
काठमाडौ : सामान्य परिस्थितिमा हात धुनुपर्ने अवस्थाबारे छिटो तरिकाले बुझ्न बुझाउन ‘अती’ र ‘पती’ को प्रयोग गरिन्थ्यो । अर्थात अती = अगाडि तीन र पती = पछाडि तीन । साबुन पानीले हात धुनुपर्ने अगाडिको तीन अवस्था भनेको खाना पकाउनु अघि, खाना खानु अघि र बच्चालाई खाना खुवाउनु अघि । यस्तै चर्पीमा गएपछि, बच्चाको दिसा धोएपछि र फोहोरमैला छोेएपछि हात धुनुपर्ने पछाडिको तीन अवस्था हुन् ।
तर कोरोना भाइरसको संक्रमणबाट बच्न ‘अती’ र ‘पती’ ले मात्र पर्याप्त नहुने भएको छ । अती र पतीको अवस्थालाई यथावत राखी हात धुनुपर्ने अतिरिक्त अवस्थालाई समेत थप गर्नुपर्ने सरसफाइ अभियन्ताहरु बताउँछन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल कोरोना संक्रमणबाट जोगिन सामान्य अवस्थामा जस्तो खाना पकाउनु, खानु र खुवाउनु अघि र दिसा गरेपछि, बच्चाको दिसा धोएपछि र फोहोर छोएपछि मात्र नपुग्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘आफ्नै हात भएपनि शरिरका अंगहरु छोएपछि, अरु मानिसले समेत छोइरहने जस्तै : रिमोट, टेबल, ढोका छोए पछि पनि साबुन पानीले हात धुनुपर्छ ।’
कोरोना (कोभिड – १९) महामारीले हात धुने अवस्था नै परिवर्तन गरिदिएको सरसफाइको क्षेत्रमा क्रियाशील अभियन्ताको तर्क छ । कोरोना संक्रमणबाट बच्न कस्तो अवस्थामा हात धुने त ? वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की तालिम अधिकृत शोभा राना मगर भन्नुहुन्छ ‘खाना पकाउनु अघि, खाना खानु अघि, खाना खुवाउनु अघि त धुनैपर्छ । यस्तै चर्पी प्रयोग गरिसकेपछि, बच्चाको दिसा धोएपछि, जनावर वा जनावरको मलमूत्र र फोहोर छोएपछि, खोकी सकेपछि वा हाँच्छु गरिसकेपछि पनि साबुन पानीले हात धुनुपर्छ । बिरामीको स्याहार गर्नुअघि र गरिसकेपछि, बाहिरबाट आएपछि, घर वा कार्यालय प्रवेश गर्नु अघि तथा धेरै व्यक्तिहरुले छुन सक्ने वस्तु छोएपछि नबिर्सिकन साबुन पानीले हात धुनुपर्छ ।’ उहाँका अनुसार जनावर वा जनावरको मलमूत्र र फोहोर छोएपछि तत्काल साबुन पानीले हात धुँदा विभिन्न माध्यमबाट शरिरमा प्रवेश हुन पाउँदैन । बिरामीको स्याहार गर्नु अघि हात धुँदा कथंकदाचित कुनै पनि भाइरसको सम्पर्कमा पुगिहाले पनि बिरामीमा फैलिन पाउँदैन । बिरामीको स्याहार गरिसकेपछि हात धुँदा बिरामी मार्फत कुनै भाइरस सर्ने जोखिमलाई पनि यसले कम गर्छ ।
कोरोना तथा अन्य भाइरस फैलिन नदिन साबुन पानीले हात धुँदा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । साबुन पानीले हात धुने अभियान नेपालमा बर्षौदेखि चल्दै आएको भएपनि कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि साबुन पानीले हात धुने बानी बस्न थालेको छ । यद्यपि अझै नेपालको शहरी क्षेत्रमा बसोबास गर्ने ३३ प्रतिशत वा १० मध्ये ३ जना मानिसहरूमा साबुनपानीले हात धुने सुविधाको पहुँच छैन । स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोभिड–१९ तथा अन्य संक्रमणबाट जोगिन तथा थप संक्रमण फैलिन नदिन पनि हात धुनु अत्यन्तै महत्त्वपूर्ण रहेको युनिसेफको दाबी छ ।
कोरोना भाइरस प्रभावित देशहरूका स्वास्थ्य सेवा प्रणालीमा यसको असर बढ्दै गइरहेको बेला श्वासप्रश्वास तथा झाडापखालाका सामान्य रोगहरूबाट जोगिन पनि साबुन पानीले हात धुनु एकदमै महत्त्वपूर्ण भएको युनिसेफको भनाइ छ । युनिसेफका अनुसार संसारको ४० प्रतिशत जनसंख्या, अर्थात ३ अर्ब मानिसको घरमा साबुन पानीले हात धुने सुविधा छैन ।


2851 पटक हेरिएको 

