खानेपानी आयोजनाले आत्मनिर्भरता तर्फ अग्रसर सर्लाहीका महिलाहरु

सर्लाही : विगतमा सर्लाहीको सिसौरिया र ब्रम्हपुरीको गाउँपालिकाका धेरैजसो महिलाहरु आर्थिक रुपले प्रायः पति या परिवारमै मात्र निर्भर हुदैं आइरहेका थिए । यसको मुख्य कारण सिमित आर्थिक स्रोत र त्यसमा पनि महिलाको पहुँच हुने वातावरणको कमी थियो । तर आजकल यी क्षेत्रका महिलाहरुपनि स्वरोजगारतिर उन्मुख हुदैंछन् । कसैले किराना पसल चलाईरहेका छन भने कोही कृषि एवं बाख्रा पालनमा संलग्न भई आर्थिक आत्मनिर्भरता तर्फ अग्रसर हुदैंछन् ।

पहिले पहिले घरको काममा मात्र सिमित रहने र कसैसँग बोल्नु पर्‍यो भने संकोच मान्ने यी महिलाहरुमा अहिले आत्मबिश्वास र चेतनाको अभिबृद्धि भएको प्रष्ट देख्न पाईन्छ । त्यहाँका महिलाहरु आफ्ना समुदायमा देखिएको यस किसिमको परिवर्तनको श्रेय ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र बाग्मती सेवा समाज नेपाल, हरिवनको प्राविधिक र सामाजिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाका कार्यक्रमहरु र त्यसमध्ये पनि विशेष गरी जीविका कार्यक्रमलाई दिन चाहनु हुन्छ ।

खानेपानी आयोजनाका कार्यक्रमले ल्याएको सकारात्मक परिवर्तनबारे उहाँहरुको आफ्नै शब्दमा :

बाख्रापालनमा व्यस्त पुष्प कुमारी देवी यादव

ब्रम्हपुरी, सर्लाही निवासी पुष्प कुमारी देवी यादव भन्नुहुन्छ ‘मेरो आर्थिक अवस्था त्यति बलियो थिएन । ज्यालादारी गरेर जसोतसो आफ्नो जीविका धान्दै आइरहेकी थिएँ । कहिलेकाहीं काम नपाउँदा त्यतिकै दिन बिताउनु पर्ने हुन्थ्यो । समुदायमा गढ़िटोल खानेपानी तथा सरसफाइ आयोजनाको कार्यक्रम सञ्चालन भएपछि आयोजनाको जीविका कार्यक्रम अन्तर्गत श्री धामी बाबा महिला प्राबिधिक समूह बन्यो र म त्यस समुहको सदस्य बनें । दुःख गरेर ज्यालदारीबाट कमाएको पैसाबाट बचाएर प्रत्येक माहिना ५० रुपैयाँ त्यस समुहमा जम्मा गर्न थालें ।

बाख्रापालनमा व्यस्त पुष्पकुमारी देवी यादव

सबै सदस्यले बचत गरेकोले कोषमा रकम बढ्दै गएको छ । पहिले कुनै शुभकार्य गर्न अथवा अकस्मात आर्थिक समस्या परेको बेलामा कहाँबाट ऋण लिने जस्तो हुन्थ्यो । ऋण भेट्टाइएमा पनि कहिले लेखनदास भेट्टिदैन थियो । चर्को ब्याजदरको मार छुट्टै थियो । धेरै प्रकारका समस्याहरु थिए ।

अहिले यस समूहमा आवद्ध भए देखि कम व्याज दरमा सुलभ तरिकाले ऋण पाएका छौं । यसले गर्दा पैसाको आवश्यकता परेको बेला यताउति भौंतारिनु परेको छैन । यसै समूहबाट ऋण लिएर बाख्रा पालन गर्दै आईरहेको छु । मासिक राम्रै आम्दानी भैरहेको छ । ज्यालदारी काम नभएको बेला अहिले यत्तिकै बस्नु परेको छैन । ज्यालादारी र बाख्रापालन दुवैको कमाईले घर खर्चमा राम्रो भरथेक भएको छ र जीवनयापन गर्न पहिलेको भन्दा सजिलो भएको छ ।’

किराना पसलले ल्याएको परिवर्तन

किराना पसल को अगाडी प्रेम कला देवी साह

सिसौरिया, सर्लाही निवासी प्रेमकला देवी साह मनहर्वा खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत बनेको राम जानकी महिला प्राबिधिक सेवा समुहको ५१ सदस्य मध्येकी एक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘मैले समूहले सञ्चालन गर्दै आइरहेको बचत कार्यक्रममा मासिक १०० रुपैयाँ बचत गर्दै आइरहेको छु । समूहमा आवद्ध नहुँदा ज्यालादारी काम गर्थे ।

काम नपाउँदा एक छाक टार्न समेत मुश्किल पथ्र्यो । सानो घर खर्च टार्न पनि धौ धौ पथ्र्यो । अहिले समूहबाट ऋण लिएर किराना पसल चलाइरहेकी छु । शुरुमा पसल त्यति राम्रो सँग नचलेता पनि अहिले यसबाट राम्रै आम्दानी लिई रहेकी छु र किराना पसल खोल्न लिएको ऋण पनि चुक्ता गरिसकेकी छु । यसैले अहिले म धेरै खुसी छु र यसको लागि फण्डबोर्ड र सहयोगी संस्थालाई हार्दिक धन्यबाद दिन चाहन्छु ।’

आर्थिक आत्मनिर्भरता सँगै स्वस्थ जीवन

मनहर्वा खानेपानी तथा सरसफाइ आयोजनाकै अर्की सदस्य कृष्णकुमारी साह पनि राम जानकी महिला प्राबिधिक सेवा समूहको सदस्य हुन पाएकोमा दंग हुनुहुन्छ । उहाँ आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ ‘पहिले हाम्रो गाउँमा मनहर्वा खानेपानी तथा सरसफाइ आयोजना आउनु अगाडि हामी कुनै महिला समूहको सदस्य बनेका थिएनौ ।

कृष्णकुमारी साहको तरकारी खेती

खानेपानी तथा सरसफाइ आयोजना आएपछि फण्डबोर्डबाट राम जानकी महिला प्राबिधिक सेवा समूह बन्यो र साथै समुहको लागि २० हजार रुपैयाँ प्राप्त भयो त्यतिमात्र होइन समूह बनेपछि हामीले बचत तथा ऋण परिचालन गर्न सिक्यौं । यसै समूहबाट ऋण लिएर मैले तरकारी खेती शुरु गरें । अहिले मैले विभिन्न किसिमको तरकारीहरु उब्जाएकी छु । हाम्रो परिवार ठुलो छ ।

म र मेरो परिवारले हाल विना विषादीयुक्त शुद्ध तरकारी खाने सुनौलो अवसर पाएको छ । बिषादीमुक्त स्वादिष्ट तरकारी खान पाएकोले अहिले हामी पाहिलेको भन्दा धेरै स्वस्थ, सुखी र खुसी छौँ । आफूलाई खान पुग्ने राखेर बचेको तरकारी बजारमा र कहिलेकाहीं छिमेकीलाई बिक्री गर्ने गरिरहेकी छु र यसबाट आएको आम्दानीले स सानो खर्च आफैले टार्ने गरेकी छु ।’

यसै खानेपानी आयोजनाकी अर्की उपभोक्ता रन्जना देवी मण्डल पनि बाख्रापालन गरेर आफ्नो जीविकालाइ सुधार्न सफल हुनुभएको छ । उहाँ पनि पहिले ज्यालादारी गरेर बडो मुश्किलले घर चलाउदैं आउनुभएको थियो ।

बाख्राहरु सङ्गै रमाउँदै रन्जना देवी मण्डल

अटेरी साहुकारबाट असह्य दुःख भोग्नुभएकी उहाँले ऋण पाउन घर जग्गा धितो राखेर चर्को व्याज तिर्नु परेको तीतो अनुभव सुनाउनुभयो । अहिले समूहबाट सुलभ तरिकाले कम व्याज दरमा ऋण लिएर बाख्रापालन गर्न थालेपछि उहाँ सन्तुष्ट हुनुहुन्छ ।

कान्ति देवीको करेसाबारी

गढ़िटोल खानेपानी तथा सरसफाइ आयोजना ब्रम्हपुर ९ की कान्तिदेवी पनि अहिले खुसी हुनुहुन्छ । उहाँ पनि यस खानेपानी आयोजना अन्तर्गत बनेको धामी बाबा महिला प्राविधिक समुहको सदस्य हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘यस खानेपानी आयोजना आउनु अघि यहाँ समूहमा बस्नुपर्छ, बचत कार्यक्रम सञ्चालन गर्नुपर्छ र यसबाट आर्थिक क्रियाकलाप गर्न सकिन्छ भन्ने चेतना कसैलाई थिएन । महिलाहरु भेला हुने, अनुशासनमा बस्ने, बचत गर्ने व्यापारमा संलग्न हुने आदि सबै कुराको ज्ञान हामीलाई फण्ड बोर्डको आर्थिक सहयोग र बागमती सेवा समाजद्वारा सञ्चालित गढ़िटोल खानेपानी तथा सरसफाइ आयोजनाको जीविका कार्यक्रमबाट प्राप्त भयो ।

कान्ति देवीको करेसाबारी

यस धामीबाबा महिला प्राविधिक समूहमा आवद्ध भएपछि मात्र हामी महिलाहरुलाई केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्न थाल्यो । मैले पनि समूहबाट ऋण लिएर करेसाबारीमा विभिन्न तरकारीहरु उब्जाएको छु । यस बाट बिषादी रहित तरकारी खाने मात्र होइन त्यसलाई बिक्री गरेर केही आम्दानी पनि गर्दै आइरहेकी छु । बजारको मात्र किनेर खाँदा पैसा पनि उत्तिकै लाग्ने र बिरामी भएर औषधी उपचार गर्नुपर्ने अवस्था बारम्बार आउथ्यों भने अहिले ती खर्चहरु बचेका छन् । जीविका कार्यक्रमले गर्दा स्वच्छ पानी पिउनुपर्छ, सफा बस्नुपर्छ र पौष्टिक खाना खानुपर्छ भन्ने चेतनाको विकास भएको छ ।

हामीहरुलाई यत्तिको जागरुक बनाउन मद्दत गर्ने फण्डबोर्ड र बागमती सेवा समाज नेपालका सबैजनालाई हामी समुदायका सम्पूर्ण महिला सदस्यहरु हार्दिक धन्यबाद दिन चाहन्छौं ।’ कान्तिदेवी कुरा थप्दै भन्नुहुन्छ ‘यसै खानेपानी आयोजना क्षेत्रमा गत २०७६ माघ महिनामा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको तर्फबाट स्थलगत भ्रमण निरिक्षण कार्यक्रम भएको थियो ।

सो अवसरमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक चोक प्रसाद धिताल ज्यूले त्यस क्षेत्रका महिलाहरुले गर्नु भएको उत्साहजनक कामको निक्कै प्रशंसा गर्नुभयो । तराईका विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाको भ्रमणमा धेरै दिन देखि हिँड्नु भएको वहाँ हरु खानेपानी आयोजना स्थलमा पुग्दा साँझ परिसकेको थियो ।

जीविका समूहका महिलाहरुको साथमा कोष विकास समितिका कार्यकारी निर्देशक चोक प्रसाद धिताल र स्थलगत भ्रमण निरिक्षण कार्यक्रमका अन्य सदस्यहरु

सो अवसरमा कार्यकारी निर्देशक धितालले महिला दिदी बहिनीहरुले समयको पर्वाह नगरी देखाएको धैर्यता, सौहाद्र्रता र आत्मबिश्वास अनि छोटो समयमा राम जानकी महिला समूहले दुई लाख दुई हजार र श्रीधामी बाबा महिला प्राबिधिक समूहले एक लाख पन्ध्र हजार रकम जम्मा गरेर त्यसको सही उपयोग गरेकोमा यस उल्लेखनिय कार्यको सराहना गर्दै यसरी नै लगनशील भएर जुटिरहन थप हौसला प्रदान गर्नु भयो ।

सहयोगी संस्था बाग्मती सेवा समाज नेपालका वास अफिसर सुमित सिंहको सहयोगमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका जीविका विज्ञ संगीता गिरी दासद्वारा लिखित सफलताको कथा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार