
काठमाडौ : बजारमा मेडिकल स्यानिटाइजरको अभाव भएसँगै राजधानीका अस्पतालले आफै स्यानिटाइजर बनाउन थालेका छन् । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, हरिसिद्धिको नेपाल क्यान्सर अस्पताल र धापासीस्थित ग्रान्डी अस्पतालले स्यानिटाइजर बनाइरहेका छन् ।
‘हामीले पहिले पनि अस्पतालमै स्यानिटाइजर बनाएर सबै चिकित्सक र स्वास्थ्यर्मीका लागि प्रयोग गर्थ्यौं,’ अन्नपूर्ण न्यूरोका मेडिकल डाइरेक्टर डा. शरदहरि गजुरेलले भने, ‘नियमित रूपमा औषधि सप्लाई गर्ने सस्लायर्सले स्यानिटाइजर दिन छाडेपछि पुनः बनाउन थालेका हौं ।’
कोभिड संक्रमणको हल्ला भएदेखि अस्पतालले ५० लिटर स्यानिटाइजर बनाइसकेको छ भने चार सय लिटर बन्ने प्रक्रियामा छ । यति परिमाणले दुई वर्षसम्म खपत गर्न पुग्ने डा. गजुरेलले बताए । ‘स्यानिटाइजर बनाउन अल्कोहल, हाइड्रोजन, ग्लिसिरिन र डिस्टिल वाटर चाहिन्छ,’ उनले भने, ‘सर्जिकल हाउसमा सजिलै पाइने यी पदार्थलाई निश्चित फमुर्लामा मिसाएर ७२ घन्टा घुल्न दिएपछि तयार हुन्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बनाएको फर्मुला प्रयोग गर्न सके घरमै पनि स्यानिटाइजर बनाउन सकिने उनले बताए ।
विकासोन्मुख मुलुकमा कम खर्चमै स्यानिटाइजर उत्पादन गर्न सकियोस् र महामारीका बेला अभाव टार्न सकियोस् भनेर डब्लूएचओले स्यानिटाइजरको फर्मुला बनाएको छ । यही फर्मुला अनुसार क्यान्सर अस्पतालमा समेत स्यानिटाइजर बन्ने गरेको अस्पतालको संक्रमण नियन्त्रण कमिटीका सदस्य रनिश श्रेष्ठले बताए । ‘हामीले त अस्पताल बनेदेखि आफै स्यानिटाइजर बनाएर प्रयोग गर्दै आइरहेका थियौं,’ उनले भने, ‘आफूमात्रै होइन अन्य अस्पताललाई बजार मूल्यभन्दा कम मूल्यमा बेचेका पनि थियौं ।’
कम समयमा थोरै मूल्यका कच्चा पदार्थ प्रयोग गरी बनाइने यस्ता स्यानिटाइजर स्वास्थ्यकर्मी, बिरामी र कुरुवालाई प्रयोग गर्न पुगिरहेको उनले बताए ।
ग्रान्डी अस्पतालले पनि पाँच वर्षदेखि आफै स्यानिटाइजर तयार गरिरहेको छ । ‘मुख्यतः अस्पतालमा कुनै संक्रमण नफैलियोस् भनेर हामीले आफै स्यानिटाइजर बनाउन थालेका थियौं,’ अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले भने । सस्तो मूल्यमा बनाउनेभन्दा गुणस्तरका लागि आफै उत्पादन गरिएको उनले बताए । अभावको समयमा यस्ता स्यानिटाइजर बनाएर सरकारी अस्पताललाई सहयोग गर्नसमेत आफूहरू तयार रहेको उनले बताए ।
स्यानिटाइजर सकिएपछि साबुनपानीले हात धुने अभ्यास
बानेश्वरस्थित निजामती अस्पताल (सिभिल) मा स्यानिटाइजर सकिएपछि साबुनपानीले हात धुने अभ्यास सुरु गरिएको छ । स्यानिटाइजरभन्दा साबुनपानीले हात धुँदा किटाणुमुक्त भइने अस्पतालका निर्देशक डा। दीर्घराज आरसीले बताए । ‘स्यानिटाइजर नै बनाउने हो भने पनि हामी सक्छौं, जनशक्ति पनि छन्,’ उनले भने । यो खबर हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।
बजारमा पाइने स्यानिटाइजर र विशेष फर्मुला प्रयोग गरी स्थानीय रूपमा बनाइने स्यानिटाइजर प्रयोग गर्न उत्तिकै सुरक्षित रहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘स्यानिटाइजरले ७० प्रतिशत किटाणु मारिदिन्छ,’ उनले भने, ‘यसलाई हातमा राम्ररी माडेर लगाएपछि हात आँखा, मुख र नाकमा जाँदा कुनै पनि किटाणु शरीरमा प्रवेश गर्न पाउँदैन, संक्रमणबाट धेरै हदसम्म जोगाउँछ ।’


1180 पटक हेरिएको 

