
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठले पूर्ण सरसफाइ र सुरक्षित तथा व्यवस्थित सरसफाइका लागि सबै जिम्मेवार निकाय क्रियाशील हुनुपर्ने बताउनुभएको छ । सुरक्षित तथा व्यवस्थित सरसफाइका अन्तरनिहित बिषयमा पत्रकारहरुका लागि आयोजित भर्चुअल तालिमको उदघाटन गर्दै महानिर्देशक श्रेष्ठले खुला दिसामुक्त अभियानमा जस्तै पूर्ण सरसफाइ र सुरक्षित तथा व्यवस्थित सरसफाइ प्राप्तिका लागि पनि सबै सरोकारवाला क्षेत्रले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । महानिर्देशक श्रेष्ठले भन्नुभयो ‘हामीले अहिले खुला दिसामुक्त घोषणा पश्चात पूर्ण सरसफाइ प्राप्तिका लागि अग्रसर छौं । यो तीन तहको सरकारको समन्वयबाट मात्र प्राप्त गर्न सकिने कुरा हो । अबका दिनमा हामी सबैले खुला दिसामुक्त अवस्थाको दिगोपना, पूर्ण सरसफाइ उन्मुख गाउँ/नगर घोषणाका लागि सञ्चालन गर्नुपर्ने क्रियाकलापहरु सञ्चालन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
महानिर्देशक श्रेष्ठले तीनै तहको सरकारको अधिकार संविधानले किटान गरिदिएकाले कसको जिम्मेवारी के हुने भन्ने प्रष्ट रहेको र मिडियाको तर्फबाट सबै तहको सरकार र जिम्मेवार निकायलाई सजग गराउने काममा प्रमुख भूमिका हुने बताउनुभयो । ‘खुला दिसामुक्त घोषणा गर्ने क्रममा पनि मिडियाको भूमिका एकदम महत्वपूर्ण थियो, पूर्ण सरसफाइ प्राप्तिमा पनि यहाँहरुको भूमिका एकदमै जरुरी छ । तालिमबाट मिडियाकर्मीहरुले सरसफाइ क्षेत्रको मुद्दाहरुको पहिचान गर्न सजिलो हुने र भावी दिनमा कलम चलाउन सजिलो हुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।’ उहाँले भन्नुभयो ।
तालिममा वाटर एड नेपालका राष्ट्रिय निर्देशक तृप्ति राईले वाटर एडले सुरक्षित खानेपानी, सुरक्षित र व्यवस्थित सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम गर्दै आएको जानकारी गराउनुभयो । उहाँले सरसफाइ क्षेत्रको अबको आवश्यकता दिसाजन्य लेदोको व्यवस्थापन प्रमुख चुनौती रहेकाले सबैको ध्यान त्यतातिर केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘हामीले सबैको घरमा चर्पी त पुर्यायौं, तर ती चर्पीमा गरिएको दिसा ढल मार्फत खोलानालामा मिसाईरहेका छौं, ढलमा जडान नभएका चर्पीको दिसा पनि सेफ्टी ट्याङ्की खाली गरेर खुला ठाउँ वा खोलानालामै मिसाईरहेका छौं । त्यसैले अबको आवश्यकता दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन नै हो ।’ उहाँले भन्नुभयो ।
तालिममा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्यको क्षेत्रमा क्रियाशील सातै वटा प्रदेशका ३० भन्दा बढी पत्रकारहरुको सहभागिता छ । चार दिनसम्म चल्ने तालिमको आयोजना वाटर एड नेपालको सहयोगमा मित्र समाजले गरेको हो ।


1032 पटक हेरिएको 

