प्रसन्न तामाङ : ‘ओई ! कता जान लाग्नुभएको ?’ सोमबार साँझपख शंखमुल जाने बाटो तिरबाट वानेश्वर चोक पार गर्ने वित्तिकै पुलिस दाईले केरकार गरिहाले । मैले हतार–हतार औषधीको झोलाबाट पुरानै भएपनि अस्पतालको टिकट निकालेर देखाएँ । ‘ओ ..! .ओ ! अलि उता, अलि उता’ यसपटक उनले हातमा भएको डण्ठाले घोचुँला झैं गरे । मैले पनि अत्तालिएर औषधीको झोला उनको नजिकै गएर देखाएछु ।
हातमा डण्ठा बोकेको हवल्दार र नजिकै उभिएका थिए अर्का एक जना प्रहरी जवान । हवल्दार पैदल हिड्नेहरुलाई केरकार गर्दै औचित्य पुष्टि गर्न सक्ने जत्तिलाई हिडडुल नगर्न सम्झाउँदै हात धुन लगाईरहेका थिए भने सँगै उभिएका जवानले हिड्डुल गर्ने व्यक्तिको नाम र नम्बर टिपोट गरिरहेका थिए ।
‘स्वास्थ्यकर्मी भएर यत्ति कुरा पनि थाहा हुँदैन ?’ फेरि हवल्दार कड्किए । ती किशोरीले परिचयपत्र हवल्दारको आँखा अगाडि नै लगेर तेर्स्याइदिएछन् ।
बाहिर हिडडुल गर्ने मानिसलाई पुलिसले परैबाट अंकुश लगाएर गाडीमा हालेको दृश्य मैले युट्यूबमा देखेको थिएँ । पुलिसले समाति हालेछ भने आफ्नो बाध्यताबारे बताउँला भनेर मैले पुरानै भएपनि अस्पतालको टिकट र औषधीको झोला बोकेर हिडेको थिएँ । मैले आफ्नो सबै विवरण बताएपछि पुलिसले मलाई हात धुन लगाए ।
अघिपछि बिहान वा बेलुकी गरी दिनको एकपटक पुगिरहने वानेश्वर चोक नपुगेको पनि दुई हप्ता बितिसकेछ । सरकारले लकडाउन गरेपछि कोठा बाहिर निस्केकै थिएन । बाध्यता नै भएपछि सोमबार साँझ कोठाबाट निस्केर एटिएम्सम्म पुगेर आएको थिएँ । त्यहाँबाट अलि अगाडि बढेपछि औषधी त किन्नु नै थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले माछापुछ्रे बैंकको साझेदारीमा वानेश्वर चोकैमा ५ हजार लिटर क्षमताको हिलटेकमा पानी भरेर हात धुने प्रबन्ध मिलाएको रहेछ । त्यहाँ एकैपटक ९/१० जनाले हात धुन सकिने रहेछ । प्रहरीले वानेश्वर सहित ललितपुर, भक्तपुर र काठमाडौको भीडभाड हुने १६ वटा स्थानमा यस्तै हात धुने ठाउँको व्यवस्था गरिएको रहेछ ।
मैले साबुन पानीले मिचीमिची हात धोएँ । मैले हात धोइरहेकै बेला दुई जना किशोरीहरु पनि टुप्लुक्क आईपुगे । ती दुईजनालाई पनि केहीबेर अघि मलाई बोलाएकै पारामा पुलिस दाइले सोध्न सुरु गरिहाले । ‘ओई ! कहाँ जान लाग्नुभएको ?’ सा– साना झोला बोकेका ती किशोरीले आफूहरु स्वास्थ्यकर्मी भएको भन्दै परिचयपत्र पत्र देखाउन थाले । ‘स्वास्थ्यकर्मी भएर यत्ति कुरा पनि थाहा हुँदैन ?’ फेरि हवल्दार कड्किए । ती किशोरीले परिचयपत्र हवल्दारको आँखा अगाडि नै लगेर तेर्स्याइदिएछन् ।
परिचयपत्र हेरेर स्वास्थ्यकर्मी नै हुन् भन्ने प्रमाणित भएपछि ती दुवै जना किशोरीलाई पनि सम्झाई बुझाई गरी साबुन पानीले हात धुन लगाए र आवश्यक विवरण टिपोट गरी पठाईदिए ।
हात धुने ठाउँमा डोरीले बार पनि लगाईएको थियो । ती प्रहरीले मलाई औषधी समेत केही महिनाका लागि एकैपटक किनिराख्न आग्रह गरे । प्रहरीलाई धन्यबाद दिदै म पनि अघि बढें ।
कोरोना महामारीको संक्रमणबाट जोगिन साबुन पानीले नियमित हात धुनुपर्ने सन्देशका कारण पहिलेको तुलनामा अहिले धेरैले साबुन पानीले हात धुन थालेका छन् । हुन त यो तपाई हाम्रा लागि नयाँ र नजानेको बिषय भने पटक्कै होइन । यसअघि पनि साबुन पानीले हात धोएमा धेरै संक्रामक रोगबाट बच्न सकिन्छ भन्ने थाहा भएपनि यसलाई महत्वका साथ हेरिएको थिएन ।
बाहिर निस्कँदा पुलिसले हात धुन लगाएपछि मैले पाटन अस्पतालको माइक्रोबायोलजी विभागका डा. पीयूष राजभण्डारीलाई सम्झें । केही दिन अघि कुराकानीका क्रममा उहाँले भन्नुभएको थियो ‘कुनै काम गरिसकेपछि, बाहिर कुनै वस्तु छोएपछि र बाहिरबाट घर फर्केपछि नबिर्सिकन हात धुनुपर्छ ।’
उहाँका अनुसार संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा मुख वा नाकबाट निस्किने पानीको ज्यादै मसिना कणबाट कोरोना फैलिन्छ । यसकारण भीडभाडमा नजाने र अरूसँग सामान्यतया एक मिटरको दूरी कायम गरेमा यस्ता कणबाट जोगिन सहज हुन्छ । त्यसैले हामीले पनि यही अनुरुप आफ्नो व्यवहारलाई अनुशासित बनाऔं । सरकारले वैशाख ३ गतेसम्मको लागि लकडाउनको अवधि बढाएको छ । हामीले लकडाउनको पालना गरौं र बाहिर नगई नहुने अवस्था आएमा कोठामा फर्केपछि साबुन पानीले मिचीमिची हात धोऔं ।