छाउगोठ अजिङ्गरको मुख जस्तै : खानेपानीमन्त्री मगर

 

काठमाडौ : खानेपानीमन्त्री बिना मगरले गाउँघरमा बनेका छाउगोठहरु अजिङ्गरको मुख जस्तै लाग्ने बताउनु भएको छ । आफू सानो छँदा देखिने छाउगोठहरु सामान्य लागेपनि अहिले बुझ्दै जाँदा छाउगोठ अजिङ्गरको मुख जस्तै लाग्ने बताउनुभयो । उहाँले  छाउगोठमा हुने मृत्यु तथा बलात्कारका घटनाले छाउगोठलाई भयानक, डरलाग्दो र अजिङ्गर जस्तो बनाएको भन्दै यसलाई भत्काउन सामाजिक चेतना र जागरण आवश्यक रहेको बताउनुभयो ।

विश्व महिनावारी दिवसको अवसरमा काठमाडौमा आयोजना गरिएको मर्यादित महिनावारी स्वच्छता दिवस समारोहमा उहाँले आफ्नै जिल्ला कञ्चनपुरमा समेत छाउगोठ अस्तित्वमा रहेको बताउनुभयो । ‘मेरो निर्वाचन क्षेत्रमा पनि छाउगोठ छ भन्ने प्रष्ट प्रमाण पाएको छु, यसलाई जबरजस्ती भत्काउँदा निम्तिने परिणाम राम्रो नहुन सक्छ, त्यसैले हामीले महिनावारी प्रतिको धारणालाई परिवर्तन गरी उनीहरु आफैले भत्काउने अवस्थाको सिर्जना गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

त्यसअघि महिनावारी भएको समयमा सबैभन्दा बढी छुवाछुतका घटना प्रदेश नं. ६ र ७ का जिल्लाहरुमा हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

मन्त्री मगरले कुरा छाउगोठको मात्र नभई घरभित्रै गरिने छोइछिटोलाई पनि समेट्नुपर्ने बताउनुभयो । उहाँले महिनावारी भएको समयमा महिलाहरुलाई विभिन्न खाले बन्देज लगाएको उल्लेख गर्दै त्यस्ता धारणामा परिवर्तन ल्याउन सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

उहाँले महिनावारी भएकी महिला र जातिय आधारमा गरिदै आएको छुवाछुतको अन्त्य नभएसम्म महिलाले सम्मानित जीवन जीउने वातावरण नहुने बताउनुभयो ।

महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो भन्ने जनचेतना लक्षित समुदायसम्म पुगे पुगेनन् भन्ने विषय नै सबै भन्दा महत्वपूर्ण भएको भन्दै उहाँले कार्यक्रम प्रभावकारिताको अनुगमनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । छैटौ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा देशैभरि विभिन्न कार्यक्रमहरु भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार