
विनोद धौलागिरि/विराटनगर : संघ र प्रदेशका सिंहदरबारले वार्षिक नीति कार्यक्रम र बजेट विनियोजन गरिरहँदा टोलका सिंहदरबार भने सरसफाइ र स्वच्छता प्रवद्र्धन गरी रोग फैलनै नदिने योजनामा जुटेका छन् । “कोरोनाबाट बच्नका लागि सरकारले गरेको लकडाउनको मुख्य मर्म भनेको संक्रमण एकबाट अर्कोमा फैलिन नदिने भन्ने नै रहेछ”, बेलबारी नगरपालिका वडा नं. ११ का अध्यक्ष राजन पोखरेलको भनाइ छ, “अहिले समुदायले पनि सरकारको यही मर्मलाई आत्मसात गरेर समुदायको सरसफाइ र स्वच्छता प्रवद्र्धनमा जुटेको छ।” सोही वडामा रहेको भाङबारी टोल विकास संस्थाले त लकडाउनको समयमा पनि भौतिक दूरी र सुरक्षा कायम गर्दै टोल सरसफाइ समेत गरिरहेको छ ।
बेलबारी नगरपालिकाले तयार पारेको टोल विकास संस्था सञ्चालन कार्यविधिमा टोलको सामुहिक समस्या वा सवालको पहिचान गरी प्राथमकताका आधारमा टोल विकास योजना तर्जुमा गर्ने र पूर्ण सरसफाइ उन्मुख अवस्था लगायतका क्षेत्रमा सुधारका योजना एवम् कार्यक्रम सञ्चालन गर्ने कार्यलाई टोल विकास संस्थाहरुको काम तथा कर्तव्यअन्तर्गत राखिएको छ । “अहिले टोलले यही दायित्वअनुरुप सरसफाइ प्रवद्र्धनलाई एक प्रमुख सवालको रुपमा लिंदै सिंगै टोललाई स्वच्छ र स्वस्थ टोलको रुपमा विकास गर्न लागिपर्नुभएको छ”, पूर्ण सरसफाइ अभियान पालिका संयोजक रीता कोइराला भन्नुहुन्छ, “त्यसैले लकडाउनको समयमा सामाजिक दूरी कायम गर्दै टोल तहमा छलफल गरी पूर्ण सरसफाइ प्रवद्र्धनका योजना बनाउने कार्यमा उहाँहरु क्रियाशील हुनुहुन्छ ।”
पछिल्लो ६ महिनाको विश्वभरको आँकडाले देखाइसकेको छ कि खोप वा औषधी पत्ता नलागेसम्म कोरोनालाई शून्यमा झार्न सकिदैन । त्यो खोप र औषधी नेपालका ग्रामीण भेकका बासिन्दाको पहुँचसम्म कहिलेसम्म आइपुग्छ, यसै भन्न सकिदैन । बेलबारी नगरपालिका, वडा नं. ८ रैझारकी सामाजिक अगुवा रत्ना खवास भन्नुहुन्छ, “भोलि विहान लकडाउन रहला या समाप्त होला, तर कोरोना र यस्तै रोगको सन्त्रास त सधैंभरि रहन्छ । त्यसैले रोगबाट बच्नका लागि सरसफाइ र स्वच्छता नै पहिलो शर्त रहेछ ।”
“मास्क लगाउनुहोस्, साबुन पानीले हात धुनुहोस्, हातमा स्यानिटाइजर लगाउनुहोस्, स्वच्छ खाना खानुहोस्, भौतिक वा सामाजिक दूरी कायम गर्नुहोस्……… यी सबैको अर्थ आफूले अरुलाई रोग नसार्नुहोस् र अरुबाट आफूमा रोग सर्नबाट बच्नुहोस् भन्ने नै हो”, पूर्ण सरसफाइ अभियानमा स्वयंसेवकको रुपमा बेलबारी नगरपालिका वडा नं. ८ मा सहयोग गरिरहनुभएकी रेनुका खवासको भनाइ छ, “पूर्ण सरसफाइले खोजेको पनि सरसफाइ र स्वच्छताको माध्यमबाट स्वस्थ जीवन, संक्रमणको भयमुक्त समाज र स्वच्छ वातावरण नै हो ।”
भूमिकामा अब्बल बन्दै टोलहरु

टोल समितिहरु नगरपालिकामा सूचीकृत भएका समुदायमा आधारित समूहहरु हुन् । सामाजिक विकास र रुपान्तरणमा यिनीहरुको भूमिका र सहजीकरण भने निकै प्रभावकारी रहेको धारणा राख्नुहुन्छ झापाको कमल गाउँपालिका, वडा नं. १ का अध्यक्ष केदार कटुवाल । “आवश्यक परेको खण्डमा उहाँहरुले वडा र गाउँपालिकासँग समन्वय गरी समुदाय तहका योजना निर्माण, कार्यान्वयन र त्यसको अनुगमन तथा लाभको समुचित बाँडफाडमा समेत उहाँहरुको महत्वपूर्ण भूमिका रहेको छ”, वडा अध्यक्ष कटुवालको भनाइ छ, “उहाँहरुले पूरा गर्नुभएको भूमिका हेर्ने हो भने त उहाँहरु टोलको सिंहदरबार नै हुनुहुन्छ ।”
कोरोनाको सन्त्रासले जनजीवन आकुलब्याकुल पारिरहँदा टोल विकास संस्थाहरुले सरसफाइ प्रवद्र्धनमा त क्रियाशील भएका छन् नै, यसको दीगोपन र पहुँच नपुगेका घरधुरीमा पहुँचको विस्तारसम्म खटेका छन् । “चर्पी बनाउनका लागि लकडाउनका कारण इँटा ल्याउन नसकेकादेखि धाराको प्लेटफार्म बनाउनका लागि बालुवा ल्याउन नसकेका घरधुरीलाई समेत हामीले सहजीकरण गरी निर्माण सामग्रीको अभाव हुन दिएका छैनौं”, कमल गाउँपालिका वडा नं. ४ मा रहेको सिद्धार्थ अमलडाँगी टोल विकास संस्थाका अध्यक्ष लेखनाथ खतिवडाले भन्नुभयो, “सरसफाइ प्रवद्र्धन हाम्रो पहिलो सामाजिक एजेण्डा हो र सरसफाइको कमीका कारण कोही पनि विरामी पर्नु नपरोस् भन्ने कुरामा हामी सचेत बनेका छौं ।”
बहाना नै व्यक्तिलाई अघि बढ्नबाट रोक्ने सबैभन्दा ठूलो वाधक रहेछ । पहिले पहिले बहाना बनाएर सहजकर्तालाई फर्काउन पाउँदा मज्जा लाग्ने घरधुरी अहिले आफै चर्पी, मचान, धारा वा कलको प्लेटफार्म, फोहर जम्मा गर्ने खाडल लगायतका सरसफाइ प्रवद्र्धनका संरचना निर्माण र प्रयोग गरिरहेका छन् । कमल गाउँपालिका, वडा नं. २ मा रहेको क्याम्पा टोल विकास संस्थाका अध्यक्ष लीला खतिवडा भन्नुहुन्छ, “पहिले वर्षौंसम्म बहानावाजी गरिरहेकाहरु पनि अहिले त सहजकर्ताले एक पटक फोन गरेर सम्झाउँदा पूर्ण सरसफाइ प्रवद्र्धनका लागि तयार भएका छन्”, खतिवडा भन्नुहुन्छ, “मचान कसरी बनाउनेहोला, प्लेटफार्म कत्रो बनाउनुपर्छ भन्ने कुरा पनि अहिले त टोल समितिमा सोध्न थालेका छन् ।”
एकअर्काका परिपूरक
स्थानीय तहहरुको वार्षिक योजना, नीति तथा कार्यक्रम तयार गर्नका लागि आधारस्तम्भको रुपमा रहेका टोल विकास संस्थाहरु लकडाउनको समयमा पूर्ण सरसफाइ अभियानलाई स्थापित गर्नमा पनि उत्तिकै महत्वपूर्ण भूमिका निभाइरहेका छन् । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा मोरङमा पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेका चार स्थानीय तहका १६ वडामा कोरोना सन्त्रासकै बीचमा ५१ घरमा साबुन पानीले हात धुनका लागि स्थायी प्रकृतिका संरचना निर्माण भएका छन् भने ३ सय ६ वटा निश्चित स्थान बनेका छन् । “हामीले घरधुरीको विवरण जम्मा गरी उहाँहरुले पूर्ण सरसफाइ प्रवद्र्धनका लागि जे गर्न आवश्यक छ, सोको लागि अनुरोध गर्छौं”, मोरङको बेलबारी नगरपालिका, वडा नं. १० र ११ का पूर्ण सरसफाइ सहजकर्ता शर्मिला लुंगेली भन्नुहुन्छ, “घरधुरीलाई सो कामका लागि प्रेरित गर्ने र आवश्यक अन्य सहयोग गर्ने काम टोल विकास संस्थाहरुले गरिरहनुभएको छ ।”

खुल्ला दिसामुक्त अभियानको क्रममा ‘जसरी भए पनि र जस्तो भए पनि चर्पी बनाउनुपर्ने’ तात्कालिक परिस्थितिका कारण माथिल्लो संरचना कच्ची भएका घरधुरीले पनि अहिले संरचना सुधारको काम गरिरहेका छन् । लकडाउनकै बीचमा सोही क्षेत्रमा ४ सय ५७ घरधुरीले चर्पीको स्तरोन्नति गरेका छन् ।
यस्तै, झापा जिल्लामा गत आषाढ महिनामा पूर्ण सरसफाइ अभियान सुरु भएयता विर्तामोड नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिकामा मात्र करिब ६ हजार घरधुरीको स्तरोन्नति भएको छ । १८ टोलहरु पूर्ण सरसफाइमा नमूना बन्ने तरखरमा रहेका छन् । यसलाई उपलब्धीको रुपमा लिंदै ‘पूर्ण सरसफाइको स्थानीयकरण’ भएको भन्न रुचाउनुहुन्छ सहजीकरण गर्ने संस्था विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ अभियान संयोजक सोमनाथ आचार्य । “धेरै टोलहरुमा टोल तहको सरसफाइ श्रोत केन्द्र स्थापना र सञ्चालन गर्नेदेखि अहिले लकडाउनको समयमा घरायसी तहमा सरसफाइ प्रवद्र्धनको अनुगमन गर्नेसम्मको कार्यमा उहाँहरुले नै अगुवाइ गरिरहनुभएको छ”, आचार्यको भनाइ छ, “अहिलेको जोखिम न्यूनीकरण सञ्चार अभियानमा समेत टोल विकास संस्था र टोल समितिका अगुवाहरुले स्वयंसेवकको रुपमा काम गरिरहनुभएको छ ।”
लकडाउनको समयमा सामुदायिक सहजकर्ताहरु कार्यक्षेत्रमा जान नपाए पनि टेलिफोनको माध्यम, सामाजिक सञ्जाल र संस्थागत समन्वयको माध्यमबाट समुदायमा सरसफाइ प्रवद्र्धनका सूचना तथा जानकारी पु¥याउनेदेखि प्राविधिक सहयोग गर्नेसम्मका कार्यमा क्रियाशील हुनुहुन्छ । त्यसैले, पूर्ण सरसफाइ अभियानकर्ताहरुलाई ‘संकटको सारथी’ भन्न रुचाउनुहुन्छ विर्तामोड नगरपालिका, वडा नं. ८ मा रहेको कोलाटोली टोल विकास समितिका अध्यक्ष जीतलाल राजवंशी । “हामीलाई संकट परेको बेलामा टेलिफोन गरी सन्चो विसन्चो सोध्नेदेखि सरसफाइ प्रवद्र्धन गर्नका लागि निरन्तर घच्घच्याइरहने काम पूर्ण सरसफाइ सहजकर्ताहरुले गरिरहनुभएको छ”, राजवंशी भन्नुहुन्छ, “समुदाय परिवर्तनका लागि तयार भएको यही बेलामा सहजकर्ताको होस्टेमा हामीले पनि हैंसे ग¥यौं भने समुदाय छिटो परिवर्तन हुन सक्छ ।”
टोलहरुलाई कार्यक्रमगत सहयोगको खाँचो
पूर्ण सरसफाइ प्रवद्र्धनका लागि नीतिगत कडाइ गर्नुपर्ने आवाज अधिकांश स्थानीय तहमा उठिरहेको भए पनि यसमा सहमत हुनुहुन्नँ कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् गाउँपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव सुवास श्रेष्ठ । “संस्थागत सरसफाइ प्रवद्र्धनका लागि नीतिगत प्रवन्ध गरिनुपर्छ”, उहाँको भनाइ छ, “विद्यालय, संघसंस्था, कार्यालय, स्वास्थ्य संस्था, सार्वजनिक क्षेत्र लगायतका स्थानमा सरसफाइ प्रवद्र्धन र त्यसको निरन्तर स्तरोन्नतिका लागि नीतिगत प्रावधान प्रधान भए पनि टोल र बस्ती तहमा पूर्ण सरसफाइ प्रवद्र्धनका लागि स्थानीय तहले वार्षिक योजनामा स्पष्ट रुपमा उल्लेख गरी कार्यक्रम नै ल्याउनुपर्छ ।”
यसरी तयार गरिएका कार्यक्रमको कार्यान्वयन टोल तहमा टोल विकास संस्थामार्फत गरेमा प्रभावकारी हुने श्रेष्ठको भनाइसँग सहमत हुनुहुन्छ कमल गाउँपालिकाका अध्यक्ष एवम् गाउँपालिका महासंघका राष्ट्रिय उपाध्यक्ष मेनुका काफ्ले । “हामीले विगतमा सरसफाइ प्रवद्र्धनलाई चाहेजति प्राथमिकतामा राख्न नसकेपनि अब मुख्य प्राथमिकतामा नराखीकन धरै छैन”, काफ्लेको भनाइ छ, “यसको कार्यान्वयनका न्यूनतम जिम्मेवार इकाइ भनेका टोल विकास संस्था नै हुन् ।”
स्थानीय तहहरुले सरसफाइ र स्वच्छतालाई प्राथमिकतामा राख्न अनुरोध गर्दै त्यसको सतप्रतिशत कार्यान्वयनमा आफूहरु स्वयंसेवी रुपमा खटिरहने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ सिद्धार्थ अमलडाँगी टोल विकास संस्थाका सचिव एवम् सरसफाइ प्रवद्र्धन अगुवा राजनकुमार राई । “प्रत्येक टोललाई सरसफाइमा नमूना बनाउनेगरी नीति कार्यक्रम ल्याउने हो भने त्यसलाई कार्यान्वयनमा ल्याउन हामी तयार छौं”, राईको प्रतिवद्धता छ ।
कोरोना प्रकोपजस्ता महामारीले सिंगो मानव समाजलाई नै सरसफाइ तथा स्वच्छता प्रवद्र्धन र उपयुक्त आनिवानीको पाठ सिकाइरहेका हुन्छन् । सरसफाइ तथा स्वच्छता प्रवद्र्धन सम्बन्धी नयाँ सामाजिक मूल्य र मान्यताहरु स्थापित गर्नका लागि अहिलेको समयमा उपयुक्त भएकोले यस अवसरलाई गुम्न दिन नहुनेमा गौरीगञ्ज गाउँपालिकाका सरसफाइ फोकल पर्सन एवम् स्वास्थ्य शाखा संयोजक रामचन्द्र मिश्रको समेत जोड रहेको छ । “सरसफाइ नै समुन्नत जीवनको आधार हो भन्ने स्थापित भएको छ”, मिश्रको भनाइ छ, “यस वर्षलाई पूर्ण सरसफाइ प्रवद्र्धन आधार वर्षको रुपमा लिंदै नीति कार्यक्रम तय गरौं, कार्यान्वयनको स्थानीयकरणको जिम्मेवारी टोल समितिहरुलाई दिऊँ ।”
साँच्चै, कोरोनाले कति पाठ सिकायो र त्यसको प्रतिविम्व स्थानीय तहको वार्षिक नीति कार्यक्रममा कति पर्छ, हेर्न बाँकी नै छ । जे भए पनि, स्वस्थकर आनिवानी नै जीवन र समग्र मानव विकासको आधार भएको सत्य भने कोरोना कहरले समेत पुनःपुष्टि गरिदिएको छ ।


1888 पटक हेरिएको 

