काठमाडौ : सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै मन्त्रालयको ट्रिटमेन्ट प्लान्ट अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताउनुभयो । ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरी काम हुनेछ । टुकुचा खोलाको दायाँ बायाा किनारालाई व्यवस्थित बनाइनेछ उहाँले भन्नुभयो ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बायाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताउनुभयो । उहाँले एडीबीको सहयोगमा डीपीआर तयार गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो।
टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन् । खोलामा बढ्दै गएको प्रदूषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन् । कसैलाई पनि असर नगर्ने गरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफुहरुको पूर्ण सहयोग रहने स्थानीय मधुसुदन तण्डुकारले बताउनुभयो ।
खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीय सँगको छलफलपछि डीपीआरलाई अन्तिम रुप दिइने भएको छ । सुन्दर सहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालीन योजना सहित काम गरिरहेको आयोजना प्रमुख ढकालले बताउनुभयो ।