फोहोरमैला संकलकलाई न व्यक्तिगत सुरक्षा सामग्री, न राहत

काठमाडौ : कोरोना संक्रमणबाट जोगिन नेपाल सरकारले ११ चैतदेखि देशैभर लागू हुने गरी ‘लकडाउन’ गर्ने घोषणा गऱ्यो । लकडाउन अवधिभर अत्यावश्यक क्षेत्रका कामहरू भने नियमित सञ्चालन हुने समेत बतायो । अत्यावश्यक क्षेत्रभित्र पर्ने फोहोरमैला व्यवस्थापन पनि लकडाउन अवधि भर नियमित रूपमा सञ्चालन भईरहेको छ र हुनेछ ।

तर, फोहोरमैला व्यवस्थापनमा खटिएकाहरू भने चिन्तित छन् । लकडाउन अवधिमा अरू ढुक्कसँग घरमा बसिरहेका वेला आफू चाहिँ काममा लाग्नु परेकामा उनीहरूको चिन्ता होइन । कोरोना भाइरसको संक्रमणबाट जोगिन सामान्य मास्क, पन्जा र जुत्ता समेत नहुँदा उनीहरूको चिन्ता थपिएको हो ।

३५ वर्षदेखि फोहोरमैला व्यवस्थापनमा खटिएका छन् श्याम ठकुरी । उनी बिहान ५ बजेदेखि काममा खटिन्छन् । तर, ३५ वर्षको अवधिमा अहिलेजस्तो चिन्ता उनलाई कहिले पनि भएको थिएन । ठकुरी भन्छन्, ‘पन्जा, जुत्ता, मास्क केही छैन । सुरक्षाका कुनै साधनविना काम गर्नुपरेपछि चिन्ता लाग्नु स्वाभाविक हो ।’

फोहोरमैला व्यवस्थापनको काम त्यसै पनि जोखिमपूर्ण मानिन्छ । त्यसमाथि महामारीको समयमा यस्तो संक्रमण अझ चाँडो फैलने सम्भावना हुन्छ । तर, सामान्य सुरक्षा उपकरण समेत नहुँदा फोहोरमैला संकलन र व्यवस्थापनमा संलग्न श्रमिकमा जोखिम बढेको छ ।

महामारीको यो समयमा जोखिम मोलेर फोहोरमैला व्यवस्थापन गरिरहेका आफूहरूलाई कसैले सहयोग नगरेको बताउँछन नक्की पदार । उनी भन्छन्, ‘डरैडरमा काम गर्नुपरेको छ । सरकारले भनेर काममा खटिएका छौँ । यस्तो वेला पनि आवश्यक साधन उपलब्ध गराउने तर्फ कसैले सोचेका छैनन् ।’

फोहोरमैला व्यवस्थापनमा जुटेकाहरूलाई सुरक्षा सामग्री उपलब्ध गराउनुको सट्टा काम नगरे उनीहरूलाई जागिरबाट निकाल्ने धम्की दिइएको छ । ‘हातेमालो’ नामक संस्थासँग आबद्ध भएर फोहोरमैला संकलनमा लागेका मीनबहादुर खड्गी भन्छन्, ‘काम गरेनौ भने अर्को मान्छे राख्छु भनेर धम्की दिएका छन् ।’

परिवार पाल्नुपर्ने बाध्यताका कारण जोखिम मोलेरै काममा आउनुपरेको बताउँछन खड्गी । ‘परिवार पाल्नकै लागि महामारीमा पनि काममा आउनुपरेको छ,’ खड्गी सुनाउँछन्, ‘ज्यान जोखिममा राखेर भए पनि काम गर्नुपरेको छ ।’

फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरे भने दुई दिनभित्र सबैलाई सुरक्षा उपकरण उपलब्ध हुने बताउँछन् । घिमिरेका भनाइमा सरकार र स्थानीय तहहरूले सरसफाइको क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई संक्रमणको जोखिम छ भन्ने बुझेकै छैनन् । त्यही भएर सुरक्षाका लागि आवश्यक सुरक्षाका साधन उपलब्ध हुन नसकेको हो । उनी भन्छन्, ‘हामीले स्वास्थ्य मन्त्रालयसँग पनि कुरा गरेका थियौँ, तर मन्त्रालयले डाक्टरलाई त मास्क–पन्जा दिन सकेको छैनौँ भन्दै हामीलाई बेवास्ता गऱ्यो ।’

त्यसपछि संघले काठमाडौं र ललितपुर महानगरपालिकासँग यसबारेमा कुरा गरेको थियो । कुराकानीका क्रममा उनीहरूले सहयोगको आश्वासन पाएका छन् । घिमिरे भन्छन्, ‘यसबाहेक हामीले हाम्रो आफ्नै पहलमा दाताहरूसँग कुरा गरेर चार सय भन्दा बढी थान एप्रोन जुटाएका छौँ । ती सामग्री आगामी दुई दिनभित्र सरसफाइ क्षेत्रमा काम गर्ने श्रमिकलाई उपलब्ध गराउँछौँ ।’

संकलन गरिएको फोहोरबाट कवाडी सामान छुट्याएर जीविका चलाउनेहरूको आम्दानीको स्रोत समेत यतिवेला रोकिएको छ । यस्तै मध्येकी एक हुन्, शान्ति तामाङ । फोहोरबाट कवाडी सामान संकलन गर्न सिसडोलस्थित डम्पिङ साइट पुग्ने उनको काम लकडाउनसँगै रोकिएको हो ।

तामाङले लकडाउन अगाडि दैनिक चार सय रुपैयाँ आम्दानी गर्थिन् । तर, लकडाउनका कारण उनी आज भोलि सिसडोल पुग्न सक्दिनन् । ‘सिसडोल जान पाएको छैन, काम रोकिएपछि रासन जुटाउन नै मुस्किल भइसकेको छ,’ उनी भन्छिन् । हामीले यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

लकडाउनका कारण रोजगारी र आम्दानी गुमाएका शान्ति तामाङ जस्तै श्रमिकलाई राहत दिने नीति राज्यले सार्वजनिक गरेको छ । तर, व्यवहारमा भने त्यो लागू हुन सकेको छैन । त्यस्तै मध्येकी एक हुन् माया तामाङ । ‘हाम्रो त तलब आउने हो कि नआउने हो, आउने भए पनि कहिले आउने हो, थाहा छैन,’ माया भन्छिन्, ‘तलब नै आए पनि त्यो तलबले खानै पुग्दैन ।’

फोहोरमैला व्यवस्थापनमा लागेका मजदुरको अपेक्षा छ, स्थानीय तहबाट दिने भनिएको राहत सुलभ बनाइयोस् । राहत पाउने प्रक्रिया झन्झटिलो भएका कारण उनीहरूले यस्तो अपेक्षा गरेका हुन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार