
बझाङ : बझाङको थलारा गाउँपालिका–६ सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन । घर अगाडि चौबिसै घण्टा पानी आउने धारा छ । न पालो कुर्नुपर्ने हतारो, न पानी सुक्ला भन्ने डर । ‘बरु कोही केटाकेटीले धारा खुलै छोड्छन् कि भनेर बेलाबेला हेर्ने गर्छु । धारो खुलै राखे मिटरमा बिल चढ्छ,’ उनले भनिन् ।
३८ परिवार रहेको सँडिल गाउँमा अहिले कन्तरीको घरमा मात्रै होइन, सबैको घरमा निजी धारा छन् । कुनै बेला फोहोर गाउँको परिचय पाएको सँडिल पर्याप्त पानी भएका कारण अहिले पूर्ण सरसफाइयुक्त गाउँमा रूपान्तरण भएको छ । सफा र चिटिक्क घर आँगन, सुग्घरी केटाकेटी, प्रत्येक घरको करेसाबारीमा फलेको लटरम्म तरकारीले यो गाउँ रहर लाग्दो भएको छ । डेढ वर्षअघिसम्म सँडिलका बासिन्दाहरूले घरघरमै चौबिस घण्टे धारा होलान् भनेर सपनामा पनि चिताएका थिएनन् । पानी भर्नकै लागि सँडिलको सिंगै गाउँ आधा रातमा उठ्थ्यो । गाउँदेखि आधा घण्टा टाढा रहेको नाउलो ९कुवा० को पानी भर्न ठूलै प्रतिस्पर्धा चल्थ्यो । ‘जो छिटो पुग्यो उसैले पहिला पानी भर्न पाउँथ्यो । पाँचरदस मिनेट ढिला भयो भने कुवाको पानी सकिहाल्थ्यो,’ कन्तरीले भनिन्, ‘कहिलेकाहीं त एक गाग्री पानी भर्न दिनभर कुवा कुरेर बस्नुपर्थ्यो । नभए खोलाको फोहोर पानी खानुपर्थ्यो ।’
पहिरोको जोखिम रहेको भंक भन्ने ठाउँमा रहेको कुवामा पानी भर्न जाँदा भीरबाट खसेको ढुंगा लागेर एक जना महिलाले ज्यान गुमाएको सम्झँदै स्थानीय प्रेम गुरुङ भन्छन्, ‘पानी भर्न गएको मान्छे घर नआउँदासम्म केही भइहाल्यो कि भनेर चिन्ता लागिरहन्थ्यो । अब त ढुक्क छ ।’ उनले घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको पनि लहर चलेको बताए । ‘पहिला खुर्सानी पनि नहुने ठाउँमा पानी आएपछि थरीथरीका तरकारी फलाउन थालेका छौं । कति परिवारले यही तरकारी बेचेर महिनाको ४०र५० हजारसम्म कमाउँछन्,’ उनले भने ।
सँडिल गाउँ घरघरमा निजी धारा हुने जिल्लाकै पहिलो गाउँ हो । थलारा गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको लगानी र स्थानीयको श्रमदान गरेर ३५ लाखको लागतमा चिप्लेटी भन्ने मुहानबाट पानी ल्याएर डेढ वर्षअघि यहाँ घरघरमा धारा निर्माण गरिएको थियो । चिप्लेटी निजी धारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष साइमल चौहानले प्रत्येक धारामा मिटर जडान गरिएको र पानी प्रयोग गरेअनुसारको रकम प्रत्येक घरधुरीले मासिक रूपमा तिर्ने गरेको बताए । गाउँपालिकाले यहाँका पाँच वटा गाउँ तराँटी, सेरालागाउँ, सँडिल, गडी गाउँ र मल्लो डिक्लाका सबै २ सय २४ घरमा निजी धारा निर्माणको काम सम्पन्न गरिसकेको छ । यस्तै, दंगाजी, बेराडी, काँडा, काप्रा, बस्ती, मेटेलधार, पिखेत, ग्वाना र काँडाबाँझ गाउँलाई समेट्ने गरी ६ सय १४ वटा निजीधारा निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
घरघरमा धारा भएका गाउँहरूमा सार्वजनिक धारामा जस्तो महिनावारी भएका महिलालाई छुन नदिने चलनको पनि अन्त्य भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार विष्णु पोखरेलले बताए । आगामी दुई वर्षभित्र गाउँपालिकाका सबै घरमा निजी धारा पुर्याउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । उपाध्यायका अनुसार पानीको उपयोग गरेर व्यवसाय गर्न चाहने उपभोक्तालाई सहकारीमार्फत सस्तो दरमा ऋण उपलब्ध गराउने योजनासमेत गाउँपालिकाको छ । हालसम्म निर्मित र निर्माणाधीन योजनामा गाउँपालिकाको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र स्थानीयको श्रमदान गरी ३ करोड रुपैयाँ खर्च भएको उनले बताए ।
साभार :वसन्तप्रताप सिंह/कान्तिपुर


1817 पटक हेरिएको 

