हात धुने काम : पहिले झन्झट, अहिले जरुरत

🔗
19
Shares

साबुन पानीले हात धुँदै ७६ बर्षीया गोपिनी गेलाल ।

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका – ३, गेलाल गाउँकी गोपिनी गेलालले जिन्दगीको ७६ औं बसन्त पार गरिसक्नुभएको छ । जिन्दगीको यत्ति लामो यात्रामा उहाँले यसपाली जस्तो धेरै पटक हात यसअघि कहिल्यै पनि धुनु भएको थिएन । विगत सम्झिदै गेलालले भन्नुभयो ‘गाईभैंसीको स्याहार गरेपनि, बारीमा मलजल गरे पनि, चर्पी गएपनि यसपाली जस्तो पटकैपिच्छे हात धोएको थिएन, यसपाली त हात नधोए रोग लाग्छ रे, रोग लागे मरिन्छ रे भन्ने सुनें । अनि घरबाहिर निस्केपछि फर्किने बेला त साबुन पानीले हात धुने गरेकी छु ।’

साबुन पानीले हात धुने कार्यक्रम बर्षौ पहिले देखि नै सञ्चालन गर्दै आएपनि यसको व्यवहारिक प्रयोग खासै भईरहेको थिएन । हात धुने कार्यक्रम र यस्तै सरसफाइ कार्यक्रममा सहभागी हुन्जेलसम्म हुन्छ, धुन्छौं भने पनि घरमा फर्केपछि पुरानै आनीबानीलाई निरन्तरता दिने गरिन्थ्यो ।

फोहोर कुरा छोएपछि साबुन पानीले हात धुनुपर्छ भन्ने कुरा उहाँलाई थाहा नभएर होइन, धोए पनि नधोए पनि आफ्नै हात त हो नि ? भन्दै हात धुने कुरालाई खासै गम्भीरताका साथ पालना गर्नुभएको थिएन । गोपिनी गेलाल भन्नुहुन्छ ‘रेडियोले हात धुनुपर्छ भनिरहन्थ्यो, घरघरै हात धुन सिकाउने नानीहरु पनि आउनुहुन्थ्यो । तर हात धुन पनि सिकाउने हो र ? भने जस्तो लाग्थ्यो, अहिले बुझ्दा त हाम्रै लागि रहेछ ।’

छोरा बुहारी र नाती नातिना सहित ६ जनाको परिवारमा अहिले सबैले नियमित हात धुने गरेको गोपिनी गेलालले बताउनुभयो ।

इन्द्रावती अर्याल, चाँगुनारायण नगरपालिकाको ३ नं. वडाकी पूर्ण सरसफाइ सहजकर्ता हुनुहुन्छ । वडा क्षेत्र भित्रका बासिन्दालाई सरसफाइ सम्बन्धी सचेतना फैलाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने, सामाजिक परिचालनको माध्यमबाट समुदायमा सरसफाइ सम्बन्धी जागरण ल्याउने उहाँको काम हो । तर यसभन्दा अगाडि हात धुने बिषयमा कुरा गर्दा समुदायका मानिसहरुले हुन्छ, हुन्छ भनेपनि व्यवहारिक अभ्यास भने नगरेको उहाँको अनुभव छ । इन्द्रावती भन्नुहुन्छ ‘पहिले हात धुने ठाउँ बनाउनुहोस्, फोहोर कुरा छोएपछि, भान्छामा खाना पकाउनु अघि, खाना खानु अघि साबुन पानीले हात धुनुहोस् भन्दा कतिले त अहिलेसम्म जसरी खाएपनि बाँचेकै छौं क्यारे ? भन्ने जवाफ दिन्थ्यो ।’

सरसफाइ सम्बन्धी कार्यक्रम पछि साबुन पानीले हात धुने अभ्यास गरिदै ।

यस्तो अवस्थामा इन्द्रावतीलाई पूर्ण सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि निक्कै गाह्रो हुन्थ्यो । कार्यक्रम सञ्चालन गरेपनि त्यसको परिणाम त्यत्ति राम्रो नआएपछि कहिलेकाहीं त जाँगरै मरेर आउँथ्यो ।

तर अहिले पूर्ण सरसफाइ सहजकर्ता इन्द्रावती खुसी हुनुहुन्छ । ढिलो चाँडो आफूले समुदायमा दिलाएको योगदानको प्रतिफल प्राप्त भए जस्तो महसुस हुना थालेको छ । किनकि अहिले समुदायका मानिसहरु सबैले हात धुने ठाउँको व्यवस्था गरेर नियमित साबुन पानीले हात धुन थालेका छन् ।

चाखलाग्दो कुरा त के छ भने साबुन पानीले हात धुने कुरा गर्दा खासै कान नथाप्ने समुदायका मानिसले अहिले पूर्ण सरसफाइ सहजकर्ता घरमा जानुपर्‍यो भने पनि हात नधोइकन घरभित्र प्रवेश गर्न निषेध गरिएको छ ।

यत्तिबेला बाहिरका मानिस खासै आउजाउ नगर्ने र अति आवश्यक काम परेर आउनै परे साबुन पानीले हात धोएर मात्र प्रवेश गर्न दिइएको चाँगुनारायण –३ कै कमला गेलालले बताउनुभयो । उहाँले बाहिरी मानिस मात्र नभएर पूर्ण सरसफाइ सहजकर्ता नै आउनुभयो भने पनि साबुन पानीले हातमुख धोएर मात्र भित्र पस्न दिईने बताउनुभयो ।

कमलाले पुरानो ड्रममा पानी भरेर साबुन पानीले हातमुख धुने व्यवस्था गर्नुभएको छ । घरबाहिर निस्के पछि घरका हरेक सदस्यले साबुन पानीले हात धोएर मात्र घर भित्र पस्न पर्ने आन्तरिक नियम जस्तै छ उहाँको घरमा ।

साबुन पानीले हात धुने ठाउँ, साथमा चाँगुनारायण –३ की कमला गेलाल हात धुँदै ।

विगतमा साबुन पानीले हात धुने कुरालाई सामान्य रुपमा लिएपनि अहिले रोगबाट बच्नका लागि साबुन पानीले नियमित हात धुनैपर्ने रहेछ भन्ने कुरा उहाँले बुझ्नु भएको छ । कमला भन्नुहुन्छ ‘पहिले तर साबुन पानीले हात धोइरहन एकदम झन्झट लाग्थ्यो, कहिलेकाहीं राम्ररी साबुन नपखालिंदा खाना खाँदा पनि हात गन्हाईरहे जस्तो लाग्थ्यो, तर बानी परेपछि हात नधुँदा त छाला पनि अरर्रो जस्तो हुने रहेछ ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलिन नदिन विश्व स्वास्थ्य संगठनले साबुन पानीले नियमित हात धुनुपर्ने भन्दै आएको छ । नेपालमा साबुन पानीले हात धुने कार्यक्रम बर्षौ पहिले देखि नै सञ्चालन गर्दै आएपनि यसको व्यवहारिक प्रयोग खासै भईरहेको थिएन । हात धुने कार्यक्रम र यस्तै सरसफाइ कार्यक्रममा सहभागी हुन्जेलसम्म हुन्छ, धुन्छौं भने पनि घरमा फर्केपछि पुरानै आनीबानीलाई निरन्तरता दिने गरिन्थ्यो ।

गेलालगाउँकी रीता धिमाल, साबुन पानीले हात धुँदै, उहाँ घरबाहिर निस्केर फर्केपछि यसरी नै हात धुने गर्नुहुन्छ ।

कोरोना महामारीका कारण कोरोना र अन्य संक्रामक रोगबाट बच्न साबुन पानीले नियमित हात धुन जरुरत रहेछ भन्ने कुरा बल्ल बुझेका छन् । चाँगुनारायण नगरपालिका ३, गेलालगाउँकी रीता धिमाल भन्नुहुन्छ ‘जे कुरा पनि बानी रहेछ, पहिले बानी थिएन, अब साबुन पानीले हात धुने बानी परिसक्यो । अब त नधुँदा पनि हुन्छ भने पनि हामी त साबुन पानीले नै हात धुने हो ।’

कोरोना महामारीका कारण धेरैको जिन्दगी छिन्नभिन्न भएपनि साबुन पानीले नियमित हात धुनुपर्छ भन्ने पाठ चाहिं राम्रै गरी पढाएको देखिन्छ ।

चाँगुनारायण नगरपालिकाले ग्लोबल स्यानिटेसन फण्ड/ युएन ह्याबिटाटको साझेदारीमा पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाले २०७८ पुसभित्र नगरपालिकालाई पूर्ण सरसफाइउन्मुख नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको छ । ‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७५’ ले राखेको उद्देश्य तथा लक्ष्य परिपूर्तिका लागि चौतर्फी काम भैरहेको ग्लोबल स्यानिटेसन फण्ड युएन ह्याबिटाटकी भक्तपुर जिल्ला संयोजक पार्वती दंगालले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार