मर्स्याङदीको नन्देश्वारा बन्यो पूर्ण सरसफाई उन्मुख टोल

 

मर्स्याङदी : मर्स्याङदी गाउँपालिकाको वडा नम्बर ८ नन्देश्वारा टोललाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख टोलको रुपमा घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।

पूर्ण सरसफाइ वडा घोषणा उपभोक्ता समितिका अध्यक्ष योमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आथित्य थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सरसफाइका गतिविधिलाई निरन्तरताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष हिरादेवी घले, ७ का अध्यक्ष युव घले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का होमराज तामाङ लगायतको उपस्थिति थियो । उक्त टोलका करिव ३० घरले पूर्ण सरसफाइका सूचकहरु पुरा गरेपछि पूर्ण सरसफाई उन्मुख टोल बनाइएको हो । गाउँपालिकाले सबै टोल तथा वडालाई पूर्ण सरसफाई उन्मुख बनाउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्य वडाहरुमा सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ४ ताघ्रिङ यसअघि नै पूर्ण सरसफाइ वडा घोषणा भइसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार