
सर्लाही : सन् २०३० सम्म सबै स्थानीय तहलाई पूर्ण सरसफाइ उन्मुख बनाउने नेपाल सरकारको लक्ष्यलाई मुर्तरुप दिनका लागि सर्लाही जिल्लाको बसवरिया गाउँपालिकाले प्रतिवद्धता व्यक्त गर्दै योजना बनाएर अगाडि बढ्ने भएको छ ।
बागमती सेवा समाज नेपालले ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याविट्याटको सहयोगमा संचालन गरिरहेको पूर्ण सरसफाई परियोजनाको सहजीकरणमा आज असार २२ गते बसवरिया गाउँपालिकामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राम अयोध्या यादवले सरसफाई र स्वास्थ्य नागरिकको मौलिक हक अधिकार भएकोले गाउँपालिकाले पनि यसका लागि कुनै कसर बाँकी नराख्ने कुरा बताउनुभयो ।
“खुला दिसामुक्त घोषणा अभियान जस्तै पूर्ण सरसफाई अभियानलाई पनि सबै पक्ष मिलेर सामाजिक अभियानका रुपमा अगाडि बढाउनु आवश्यक छ ।” अध्यक्ष यादवले भन्नुभयो “गाउँपालिका क्षेत्रमा सरसफाईका गतिविधि संचालन गर्न र नागरिकलाई रोगमुक्त राख्नका लागि पालिकाबाट प्राथमिकताका साथ बजेट विनियोजन गरी कार्यक्रम अघि बढाइनेछ ।”
उक्त कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रिना कुमारी यादवले सरसफाई र स्वास्थ्यका कुरा महिलाहरुको लागि बढी चासोको विषय भएको बताउनुभयो । “घरभित्रको व्यक्तिगत र घरायसी सरसफाईमा बढी जसो महिलाहरु नै संलग्न हुने गरेका छन् ।” उपाध्यक्ष यादवले भन्नुभयो “घर, गाउँ सफा हुँदा सबैलाई फाइदा हुन्छ,, मान्छे पनि निरोगी हुन्छन् ।”
सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष राम अयोध्या यादवको अध्यक्षतामा १५ सदस्सीय बसवरिया गाउँपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता (वास) समन्वय समिति समेत पुनःर्गठन गरिएको छ ।
यसैगरी वडाध्यक्ष लालचन्द्र गिरीको संयोजकत्वमा खानेपानी, सरसफाई तथा स्वच्छता योजना निर्माण कार्यदल, वडाध्यक्ष शिवेन्द्र मोहन यादवको संयोजकत्वमा चर्पी सुधार कार्यदल, वडाध्यक्ष कमल साहको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन कार्यदल, वडाध्यक्ष सरोज यादवको संयोजकत्वमा वातावरणीय सरसफाई कार्यदल, अन्जु देवी पासवानको संयोजकत्वमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यदल र सरोज यादवको संयोजकत्वमा विपद् व्यवस्थापन कार्यदल समेत गठन गरिएको छ ।

समन्वय समितिको बैठक मासिक रुपमा बसी सरसफाईसँग सम्बन्धित योजना निर्माण गर्ने र लागु गर्ने पूर्ण सरसफाई कार्यक्रमका पालिका संयोजक रामलखन मुखियाले जानकारी दिनुभयो । एकदिने सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण पूर्ण सरसफाई कार्यक्रम संयोजक कुमार भण्डारीले गर्नुभएको थियो ।
सोही अवसरमा गाउँपालिका क्षेत्रभित्र खाद्य पदार्थको गुणस्तर कायम गर्न समेत अनुगमन गर्नु आवश्यक भएकोले गाउँपालिका अध्यक्ष राम अयोध्या यादवको संयोजकत्वमा ५ सदस्सीय अनुगमन समिति गठन गरिएको छ । समितिले खाद्य पदार्थ गुणस्तर अनुगमन निर्देशिका तयार गरी नियमित रुपमा अनुगमन गर्ने निर्णय गरिएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा बसवरिया गाउँपालिकाको ५ वर्षे खानेपानी, सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि प्राविधिक सहजीकरणको जिम्मा बागमती सेवा समाजलाई दिने निर्णय समेत गरिएको छ भने पूर्ण सरसफाई श्रोत केन्द्र स्थापनाका लागि गाउँपालिकाले एउटा कोठा उपलब्ध गराई श्रोत केन्द्र स्थापना गर्ने निर्णय समेत गरिएको कुरा पालिका संयोजक मुखियाले जानकारी दिनुभयो ।


2031 पटक हेरिएको 

