
बर्दिया : बर्दियाका चारवटा पालिका र जिल्ला समन्वय समितिलाई कन्ट्याक्ट लेस (Contact less) अर्थात खुट्टाको माध्यमबाट प्रयोग गर्न मिल्ने हातधुने स्थानका साथै अन्य सरसफाइ सामग्री उपलब्ध गराएको छ ।
कोभिड —१९ को महामारी बढ्दै गईरहेको बेलामा सरसफाइ कायम गर्न सके रोकथाम गर्न सकिन्छ भन्ने हेतुले यूएन ह्याबिटाट नेपालले सरसफाइ सामग्री सहयोग गरेको हो । हालको कोभिड —१९ को महामारीको अवस्थालाई मध्यनजर गर्दै पालिकै पिच्छे सरसफाइका सामाग्रीहरु २/२ वटा सेट कन्ट्याक्ट लेस हातधुने स्टेसन, २ थान वाल्टिन/जग, २ थान फोहोर मलाई, २४० थान साबुन तथा १० थान लिक्युइड, १० थान सेनिटाइजर, ५०० प्रति मास्क, १०२ जोडी ग्लोव्स, २४० प्रति स्यानिटरी प्याड आदि हस्तान्तरण गरेको छ ।
वर्दिया जिल्ला समन्वय समिति कार्यालयको आइसोलेसन वार्डमा र यूएन ह्याबिटाट नेपालले ग्लोवल स्यानिटेसन फण्ड (GSF) कार्यक्रम रहेका पालिकाहरु बाँसगढी नगरपालिका र वढैयाताल गाउँपालिकामा सामग्री हस्तान्तरण भइसकेको छ भने राजापूर नगरपालिका र गेरुवा गाउँपालिकाका लागि सामग्री तयार भइसकेको जानकारी यूएन ह्यविटाटका जिल्ला संयोजक तारा बहादुर खातीले जानकारी दिनुभयो । जिल्ला तथा पालिका आवतजावत धेरै हुने क्षेत्र/स्थल पालिकाको कार्यालय र स्वास्थ्य क्षेत्र अथवा क्वारेन्टिन तथा आइसोलेसन स्थलका लागि अति उपयोगी हुने र यूएन ह्याबिटाटको सरसफाइ कार्यक्रम रहेका सबै जिल्ला र पालिकामा सामग्री सहयोग भइरहेको पनि संयोजक खातीले जानकारी दिनुभयो ।
के हो ? कन्ट्याक्ट लेस हातधुने स्टेसन
खुट्टाको सहायताले थिचेर टुटीमा पानी र हातधूने साबुन/लिक्यूइड सजिलै सम्पर्क विना निकाली सुरक्षित तरिकाले हात धुन मिल्ने प्रविधि नै कन्ट्याक्ट लेस हातधुने स्टेसन हो । पानी निस्कने टुटी र साबुन वा लिक्युइडमा प्रत्यक्ष हात लगाउँदा भाइरस तथा किटाणु सजिलै सर्न सक्ने हूँदा यस प्रकारको हातधुने स्टेसन अति नै सुरक्षित र समय सापेक्ष रहेको देखिन्छ ।
यूएन ह्याबिटाट नेपालले ग्लोबल स्यानिटेसन फण्ड (GSF) कार्यक्रम अन्तर्गतको पूर्ण सरसफाइ अभियान सन् २०१७ देखि बर्दियामा सञ्चालन गरिरहेको छ । बर्दियाका बाँसगढी नगरपालिका, राजापूर नगरपालिका, वढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिका गरी चार वटा पालिकामा पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि सहयोग गरेको छ भने एकीकृत विकास समाज नेपालले सहजीकरण गरिरहेको छ ।
कोभिड—१९ महामारीको अवस्थामा सरसफाइ तथा कोरोना सचेतनाका लागि दूरी सूचना प्रवाह, सामाजिक दूरी कायम गरी अभियान जारी तथा विभिन्न सचेतना प्रवाह गर्ने सामग्री वितरण गरिरहेको छ ।


1812 पटक हेरिएको 

