
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले उपत्यकाको दुई वटा नगरपालिकाका ५ स्थानमा हात धुने स्टेसन जडान गरेको छ । कोभिड – १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका ५ स्थानमा हात धुने स्टेसन जडान गरिएको कोष विकास समितिका कार्यकारी निर्देशक चोक धितालले जानकारी दिनुभयो । उहाँका अनुसार तारकेश्वर नगरपालिका कार्यालय परिसरमा, स्वास्थ्य केन्द्र धर्मस्थली, तारकेश्ववर नगरपालिकाको वडा नं. ६ वडा कार्यालय तथा स्वास्थ्य शिक्षा विभाग, वडा नं. ८ को वडा कार्यालय तथा स्वास्थ्य केन्द्र र बुढानिलकण्ठ मन्दिर परिसरमा हात धुने स्टेसन जडान गरिएको हो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा सार्वजनिक स्थलहरूमा उपभोक्ताहरूको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै ह्यान्ड वासिङ स्टेसन जडान गरिएको कार्यकारी निर्देशक धितालले बताउनुभयो ।
वासिङ स्टेशनमा हातले छुनु पर्दैन । खुट्टाले एकतिरको प्याडल दबाउँदा तरल साबुन र अर्कोतिरबाट पानी आउने व्यवस्था गरिएको छ । कोषले सार्वजनिक र भिडभाड हुने स्थानहरूमा तत्काल २० वटा ह्याण्ड वासिङ स्टेशनहरू जडान गर्ने योजना बनाएको छ । कोष विकास समितिले उपत्यका बाहिर समेत आयोजना सञ्चालन भएका क्षेत्रमा आवश्यक स्थान पहिचान गरी निकट भविश्यमै यस्तै प्रकृतिको वासिङ स्टेशनहरू जडान गर्ने जनाएको छ ।
फण्ड बोर्डले विगत २५ वर्षदेखि नेपाल सरकार खानेपानी मन्त्रालय अन्तरगत रही विश्व बैंकको ऋण सहयोगमा देशभर खानेपानी आयोजनाहरु सञ्चालन गरिरहेको छ । हात धुने स्टेशन जडान गर्ने कार्यक्रममा कोषका कार्यकारी निर्देशक चोक प्रसाद धिताल, योजना तथा कार्य संचालन महाशाखा प्रमुख विनोेद धिताल, मानव संसाधन विकास महाशाखा प्रमुख टीका अधिकारी, संचार विज्ञ भरत अधिकारी, तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोरा लगायत सहभागी हुनुभएको थियो।



1654 पटक हेरिएको 

