
सर्लाही : सर्लाहीमा धमाधम वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिहरु गठन भइरहेका छन् । वडालाई नमुना सरसफाइयुक्त बनाउन र वडाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण गरी कार्यान्वयन गर्न धमाधम वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिहरु गठन गर्न थालिएको हो ।
सर्लाही जिल्लाको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बसबरिया गाउँपालिकामा वडा स्तरीय समितिहरु गठन भइरहेको टिम लिडर गजेन्द्र साहले जानकारी दिनुभयो । यसका साथै वडा स्तरमा वास योजना निर्माण कार्यदल, चर्पी सुधार कार्यदल, महिनावारी स्वच्छता व्यवस्थापन कार्यदल आदि कार्यदल गठन गरिएको छ भने सामाजिक दुरी कायम राख्दै वडास्तरमा पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यलाई पनि तीब्रता दिइएको छ ।
“पूर्ण सरसफाइको बारेमा बुझी सकेपछि अहिले हामीले प्राथमिकताका साथ काम अगाडि बढाएका छौं ।” हरिवन नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञविनोद ढुंगेलले भन्नुभयो “वडालाई ४ वटा क्षेत्रमा विभाजन गरेर एक/एक जना वडा सदस्यलाई संयोजक तोकेर वडाभरि एकैसाथ सरसफाइका गतिविधि सञ्चालन गर्ने योजना बनाएका छौं ।”

वडा स्तरको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले वडालाई पूर्ण सरसफाइ बनाउनका लागि आवश्यक सूचकहरु पुरा गर्ने, चर्पी नभएका घरमा चर्पी निर्माण गर्ने र चर्पीको स्तरीकरण गर्ने कुरामा प्रतिवद्धता जनाएका छन् । “सरसफाइ त हाम्रो लागि आवश्यक कुरा हो, यसबाट कोरोना लगायतका धेरै रोगबाट बच्न सकिन्छ ।” अभिमुखीकरण कार्यक्रममा सहभागी बसवरिया गाउँपालिका वडा नं. १ स्थित मानपुर स्वास्थ्य चौकी इन्चार्ज विनोद दासले भन्नुभयो “घर आँगन, टोल वस्ती र सार्वजनिक ठाउँ सफा सुग्घर राखेर रोग लाग्न नदिने र उपचारमा खर्च हुने पैसाको बचत गर्नु अनिवार्य आवश्यक बनिसकेको छ ।”
खुला दिसामुक्त स्थान घोषणा गर्दा जस्तै पूर्ण सरसफाइलाई पनि एउटा सामाजिक अभियानकै रुपमा अगाडि बढाउनु पर्ने आवश्यकता वडास्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले औल्याएका छन् । “खुला दिसामुक्त अभियान शुरु गर्दा पनि धेरै चुनौतिहरु आइपरेका थिए तर अन्तिममा सफल भयौं ।” इश्वरपुर नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रुपबहादुर आले मगरले भन्नुभयो “पूर्ण सरसफाइलाई पनि सबै पक्ष, सरकार, स्थानीय तह, सर्वसाधारण नागरिक मिलेर अगाडि बढाउनुपर्छ, आ–आफ्नो समुदायलाई सफा, स्वच्छ र हराभरा बनाउनु पर्छ ।”
हाल बागमती सेवा समाज नेपालले ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याविट्याटको सहयोगमा सर्लाही जिल्लाको ३ वटा स्थानीय तहमा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । “३ वटा स्थानीय तहको १६ वटा वडामा वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समिति गठन भई पहिलो चरणको अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भइसकेको छ ।” संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले भन्नुभयो “अब ३ वटै पालिका र वडाको खानेपानी, सरसफाइ र स्वच्छता (वास) योजना निर्माण कार्य पनि अगाडि बढाउने छौं, जसका लागि स्थानीय तहसँग सम्झौता पनि सम्पन्न भइसकेको छ ।”


1392 पटक हेरिएको 

