
सर्लाही : सर्लाहीमा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बालिकाको सुरक्षा र यौन तथा प्रजनन अधिकार, महिनावारी स्वच्छता आदि विषयमा किशोरीहरुसँग अन्तरसंवाद गरेको छ । बागमती सेवा समाज नेपाल सर्लाहीका कार्यकारी निर्देशक निरज भण्डारीका अनुसार सहयोगी संस्था आड्रा नेपाल, युएन ह्याविटैट, अक्सफाम, वल्र्डभिजनसँगको साझेदारीमा सर्लाही जिल्लाका विभिन्न स्थानीय तहहरुमा सो अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा हाल देशमा बढ्दै गइरहेको हत्या, हिंसा, बलात्कारका घटनाका कारण बालिका र महिलाहरु असुरक्षित बन्दै गइरहेको तथ्य औंल्याइएको थियो भने यस प्रकारका घटनाहरुबाट जोगिन स्वयं बालिका र महिलाहरुले के गर्नु पर्छ, सरोकारवालाहरुको भूमिका के हुन सक्छ आदि विषयमा छलफल गरिएको थियो । यसैगरी महिनावारी स्वच्छता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा समेत छलफल गरिएको थियो ।

अन्तरसंवादमा सहभागी हरिवन नगरपालिका वडा नं. ११ स्थित मुस्लिम टोलकी १७ वर्षीया किशोरी करिना खातुनले किशोरी र महिलाहरुको सुरक्षाको लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको कुरा औंल्याउनुभयो । करिनाले भन्नुभयो “घरबाहिर मात्रै नभई घरभित्र पनि अहिले बालिकाहरु असुरक्षित बनिरहेका छन्, यसतर्फ सबै सरोकारवालाको समेत ध्यान जानु आवश्यक छ ।” यसैगरी हरिवन नगरपालिका वडा नं. ८ स्थित नयाँ वस्तीकी अर्की किशोरी खुस्वु वि.क.ले पनि बालिकाहरुको सुरक्षा अहिलेको चुनौतिको विषय रहेको बताउँदै यसले किशोरीहरुको चौतर्फी विकासमा बाधा पु¥याउने बताउनुभयो ।
यसैगरी सोही अवसर पारेर अक्सफामसँगको साझेदारीमा किशोरी र महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य र महिनावारी स्वच्छता व्यवस्थापनका लागि सर्लाही जिल्लाका हरिपुर, हरिवन, इश्वरपुर, बसवरिया, लालबन्दी, कविलाशी, चन्द्रनगर लगायत्का स्थानीय तहमा ५ हजारभन्दा बढी स्वच्छता सामाग्री (हाइजिन किट, डिग्नीटी किट) हरु वितरण गरिएको कुरा कार्यकारी निर्देशक भण्डारीले जानकारी दिनुभयो ।



1722 पटक हेरिएको 

