दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणाली

काठमाडौ : सरकारले ढल प्रणालीमा आवद्ध नभएका घरपरिवारको सेप्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणालीको निर्माण गर्ने भएको छ । पन्ध्रौं पञ्चबर्षीय योजना (२०७६/०७७–२०८०/०८१) मा सरकारले खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य पूरा दिसाजन्य लेदो व्यवस्थापनको कामलाई पनि प्राथमिकतामा राखेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं पञ्चबर्षीय योजनाले आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्ने र गुणस्तरीय सेवा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । लक्ष्य पूरा गर्न सरकारले फोहोर पानीको उत्सर्जन कम गर्ने र उत्पादित फोहोर पानीको व्यवस्थापन गरी लाभ प्राप्त गर्ने रणनीति लिएको छ ।

सोही रणनीति अन्तर्गत सरकारले घरायसी, औद्योगिक तथा कृषिजन्य फोहोर पानी निष्काशन सम्बन्धी मापदण्ड तयार गरी लागु गर्दै जाने, शहरी क्षेत्रका घना बस्तीमा ढल प्रणालीको विकास गर्ने र सबै घना बस्तीबाट अप्रशोधित ढल खुला निश्काषण गर्ने कार्यलाई निरुत्साहित गर्ने भएको छ । साथै कम जनघनत्व भएका स्थानहरुमा भने स्थलगत सरसफाइ सुविधा प्रवर्धन गर्ने उल्लेख छ ।

सरकारले ढल प्रणालीले पनि समेट्न नसकेको साना शहर तथा नगरोन्मुख क्षेत्रको शौचालयमा जम्मा भएको दिसाजन्य लेदोलाई भने प्रशोधन केन्द्र मार्फत प्रशोधन गर्ने नीति लिएको छ । सरकारले यसको व्यवस्थापनका लागि ढल नीति जारी गरिसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार