काठमाडौ : कोरोना भाइरस महामारीबाट जोगिनका लागि साबुन पानीले हात धुनुपर्दछ भन्यो, तपाई हामीले त्यसै गर्यौं । मास्क लगाउनुपर्छ, हाच्छुँ गर्दा कुहिनाले नाकमुख छोप्नुपर्दछ भन्ने सन्देश पायौं, तपाई हामीले सोही कुरालाई अनुशरण गर्यौं । भीडभाडमा जानु हुँदैन, घरमै बस्नुपर्दछ भन्ने बुझ्यौं हामीले सो नियमको पनि पालना गर्यौं ।
तर के यत्ति गर्दैमा तपाई हामी कोरोना भाईरस संक्रमणको जोखिमबाट टाढा छौं त ? साबुन पानीले हात धुँदैमा, मास्क लगाउँदैमा, घरभित्र बस्दैमा कोरोना भाइरसले आक्रमण गर्दैन भन्दै ढुक्क भएर बस्यौं भने त्यो गलत हुन सक्छ । कोरोना भाइरसबाट टाढै रहन गर्नुपर्ने अति महत्वपूर्ण तर चर्चा कम हुने गरेको अर्को काम हो, सतहको निसंक्रमण ।
सतहको निसंक्रमण किन त ? वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की असिस्टेन्ट वास ट्रेनिङ अफिसर सबुना गमाल भन्नुहुन्छ । हाँच्छु गर्दा निस्कने थुकको छिटामा मात्र नभई संक्रमित व्यक्तिले टेकेको भुँई, छोएको भाँडाकुँडा, ढोका ह्याण्डल, प्रयोग गर्ने शौचालय आदि ठाउँहरु, संक्रमित व्यक्तिले प्रयोग गरेका सामानहरु, संक्रमित व्यक्ति बसेका बेन्च, सोफा आदिमा पनि कोरोना भाइरस टाँसिएको हुनसक्ने र त्यस्ता सामानको सम्पर्कमा पुग्दा अरुलाई समेत सर्न सक्ने हुनाले ती सबै बस्तुहरुको निसंक्रमण गर्नुपर्दछ ।
एक अध्ययन अनुसार तामाको भाँडामा ३ घण्टासम्म कोरोना भाइरस जीवित रहन सक्छ । यस्तै टिस्यू पेपरमा ३ घण्टा, स्टिलको दराज तथा भाँडाकुँडामा २ देखि ३ दिनसम्म, प्लाष्टिकमा ३ दिन, सिसाको गिलासमा ४ दिन र पैसामा पनि चार दिनसम्म जीवित रहन्छ ।
सतहको निसंक्रमण कसरी गर्ने त ?
असिस्टेन्ट वास ट्रेनिङ अफिसर सबुना गमाल भन्नुहुन्छ ‘बजारमा अनेकौं प्रकारका क्लोरिन झोलहरु पाइन्छन्, तर तपाई हाम्रो लागि सरल, किफायती र व्यवहारिक पनि हुने चाहिं ब्लिचङ पाउडर हो । जसलाई तपाई हामीले घरमै बनाएर प्रयोग गर्न सक्छौं । उहाँका अनुसार ब्लिचिङ पाउडरमा २५ प्रतिशतसम्म क्लोरिनको मात्रा हुन्छ । ब्लिचिङ पाउडरलाई नै पानीको मात्रा मिलाएर क्लोरिन झोल बनाउने र भुँई तथा अन्य ठाउँको निसंक्रमण गर्न सकिन्छ ।
क्लोरिन झोल कसरी बनाउने ?

असिस्टेन्ट वास ट्रेनिङ अफिसर गमालका अनुसार क्लोरिन झोल बनाउनका लागि सुरुमा ब्लिचिङ पाउडर नै आवश्यक पर्छ । ब्लिचिङ पाउडर औषधी पसलहरुमा किन्न पाईन्छ । ब्लिचिङ पाउडर किनेर ल्याएपछि एक लिटर सफा पानी, पाउडर घोल्नका लागि प्लाष्टिकको जग, प्लाष्टिककै चम्चा, काठको सफा लठ्ठी,र राम्रो सँग बिर्को लाग्ने रंगीन ग्यालिन, ग्लोब्स, चश्मा र मास्कको व्यवस्था गर्नुहोस् ।
अब तपाईले ४० ग्राम (५ चिया चम्चा जत्ति) ब्लिचिङ पाउडर प्लाष्टिकको जगमा हाल्नुहोस् र एक लिटर पानी मध्ये थोरै पानी हालेर ब्लिचिङ पाउडरको पेस्ट बनाउनुहोस् । पेष्ट तयार भइसकेपछि बाँकी एक लिटर पानी हाल्नुहोस् र बिस्तारै चलाएर पाँच मिनेट थिग्राउन दिनुहोस् । त्यसपछि नहल्लाईकन रंगीन ग्यालिनमा हाल्नुहोस् र राम्रो सँग बिर्को बन्द गरेर घामको किरण नपर्ने ठाउँमा राख्नुहोस् ।
यसरी बनाएको क्लोरिन झोल १ प्रतिशतको हुन्छ । अर्थात यो निक्कै कडा हुन्छ । अब तपाई हामीले थाहा पाउनुपर्ने कुरा चाहिं कस्तो वस्तुका लागि कति प्रतिशत क्लोरिन झोलको प्रयोग गर्ने र त्यो कसरी बनाउने भन्ने हो । एन्फोकी असिस्टेन्ट वास ट्रेनिङ अफिसर गमालका अनुसार तरकारीमा नुन कडा भयो भने पानी थपेर आफूलाई ठिक्क हुने बनाए झै तयार भएको १ प्रतिशत क्लोरिन झोलबाटै आवश्यकता अनुसारको क्लोरिन झोल बनाउन सकिन्छ । तर तरकारीमा पानी थपे जसरी अनुमानको आधारमा चाहिं होइन । यसको निश्चित फर्मूला छ ।
जसअनुसार तयार भईसकेको १ प्रतिशत क्लोरिन झोललाई अब तपाईले बनाउन चाहेको मात्राले भाग गरी १ घटाउने । त्यसबाट थप गर्नुपर्ने पानीको मात्रा निस्कन्छ ।
मानौं तपाईले बनाउन चाहेको ०.१ प्रतिशत क्लोरिन झोल हो भने, १ प्रतिशत क्लोरिन झोललाई ०.१ प्रतिशतले भाग गरी १ घटाउनुहोस् । १ प्रतिशत क्लोरिन झोललाई ०.१ ले भाग गर्दा १० आउँछ । १० मा १ घटाउँदा ९ हुन्छ । यो भनेको १ भाग १ प्रतिशतको क्लोरिन झोलमा ९ भाग पानी मिसाउँदा ०.१ प्रतिशतको क्लोरिन झोल निर्माण हुन्छ भन्ने हो । तपाईले एवं तरिकाले ०.०५ प्रतिशत, ०.५ प्रतिशत क्लोरिन झोल पनि सजिलै तयार गर्न सक्नुहुन्छ ।
कस्तो निसंक्रमण गर्न कति प्रतिशतको क्लोरिन झोल ?
♦ ०.१ प्रतिशत क्लोरिन झोलले भुँइ, धारा, ढोकाको ह्याण्डल लगायत निसंक्रमण गर्ने र करिब एक मिनेटसम्म रहन दिने ।
♦ कोभिड – १९ रोकथाम तथा नियन्त्रणका लागि खटिने डाक्टर तथा सफाइकर्मीहरुले लगाउने लुगा ०.०५ प्रतिशतको क्लोरिन झोलमा ३० मिनेटसम्म डुबाएर राख्नुपर्दछ ।
♦ सतहमा रगत नै देखिएको अवस्थामा, ग्लोब्स तथा सबैले प्रयोग गर्ने साझा शौचालयको निसंक्रमण गर्न ०.५ प्रतिशतको क्लोरिन झोल बनाई निसंक्रमण गर्नुपर्दछ ।
यताको फोहोर उता र उताको फोहोर यता स्थानान्तरण नहोस् भन्नाका लागि निम्न कलर प्रयोग गर्न सकिन्छ ।



2902 पटक हेरिएको 

