सगरमाथाबाट संकलन गरियो ४ शव र ११ टन फोहोर

 

सोलुखुम्बु : सगरमाथा सफाइ अभियानले बर्षौ पुरानो ४ वटा शव र ११ टन फोहोर संकलन गरिएको छ । १२ जनाको टोलीले एक महिनासम्म गरेको सफाइबाट यत्ति धेरै फोहोर संकलन गरिएको हो । संकलित फोहोर मध्ये चार टन फोहोर पुनः प्रयोगको लागि ‘डोको रिसाइक्लिङ’ले काठमाडौं ल्याएको छ भने बाँकी फोहोर नेपाली सेनाको ब्यारेक नाम्चेमा राखिएको छ ।

सगरमाथा क्षेत्रमा फोहोर फ्याँक्न नहुने र आरोहणका क्रममा निस्कने फोहोर आरोही आफैले संकलन गरेर आधार शिविरसम्म ल्याउनुपर्ने बताइए पनि त्यो प्रभावकारी हुन नसकेको टोलीका सदस्य सांगी शेर्पाले बताउनुभयो । उहाँका अनुसार सगरमाथा आरोहण गर्ने बाटोमा टेन्ट, अक्सिजनका सिलिण्डर, खानेकुराका खोल, कपडा यत्रतत्र फालिएका छन् ।

त्यहाँ अझै थुप्रै फोहोर रहेको र ३/४ वर्ष नियमित सफाइ गर्नुपर्ने उहाँले बताउनुभयो । आरोहीहरुलाई पनि फोहोर फाल्न नहुने जनचेतना आवश्यक रहेको उहाँको भनाइ छ । सन् २०१४ को हिमपहिरो र २०१५ को भूकम्पपछि सगरमाथा क्षेत्रमा सरसफाइ गरिएको थिएन ।

अभियानका अगुवा पासाङ शेर्पाले सगरमाथा क्षेत्रमा अझै केही शवहरु हुनसक्ने बताउनुभयो । ‘हिउँमा गाडिएका शव निकाल्नको लागि सबैभन्दा अफ्ठ्यारो क्षेत्र दोस्रो क्याम्प हो । यो वर्ष आरोहीहरुको संख्या बढी भएकोले फोहोर पनि बढ्न सक्छ’ उहाँले भन्नुभयो ।

सफाइ अभियान नेपाल सरकार, नेपाली सेनाको ‘सफा हिमाल अभियान’, नेपाल पर्वतारोहण संघ, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु गाउँपालिकाले संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार