
काठमाडौ : आज अक्टोबर १५ तारिख अर्थात विश्व हात धुने दिवस । सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो । हात सफा नभएका कारण विश्वभरि नै बिभिन्न संक्रामक रोगहरुले लाखौंको ज्यान लिने गरेको छ । झनै कोरोना महामारी सँगै हात धुनुको औचित्य बढ्दै गएको छ । कोरोना संक्रमणबाट बच्न बेला बेलामा साबुन पानीले मिचीमिची हात धोइरहनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।
हात धुने काम खोप लगाउनु जस्तै भएकाले नियमपूर्वक साबुन पानीले हात धोएमा कोरोना भाइरस लगायत विभिन्न रोगहरुबाट बच्न सकिने विभिन्न अध्ययनले पुष्टि गरेको छ । विभिन्न अध्ययन अनुसार विश्वमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको अभावमा ५ वर्ष मुनिका १४ लाख बालबालिकाको झाडापखाला र निमोनिया जस्ता रोगका कारण मृत्यु हुने गरेको छ । हात धुने बानीलाई नियमित गराउन सके करोडौंको संख्यामा जीवन बचाउन सकिन्छ ।
खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग गरेपछि र अन्य आवश्यक अवस्थामा बच्चैदेखि हात धुने बानी बसाल्न जरुरी छ । झनै कोरोना जस्तो महामारी बाट बच्न विभिन्न वस्तु छुना साथ वा बिरामीको स्याहार तथा अन्य व्यक्तिको सम्पर्कबाट छुट्ने वित्तिकै हात धुनुपर्दछ ।
विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुनपानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन ।
हात धुने तरिका

♦ सर्वप्रथम सफा पानीले हात भिजाउने ।
♦ हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड फिंच आउने गरी माड्ने वा साबुन पानीले मिच्ने ।
♦ दुबै हत्केलालाई एकआपसमा दलेर औंलाका कापसम्म साबुन पूर्याउने
♦ यसरी धुँदा हातको पछाडि, नङको मुनि, औंलाका काप र नाडी सम्म मिच्ने
♦ यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनिका सुष्म जीवाणुहरु पनि पखालेर सफा हुनेछन् ।
♦ धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्नु पर्छ ।
♦ सफा तौलिया या कपडा प्रयोग गरेर हात सुकाउनु पर्छ ।
♦ औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउनु हुँदैन ।


2423 पटक हेरिएको 

