सफाइ, हरियाली र सुन्दरताले चम्काएको देवी मा.वि. “सरस्वती खुशी पार्न पनि सफाइ नै चाहिने”

विनोद धौलागिरि/विर्तामोड (झापा) : पूर्वी प्रवेशद्वार झापाको विर्तामोडस्थित पूर्व पश्चिम राजमार्ग छेवैमा रहेको देवी माध्यमिक विद्यालय केही वर्ष पहिलेसम्म सामान्य विद्यालयको रुपमा लिइन्थ्यो । २०१९ सालमा स्थापना भएको यस विद्यालय हाताभित्र सफा गरेर कहिल्यै नसकिने कदमका पात झर्थे । कम्पाउण्डभित्रै झाडी थियो, वर्षामा हिलो र हिउँदमा धुलो हुने यहाँका लागि सामान्य झैं लाग्थ्यो ।

सफाइ, हरियाली र सुन्दरता र सुरक्षा चार खम्बाले अहिले विद्यालय चम्काएको छ । विद्यालय सुन्दर छ, विद्यालयभित्रै बगैचा बनाइएको छ । सबै उमेर समूहका विद्यार्थीले हात धुन र पिउनका लागि अलग अलग उचाइका धारा निर्माण गरिएका छन् । विद्यालयको मैदानमा टायल लगाइएको छ । विद्यालयभित्र पत्रु खाना निषेध गरिएको छ । “विद्यालयमा विद्यार्थीको चाप यति धेरै छ कि यस वर्ष पनि सयौं विद्यार्थी भर्ना लिन नसकेर फर्काउनुप¥यो”, प्रधानाध्यापक अम्विका श्रेष्ठ सुनाउनुहुन्छ, “मैले जिम्मेवारी सम्हालेपछि पहिलो काम नै सफाइ र सुन्दरताको प्रवद्र्धन गर्ने थियो ।”


विद्यार्थीको पहिलो डेलिगेसनले दियो झड्का


२०७२ पौषदेखि देवी माध्यमिक विद्यालयमा अध्यापन गर्न थाल्नुभएकी अम्विका श्रेष्ठले २०७४ भदौ २२ मा प्रधानाध्यापकको जिम्मेवारी लिनुभयो । “म प्रधानाध्यापकको जिम्मेवारीमा बसेपछि पहिलो डेलिगेसन नै सरसफाइका लागि थियो”, उहाँले सम्झिनुभयो, “कक्षा फोहर भयो, कक्षाको बाहिर फोहर भयो, मैदान हिलो र धुलो भएर प्रार्थना गर्न समेत नसकिने भयो भन्ने गुनासो विद्यार्थीले गरेपछि मलाई झड्का दियो ।”

विद्यालय शान्त, सफा, सुरक्षित र हरियालीसहितको सुन्दर भएमात्र सिकाइको केन्द्रको रुपमा विकास गर्न सकिन्छ भन्ने मान्यताले विद्यालयले सुधार योजना तयार ग¥यो । सो सुधार योजनालाई विद्यालय व्यवस्थापन समितिले स्वीकृति दियो । नगरपालिका, जिल्ला समन्वय समिति, प्रदेश सरकार, शिक्षा मन्त्रालय र अन्य विभिन्न निकायसँगको समन्वयमा श्रोत व्यवस्थापनको काम हुन थाल्यो ।

पहिले सफाइका लागि एक जनामात्र कर्मचारी भएकोमा दुई जना थप गरी तीन बनाइयो, भित्री सफाइका लागि पनि कर्मचारी थप गरियो । “यति ठूलो विद्यालय विद्यार्थीबाटमात्र सफाइ कायम गर्न सम्भव पनि थिएन, त्यसैले”, प्रधानाध्यापक श्रेष्ठको भनाइ छ, “चार कर्मचारी थप गरी सफाइलाई विद्यालय सञ्चालनको एक प्रमुख हिस्सा बनाइयो ।”


दाता खोज्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्बाट २० लाख रुपैयाँ अनुदान प्राप्त भयो, जसबाट विद्यालयभित्रको सबै झाडी हटाएर फूलबारी बन्यो, विद्यालय मैदानमा टाली लगाइयो र भारतको सिलगुढी र विराटनगरका नर्सरीबाट विरुवा ल्याएर रोपियो । “सबै साना विरुवा हुर्काउन धेरै समय लाग्ने भएकोले कतिपय जातका हुर्किएका बोट नै समेत किनेर ल्यायौं”, प्रधानाध्यापक श्रेष्ठ भन्नुहुन्छ, “यी सबै काम विद्यालय सुधार योजनाअन्तर्गत नै गरिएको थियो ।”


विद्यालयको समग्र अवस्थामा सुधारका लागि पाँच वर्षे कार्ययोजना निर्माण गरिएको थियो, जुन अहिले दोस्रो वर्षमा छ । “विद्यालयमा पत्रु खाना निषेध गरिएको छ, विद्यालय हाताभित्रै क्यान्टिन सञ्चालन गर्ने तयारी छ”, प्रधानाध्यापक श्रेष्ठ थप्नुहुन्छ, “अहिले सीमित विद्यार्थीका लागि पोषिलो खाजा उपलब्ध भैरहेको छ, अब छिटै बाल विकासदेखि कक्षादेखि १२ सम्मकै विद्यार्थीका लागि विद्यालय हाताभित्रै क्यान्टिन समेत सञ्चालन गर्दैछौं ।”

दृढ इच्छा शक्ति र सुन्दर सपनाले दिएको सफलता

विद्यालयको पाँच वर्षे सुधार योजना एउटा सपनाको दस्तावेज हो, जसलाई पूरा गर्नका लागि विद्यालय परिवारको दृढ इच्छाशक्ति देखिन्छ । बजार र बस्तीको बीचमा रहेको यस विद्यालयमा सधैंभरि सुरक्षाको विषय खट्किन्थ्यो । विहान ११ र १२ कक्षाका विद्यार्थी बााहिर जाने र १० कक्षासम्मका विद्यार्थी भित्र आउने सममया पटक पटक झगडा, कुटाकुट र छुरा प्रहार भैरहन्थ्यो । “प्रहरी चौकीमा दिनहूँ फोन गर्नुपर्ने अवस्था थियो, तर अहिले शान्त छ”, श्रेष्ठ सुनाउनुहुन्छ, “अहिले विद्यालयभित्र १६ वटा क्लोज सर्किट क्यामेरा राखिएको छ, यसले विद्यालयलाई शान्त र सुरक्षित बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।”


विद्यालयभित्र बाल क्लब, सगरमाथा टिन्स क्लब, स्काउट, जुनियर रेडक्रस सर्कल लगायतका क्लबहरु सक्रिय छन् । प्रत्येक कक्षामा मनिटरको व्यवस्था गरिएको छ । समग्र विद्यालयको अवस्था ध्यान दिन, विद्यार्थीका समस्या विद्यालय प्रशासनसम्म ल्याउन र समन्वय गर्नका लागि विद्यालयमा क्याप्टेन र सहायक क्याप्टेन चयन हुन्छ । आन्तरिक व्यवस्थापनका लागि शिक्षक, कर्मचारी र विद्यार्थीहरु रहेका समिति बनाइएका छन् ।

“समुदायसँग विद्यालयको सम्बन्ध सुमधुर बनाउनका लागि समन्वय समिति बनाइएको छ, जसले समुदायसँग समन्वय, अभिभावकका गुनासा सुन्ने, सुरक्षा प्रवन्ध कायम गर्ने, विद्यालय वरिपरीको वातावरण शान्त र मर्यादित बनाउनका लागि विभिन्न सरोकारवालाहरुसँग समन्वय गर्छ”, श्रेष्ठ भन्नुहुन्छ ।

२०१९ मा स्थापना भए पनि २०६४ सालमा मात्र ४० जनाले पहिलो पटक विद्यालयबाट एस.एल.सी.परीक्षा दिएका थिए । यस वर्षको एस.ई.ई. मा २७७ सहभागी भए भने अहिले कक्षा १० मा २८१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब सात सयको हाराहारीमा विद्यार्थी थिए । अहिले बाल विकासदेखि कक्षा १२ सम्म ४ हजारभन्दा बढी विद्यार्थी छन् भने खुला विद्यालय कार्यक्रम समेत सञ्चालन भैरहेको छ । कक्षा ११ र १२ मात्र मात्र २२ सय हाराहारीमा विद्यार्थी रहेका छन् । “विद्यालयको भौतिक सुविधासमेत नपुगेर भर्ना हुन खोजेका विद्यार्थीलाई समेत फर्काउनुपर्ने अवस्था आयो”, श्रेष्ठको भनाइ छ, “सकेसम्म यस विद्यालयमा आउने विद्यार्थीलाई फर्काउन नपर्नेगरी भौतिक सुविधा विस्तार गर्ने प्रयास गरिरहेका छौं ।”

विद्यालयको आन्तरिक श्रोत, जिल्ला समन्वय समिति र नगरपालिकाको सहयोगमा १२ कोठे ब्लक हालसालै बनेको छ । फिल्टरसहितका तीन वटा टंकीमा पानी जम्मा गर्ने व्यवस्था छ । प्रतिघण्टा ३ हजार लिटर पानी फिल्टर हुन्छ । सबै विद्यार्थीका लागि शुद्धीकरण गरेको पानीमात्र पिउने प्रवन्ध छ । हात धुनका लागि समेत फिल्टर गरेकै पानी प्रयोग हुन्छ ।

अष्ट्रेलियाको सिकाइ, नेपालमा अभ्यास

असहाय विद्यार्थीलाई व्यवहारिक सिकाइ गर्ने र समुदाय तथा विद्यालय सम्बन्ध विस्तारका लागि शिक्षा मन्त्रालयले अष्ट्रेलियामा सिकाइ भ्रमणको मौका दियो, जसमा देशभरिबाट २१ जना शिक्षकमध्ये प्रधानाध्यापक श्रेष्ठ पनि छनौट हुनुभयो । “अष्ट्रेलियामा रहँदा विभिन्न १२ उत्कृष्ट विद्यालयको अवलोन गर्नुका साथै वृहत् अन्तरक्रिया र कार्यशालामा सहभागी हुने मौका मिल्यो”, उहाँले सुनाउनुभयो, “त्यो सिकाइलाई समेत यहाँ ल्याएर कार्यान्वयन गरिरहेका छौं ।”


भौतिक पूर्वाधार विकास समेत विद्यालयको गुणस्तरको एक शर्त भएको महसुस गरी नगरपालिका र विद्यालयको सहलगानीमा चेन्जिङ रुमसहितका दुई ठूला हल निर्मामा भएका छन् । विद्यालयमा महिनावारी उमेर समूहका १७ सय छात्रहरुलाई घरमा समेत लैजानका लागि मासिक रुपमा र आवश्यकता परेको बेला विद्यालयमा समेत स्यानिटरी प्याड उपलब्ध गराइन्छ । स्यानिटरी प्याडको विसर्जन भने किनै कठिन छ । “नगरपालिकाबाट भनेको समयमा ट्याक्टर आउँदैन, यति धेरै विद्यार्थीले प्रयोग गरेको स्यानिटरी प्याड विद्यालय हाताभित्र नियमित रुपमा व्यवस्थापन गर्न समेत निकै कठिन छ”, उहाँको भनाइ छ, “दाताले दिएको एउटा इन्सिनेरेटरले यतिधेरै प्याड जलाउन सक्ने कुरै भएन ।”

विर्तामोड नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आजमात्र विद्यालय विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि पारित गरेको जानकारी गराएपछि वास खवरसँगको कुराकानीलाई बिट मार्ने क्रममा उहाँले सुनाउनुभयो, “नगरपालिकाबाट नियमित अनुगमन नहुँदा विद्यालयलाई परेका मर्का बुझाउन निकै कठिन हुनेरैछ । अब त अलिक सजिलो हुन्छ कि ?”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार