सरसफाइमा नमूना टोल बनाउन कार्ययोजना निर्माण


सर्लाही : सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ८ स्थित मिलिजुली टोलका बासिन्दाहरु आफ्नो टोललाई नमुना सरसफाइ टोल बनाउनका लागि व्यवस्थित कार्ययोजना निर्माण गरेर अगाडि बढेका छन् ।

कार्ययोजनामा सबैले मासिक रुपमा बचत गर्ने, सरसफाइ कोष खडा गर्ने, साप्ताहिक बैठक बस्ने, घरायसी सरसफाइको अनुगमन गर्ने र सरसफाइ नगर्ने घरलाई कडाई गर्ने जस्ता विभिन्न कुराहरु समेटिएको छ ।

हरिवन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगलेको विशेष उपस्थिति एवं मिलिजुली नमुना सरसफाइ टोल मुल समितिका अध्यक्ष अमृत बहादुर वि.क.को अध्यक्षतामा सम्पन्न भेलाले टोललाई सरसफाइयुक्त बनाउन लागी पर्ने निर्णय गरेको हो । “सरसफाइमा ध्यान दिनाले घर र समुदायको सुन्दरता बढ्ने मात्र नभई यसले मानिसको स्वास्थ्यमा पनि प्रत्यक्ष प्रभाव पार्छ ।” वडा अध्यक्ष ढुंगेलले भन्नुभयो “अहिलेको महामारी कोरोना संक्रमणबाट जोगिन पनि सरसफाइको ठूलो महत्व छ ।”

दलित समुदायको बाहुल्यता रहेको मिलिजुली टोलमा जम्मा १७ घरधुरी बासिन्दा रहेको पूर्ण सरसफाइ सहजकर्ता रेखा थापाले बताउनुभयो ।
उक्त भेलाबाट समितिको कार्ययोजना, काम, कर्तव्य र अधिकार तथा आचार संहिता समेत निर्माण गरिएको छ । समितिका अध्यक्ष वि.क.का अनुसार टोललाई नमुना सरसफाइ बनाउनका लागि अभियान यस अघि नै शुरु भइसकेको छ । यसका लागि घर घरमा चाङ निर्माण, चर्पी स्तरीकरण, भान्साको पानी व्यवस्थापन आदि कामहरु द्रुत गतिमा अगाडि बढेका छन् ।

कार्ययोजनामा सबैले मासिक रुपमा बचत गर्ने, सरसफाइ कोष खडा गर्ने, साप्ताहिक बैठक बस्ने, घरायसी सरसफाइको अनुगमन गर्ने र सरसफाइ नगर्ने घरलाई कडाई गर्ने जस्ता विभिन्न कुराहरु समेटिएको अध्यक्ष वि.क.ले जानकारी दिनुभयो । “पूर्ण सरसफाइका सूचकहरु पुरा भएपछि नमुना सरसफाइ टोल घोषणाका लागि पहल गर्नेछौं ।” वहाँले भन्नुभयो ।

मिलिजुली टोलका बासिन्दाहरुले पूर्ण सरसफाइ टोल बनाउन देखाएको तत्परतालाई आत्मसाथ गर्दै सर्लाही जिल्लामा पूर्ण सरसफाइ परियोजना संचालन गरिरहेको बागमती सेवा समाज नेपालले उक्त टोलमा सरसफाइका सामाग्रीहरु यस अघि नै वितरण गरिसकेको जानकारी संस्थाका टिम लिडर गजेन्द्र साहले दिनुभयो ।

टिम लिडर साहका अनुसार बागमती सेवा समाजले युएन ह्याविट्याटको साझेदारीमा सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका, हरिवन नगरपालिका र बसबरिया गाउँपालिकामा पूर्ण सरसफाइको कार्यक्रम सञ्चालन गरिरहेको छ । “परियोजना अन्तर्गत स्थानीय तहसँग मिलेर प्रत्येक वडामा नमूना सरसफाइ टोल र नमूना सरसफाइ विद्यालय बनाउन प्राविधिक रुपमा सहयोग गरिरहेका छौं ।” टिम लिडर साहले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार