पूर्ण सरसफाइ गुरुयोजना २०७७ बन्ने

काठमाडौ : दिगो विकास लक्ष्य हासिल हुने गरी पूर्ण सरसफाइका क्रियाकलाप सञ्चालन गर्न पूर्ण सरसफाइ गुरुयोजना २०७७ बनाईने भएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको अध्यक्षतामा हालै सम्पन्न बैठकले सरसफाइ गुरुयोजना २०६८ परिमार्जन तथा पुनर्लेखन गरी सो मार्फत दिगो विकास लक्ष्य सहित पूर्ण सरसफाइका क्रियाकलाप सञ्चालन गर्न पूर्ण सरसफाइ गुरुयोजना २०७७ तयार गर्ने निर्णय गरिएको हो ।

यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागमा सचिवालय स्थापना गर्ने र सचिवालय एवं विभाग मार्फत आवश्यक पर्ने सचिवालय टिम तथा परामर्शदाता टिम गठन तथा छनौट गरी परिचालन गर्ने निर्णय गरिएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रभात श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सदस्य सचिव श्रेष्ठले खुला दिसामुक्त नेपाल घोषणा पश्चात यसको दिगोपना र सरसफाइका अन्य क्रियाकलापहरुको प्रबद्र्धन गर्नका लागि खानेपानी तथा ढल व्यवस्थपन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाले पूर्ण सरसफाइ गुरुयोजना तयारीका सम्बन्धमा गरिरहेको कामका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

बैठकले सार्वजनिक शौचालय डिजाइन तथा व्यवस्थापन निर्देशिकाको प्रारम्भिक खाका तयार भएपछि छलफल र सुझाव संकलनका लागि सरोकारवालाहरुलाई उपलब्ध गराउने निर्णय समेत गरेको छ । यस्तै साबुन पानीले हात धुने परम्परागत प्रक्रिया र शैलीलाई कोभिड १९ संक्रमणको सन्दर्भमा परिमार्जन गरी सबै संंवेदनशील घडीमा साबुन पानीले हात धुने सन्देशहरुको निर्माण, प्रचारप्रसार र अभ्यास गराउने कार्यको आवश्यक तयारी वास क्लष्टर, कार्यदल, सचिवालय लगायतका सरोकारवालाहरुद्वारा तयार गरी सो को जानकारी तीनै तहका सरकार, मातहतका निकाय, खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिहरु, सामुदायिक परिचाल र स्वयंसेवकसम्म पुर्‍याउने निर्णय गरिएको छ ।

नेपालमा सरसफाइ गुरुयोजना २०६८ जारी भएपछि त्यसैको जगमा गत साल असोज १३ गते देशलाई नै खुलादिसामुक्त तथा पूर्ण सरसफाइ तर्फ अग्रसर नेपाल घोषणा गरिएको थियो ।

पूर्ण सरसफाइ गुरुयोजना निर्माण गर्ने उद्देश्यले यस अघि नै सातै वटा प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला गरी राष्ट्रिय स्तरमा नीति निर्मातासँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उक्त कार्यशाला अहिलेसम्म पनि हुन सकेको छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार