खानेपानी योजनाले पूरा गरिदियो ममताको उद्यमी बन्ने सपना


संगिता गिरी दास : मोरङ्गको वेलवारी नगरपालिका वडा नं. ६ की ममता चौधरी केही समय अगाडिसम्म खेती र घरधन्दाको काममा मात्र सीमित हुनुहुन्थ्यो । खेतीपातीकै काममा व्यस्त रहने चौधरीको भित्री इच्छा भने आत्मनिर्भर वन्ने र त्यसकोे लागि उद्यमी बन्न पाए हुन्थ्यो भन्ने थियो । यसका लागि उहाँले नगरपालिकाले विभिन्न समूह र व्यक्तिहरुलार्ई दिईने तालिम कार्यक्रमहरुमा सामेल हुने कोशिश पनि गर्नुभयो । तर विभिन्न कारणले त्यस्ता तालिम कार्यक्रमहरुमा छनौटमा नपरेको उहाँको गुनासो छ । ‘मैले उद्यमी बन्नु भन्दा अगाडि विभिन्न तालिममा भाग लिन धेरै प्रयास गरें, तर छनौटमा पर्न सकिन, जसले गर्दा उद्यमी बन्ने मेरो चाहना अधुरै थियो ।’ उहाँले भन्नुभयो ।

तर उहाँको उद्यमी बन्ने सोच अहिले यथार्थमै परिणत भएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक तथा सहयोगी संस्था सामुदायिक समाज उत्थान केन्द्र (C.S.D.C) को व्यवस्थापन र प्राविधिक सहयोगमा सञ्चालित सोमबारे खानेपानी तथा सरसफाइ आयोजनाले उहाँको उद्यमी बन्ने लक्ष्य पूरा गरेको हो ।

खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गतको जीविका कार्यक्रमले सुरुमा चन्द्रमा आमा वच्चा धारा समूह गठन गर्‍यो । सोही आमा बच्चा धारा समूहको स्वयंसेवकको रुपमा रही काम गर्नुभयो चौधरीले । उहाँ अहिले जीविका कार्यक्रम अन्तर्गतको सोमबारे जीविका समूहमा सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।

फण्ड बोर्ड बाट प्राप्त २० हजार रुपैयाँ रकमबाट शुरु भएको जीविका समुहको बचत तथा ऋण कार्यक्रममा अहिले १ लाख ६ हजार ७५० रुपैयाँ पुगिसकेको छ भने जम्मा भएको बचत रकम, मात्र २ प्रतिशत व्याजमा समुहका सदस्यहरु बीच घुम्ती कोषको रुपमा परिचालन हुदैं आईरहेको छ ।

 

अन्य विभिन्न सामाजिक कार्यक्रमहरुमा समेत स्वयं सेवकको रुपमा काम गर्दै आउनुभएकी ममता चौधरीलाई सहयोगी संस्था सामुदायिक समाज उत्थान केन्द्र (C.S.D.C) ले दुई दिने व्यवसायिक वाख्रा पालन तालिम दिने प्रदान गर्‍योे । संस्थाले दिएको दुई दिने व्यवहारिक र प्रयोगात्मक व्यवसायिक तालिमले ममता चौधरीलाई वाख्रापालनको लागि आवश्यक पर्ने सामग्री, खोर निर्माण, श्रोत साधन व्यवस्थापन गर्ने तरिका, दाना–पानी र रोग व्याधी सम्वन्धी सीप प्रदान गर्‍यो जसका कारण उहाँ बाख्रापालन गर्न सक्षम हुनुभयो । चौधरी भन्नुहुन्छ “म अत्याधिक खुशी छु किनकि मैले लिएको वाख्रापालन तालिम पछि आफैले आत्मविश्वासका साथ वाख्रापालन व्यवसाय गर्न सकेको छु । तालिम पछि यो काम गर्न धेरै सजिलो भएको छ । मलाई तालिमको लागि सहयोग लगायत जीविका कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग गर्ने सबै संस्थाहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।”

पहिले मात्र २ वटा वाख्रावाट सुरु गरेको उहाँको लघु व्यवसायमा अहिले माउ, खसी, पाठापाठी गरी जम्मा १५ वटा भएका छन । व्यक्तिगत प्रयासले मात्र सञ्चालन गरेको व्यवसायमा अहिले परिवारका अन्य सदस्यहरुबाट पनि राम्रो सहयोग मिलेको चौधरीले बताउनुभयो । भविश्यमा यस व्यवसायलाई परिमार्जन गर्दै लैजाने र एउटा ठूलो फर्मको रुपमा विस्तार गर्ने धोको ममताको छ । उहाँ आफ्नो व्यवसायको बजार राम्रो भएकाले उत्साहित र आशावादी हुनुहुन्छ र खुशी पनि ।

सहयोगी संस्था सामुदायिक समाज उत्थान केन्द्र (C.S.D.C) का जय कुमार सिंह फण्ड बोर्डद्धारा सञ्चालित जीविका कार्यक्रमले समुदायमा खानेपानी तथा सरसफाइ सँगसँगै महिलाहरुलाई व्यक्तिगत, सामाजिक र आर्थिक रुपले सशक्त बनाउन सकारात्मक र महत्वपुर्ण भूमिका खेलेको र ममता चौधरी जस्ता महिलाले समुदायका अन्य महिलालाई पनि प्रेरणा मिलेको बताउनुहुन्छ ।

लेखक, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमा जीविका विज्ञ हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार