रणनीतिक योजना – २०७५ मा पूर्ण सरसफाइ अभियानलाई व्यस्थित बनाउन सबैभन्दा माथि जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति रहने र तल्लो तहमा टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्ने उल्लेख छ ।

यस्तै विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, बाल क्लव तथा युवा क्लव, कार्यालयमा कार्यालय सरसफाइ उपसमिति, समुदाय सरसफाइ उपसमिति गठन गरी परिचालन गर्ने उल्लेख छ ।

“सफा स्वच्छ घर आगन सफा स्वच्छ वाटो, पूर्ण सरसफाइ उन्मुख वन्दैछ चाँगुनारायणको माटो”भन्ने नाराका साथ पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको चाँगुनारायण नगरपालिकाले सरसफाइ प्रबर्धनका अन्य क्रियाकलापहरु समेत चरणवद्ध रुपमा गर्दै लैजाने जनाएको छ ।

यसरी कार्यान्वयन गर्दैछ पूर्ण सरसफाइ रणनीतिक योजना

नगरपालिकाले हाल नगरस्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा प्रत्येक शनिवार वृहत सरसफाइ तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । सरसफाइ तथा सचेतना कार्यक्रममा नगरपालिकाका विभिन्न संघसंस्थाहरु, विद्यालयहरु, सहकारी संस्थाहरु तथा सुरक्षा निकायका प्रतिनिधीहरुको उपस्थिति रहने गरेको छ ।

 

पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत नगरपालिकाले चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने गरी मानिसहरुको धेरै आवतजावत हुने स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिरहेको नगरपालिकाका वातावरण इन्जिनियर पुरुषोत्तम सापकोटाले बताउनुभयो । उहाँका अनुसार विश्व सम्पदा चाँगुनारायण मन्दिर नजिकैको वसपार्क, वडा नम्वर ७ को मुहानपोखरी र वडा नम्वर ८ को कलम्सी क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भैरहेको छ ।

नगरपालिकाले चाँडै नै डिजिटल सफ्टवेयर मार्फत खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी तथ्याङक अध्यावधिक गर्ने भएको छ । यसका लागि विभिन्न प्रश्नावलीहरु तयार गरी अन्य प्राविधिक तयारी समेत पुरा भैसकेको UN HABITAT की भक्तपुर जिल्ला संयोजक पार्वती दंगालले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाले २०७४ कार्तिकमा गरेको सर्वेक्षण अनुसार चाँगुनारायण नगरपालिका भित्र ११ हजार ६ सय २७ घरपरिवारको बसोबास छ । ती मध्ये ८६.६ प्रतिशत अर्थात १० हजार १७० घरमा सेप्टिक ट्याङ्क सहितको शौचालय छ । यस्तै ९.७ प्रतिशत अर्थात १ हजार १४१ घरमा खाल्डे चर्पी, १२७ घर नालीमा जडित चर्पी र ०.५ प्रतिशत अर्थात ५७ घरमा बायो ग्याँस जोडिएको सेप्टिक ट्याङ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार