खानेपानी तथा सरसफाइ आयोजनामा महिला नेतृत्व

सम्वृद्ध र समावेशी समाज निर्माणका लागि महिला र पुरुष दुबैको सहभागिता अपरिहार्य छ । महिलाहरुलाई ‘आधा आकाशका हकदार’ भनिए पनि खासगरी हाम्रो जस्तो अल्पविकसित देशमा यस्ता कुराहरु भनाईमा मात्र सीमित हुन पुगेका छन् । सुगम र शहरी क्षेत्रका महिलाहरुको केहि मात्रामा सशक्तिकरण भए तापनि दुर्गम र अविकसित क्षेत्रका महिलाहरुको क्षमता उजागर हुन सकेको छैन।

यो तथ्यसँग परिचित ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिले खानेपानी तथा सरसफाई आयोजनाहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका सवालहरुलाई प्राथमिकता दिंदै आएको छ । खानेपानी तथा सरसफाई आयोजनाका प्रत्येक चरणमा महिलाहरुलाई सक्रिय सहभागी गराई आयोजनासंग सम्बन्धित नीति एवं निर्णय प्रक्रियामा पनि उनीहरुको अभिमत सुनिश्चित गर्ने कोष विकास समिति को नीतिले खानेपानी तथा सरसफाई आयोजनाहरुमा महिला सशाक्तिकरंका राम्रा उदाहरणहरु देख्न पाइन्छ।

छलफलको क्रममा उपभोक्ता समितिकी अध्यक्ष रुनुका कुमारी तामांग (रेनु) बायाँ बाट दोश्रो

कोष विकास समितिको आर्थिक सहयोग र जानकी महिला जागरण समाज (JWAS),सिराहाको प्राविधिक सहयोग एवं सहजीकरणमा सिराहा जिल्लास्थित साबिकको बडहरामाल वडा नम्बर ६ (कर्जन्हा नगरपालिका वडा नम्बर ४) मा संचालित शान्तिदिप खानेपानी तथा सरसफाइ आयोजना महिला सशक्तिकरण को मानक बनेको छ।

गाग्रीमा पानी , गहभरि आँशु

तराई क्षेत्र भएपनि भूमिगत पानीको अभावले गर्दा विगतमा यस क्षेत्रका बासिन्दाले ठुलो दुस्ख झेल्नु परिरहेको थियो। ८० फीट गहिरो बोरिङ्ग गर्दा पनि पानी नआउने यस ठाउँमा वि.सं.२०४७ मा सरकारी पहलमा खानेपानी आयोजना निर्माण भएको थियो । तर व्यवस्थित संचालन र मर्मत सम्भारको परिपाटी नै नभएकोले उक्त आयोजना दिगो हुन सकेन । मानिस र बस्तुभाउका लागि समेत छिमेकी टोलबाट पानी ओसार्नु बाहेक यहाँका वासिन्दासंग अरु उपाय थिएन ।

‘सधैं अरुको टोलमा गएर पानी भर्नुपर्द गाली सुन्नु पर्थ्यो, पानीकै निहुँमा झगडा हुनु नौलो कुरा थिएन। टाढा गएर वचनसरिको पानी भर्दा गाग्रीमा पानी भरिएसंगै गहभरि आँशु पनि भरिन्थ्यो। पानी भर्न जाँदा घरको सारा काम बित्थ्यो, छोराछोरीको बिचल्ली हुन्थ्यो र हाम्रो मुख्य काम चाहिं पानी भर्ने मात्र हो कि जस्तो लाग्थ्यो। ती दिन त हाम्रा लागि नर्क समान थिए।’ स्थानीय गंगालामा विगतको कटु अनुभव यसरी व्यक्त गर्नु हुन्छ। यहाँका वासिन्दाहरुको विगत साँच्चिकै कठिन थियो। पानी भर्ने जिम्मा त महिलाहरुकै मात्र हो जस्तो सोच्चिन्थ्यो । पानी भर्ने काममा उनीहरुले परिवारकै सदस्यको पनि साथ र सहयोग पाउँदैन थिए । आफ्नो दुस्खलाई गंगाले यसरि गीतमा उतार्नु भएको छ –

दसैं आयो, औंशी आयो, लिप्नु पर्थ्यो घर द्वार
घरमा छैन थोपो पानी सरसफाइको मुख्य आधार

पुरुषलाई भन्थ्यौँ हामी, जाऔँ न थाप्न पानी
उ भन्थ्यो, जान्न्न म त पानी बोक्ने छैन बानी

‘उतिखेर न त राम्ररी तिर्खा मेट्न पाइने, न त सफा बस्न पाइने। वस्तुभाउलाई अघाउँजी पानी खुवाउन पनि नसकिने, तरकारी उब्जाउनु त परको कुरा । धेरै जसो गुन्द्रुक खाएर छाक टार्नु पर्थ्यो । हामी आफ्नो भाग्यलाई दोष दिन्थ्यौं।’ विगतमा पाएको दुस् खको बेलिबिस्तार लगाउँदै गंगा भन्नु हुन्छ।

पानीको अभावले मानिसहरुलाई सरसफाइजन्य र छालासम्बन्धि रोगब्यधिले पनि सताउँथ्यो। झाडापखाला, टाइफाइड, जुका जस्ता रोग त यहाँका वासिन्दाका सामान्य जस्तै थिए । वातवरणिय सरसफाइ को अवस्था पनि नाजुक थियो।

यसो त यहाँका वासिन्दाले पानीका लागि आफ्नो स्तरबाट सक्दो प्रयास नगरेका होइनन्। तर न त उनीहरुले खनेको इनारमा पानी आयो, न त टाढाबाट पानी तानेर ल्याउने सपना पुरा भयो ।

जब आशाको घाम झुल्कियो

यही अवस्थाका बीच वि.सं. २०७२ मा जानकी महिला जागरण समाज (JWAS) का कर्मचारीहरुले यो ठाउँमा खानेपानीको हाहाकार छ भन्ने थाहा पाएर खानेपानी आयोजना संचालनका लागि स्थानीय बासिन्दाहरुलाई उपभोक्ता समिति गठन गर्ने सल्लाह दिए । समितिको अध्यक्षमा कसलाई मनोनयन गर्ने भन्ने बिषयमा धेरै छलफल भयो। अन्तत स् पानीका लागि लामो समयदेखि लागि परेकी रुनुका कुमारी तामांग (रेणु) सर्वसम्मत ढंगबाट चुनिनुभयो। ।

प्रारम्भिक अवस्थाका चुनौतीहरु

औपचारिक शिक्षा हासिल गर्न नपाएकी एक ग्रामीण महिलालाई हाम्रो जस्तो पुरुष प्रधान समाजमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण तथा संचालन को मुख्य जिम्वेवारी बहन गर्नु पर्ने उपभोक्ता समितिको अध्यक्ष पद सम्हाल्न सजिलो पक्कै थिएन। तर सधैँ सजिलो मात्र खोजेर पाएको अवसरको सदुपयोग नगर्ने हो भने सधैं पछि परिन्छ भन्ने सोचेर रेनुले यो चुनौतिपुर्ण कार्यको जिम्वेवारी लिनुभयो। काम गर्ने क्रममा कतिले उहाँलाई महिला भएको कारण यो जिम्वेवारी बहन गर्न नसक्ने कारण देखाई उपभोक्ता समितीको अध्यक्ष पदबाट राजिनामा दिन दबाव समेत दिएका थिए । बेला बेलामा आउने त्यस्तो दबाव र हतोत्साह पुर्ण व्यवहारका बावजुद रेनुले कत्ति पनि विचलित नभई सधैं आफ्नो कर्तव्य पालना गरिरहनु भयो । समितिका अन्य पदाधिकारीहरुले उहाँलाई गरेको समर्थनले गर्दा समुदायका अधिकांश उपभोक्ताहरुले समेत उहाँलाई नै समर्थन गरेर अगाडी बढ्न जोड दिए ।

कोष विकास समितिको नियम अनुसार खानेपानी आयोजनाको प्रारम्भिक चरणमा साढें पांच प्रतिशत रकम समुदायको तर्फबाट लगानी गर्नुपर्ने थियो । त्यसअनुसार कम्तिमा तीन लाख पचास हजार रुपैयाँ जम्मा गर्नु पर्ने थियो । तर आर्थिक अभावले ग्रस्त उक्त समुदायबाट त्यत्रो रकम संकलन गर्न सम्भव थिएन । तर पानीको टड्कारो समस्या भएको क्षेत्रमा आएको त्यो अवसरलाई कुनै हालतमा गुमाउन मिल्दैन थियो । रकम कसरी जुटाउने भन्ने बिषयमा छलफल गर्दै जाँदा तिन लाख रकम गाउँ स्थित नमुना वन समुदायबाट सहयोगको रुपमा लिने कि भन्ने सल्लाह भयो ।

वन समुदायका उपभोक्ताले उक्त रकम दिन सिफारीस गरेता पनि अन्ततः १ लाख ८० हजार मात्र निकासा भयो। उनीहरुले यस काममा घर परिवारको पनि सहयोग पाउन सकेनन् । यस कामबाट समुदायका अन्य पुरुष सदस्य हरु पन्छिन थालेपछि उनीहरुले ऋण लिएर भएपनि पैसाको जोहो गर्ने विचार गरे।

संकटमा काम लाग्यो आफ्नै महिला समूह

उपभोक्ता समितिले एकदशक अघि गठन गरेको महिला समुहबाट एक लाख बीस हजार रुपैयाँ ऋण लियो। चाडबाड, विवाह( ब्रतबन्ध, पुजा आजा, काज किरिया गर्दा सधैँ साधन श्रोतको कमी हुने समस्याबाट छुटकारा पाउन उनीहरुले प्रत्येक तिहारमा देउसी भैलो खेलेर पैसा उक्त समुहमा जम्मा गर्ने गर्दथे। संकटका बेला त्यहि समूह उनीहरुको काम आयो। यस समुहसंग हाल करिब २० लाख रुपैयाँ बराबरको जिन्सी समान छ। जस अन्तर्गत सामुहिक भोज भतेर तथा कार्यक्रमका लागि चाहिने मेच, टेबल, ग्यास सिलिन्डर , ग्यास चुल्हो, समेना, बाजा गाजा, स्पिकर , भाँडा कुँडा प्रशस्त छन्। यस समुहले समुदायका सबै सदस्य लाइ बिना कुनै भेदभाव यस्ता सामाग्रीहरु उपलब्ध गराउने गर्दछ।

बदलिएको परिस्थिति

शान्तिदिप खानेपानी तथा सरसफाइ आयोजनाका महिला उपभोक्ताहरु कोष विकास समितिको जीविका कार्यक्रम अन्तर्गत गठित महिला प्राविधिक समुहका सदस्यपनि बनेका छन्, जसमा सदस्यहरुको बचत रकममा कोष विकास समितिले बिउ पुँजी स्वरुप प्रदान गरेको बिस हजार रुपैयाँ समेत थपिएको छ।


हाल समुदायमा पर्याप्त मात्रामा पानी उपलब्ध छ। पानीको स्वाद र गुणस्तर राम्रो भएकोले महिला सदस्यहरुले पानी प्रशोधन संयन्त्र स्थापना गरेर बिक्री गर्ने सोच बनाएका छन् । तर यो सोचले साकार रुप लिन अझै केहि समय लाग्ने देखिन्छ। किनभने यसका लागि उद्योग दर्ता गर्नुपर्ने र सम्भाव्यता अध्ययन गर्नुपर्ने काम हरु बाँकी नै छन्।

कुनै दिन राम्ररी तिखा मेट्न नपाउने यहाँका वासिन्दाहरुको मुहारमा यतिखेर खुशियाली छाएको छ। घर घर घरमा धारा र शौचालयको व्यवस्था भएपछि मानिसको स्वच्छता र सरसफाई सम्बन्धि आनीबानीमा त् परिवर्तन आएको त छ नै , उनीहरुको सोच पनि सकारात्मक भएको छ। कोष बिकास समितिको विभिन्न तालिम तथा कार्यक्रमले गर्दा समुदायमा चेतना अभिवृद्धि भएको छ। मानिसहरुले घर घरमा करेसाबारी लगाएका छन्। अब पहिलेजस्तो गुन्द्रुकका भरमा छाक टार्नु पर्ने अवस्था छैन। मानिसहरु तरकारी खाएर बढी भएको बेच्न थालेका छन्।

यस खानेपानी योजनाले एकातिर समुदायलाई खानेपानी जस्तो आधारभूत आवश्यकता पुरा गरेको मात्र नभई महिला नेतृत्व वहन गर्न र चुनौतीको सामना गर्न पूर्ण रुपले सक्षम छन् भन्ने तथ्यलाई पुन: एकपटक पुष्टि गरेको बताउनु हुन्छ सहयोगी संस्था जानकी महिला जागरण समाजका नारायण दाहाल। भाषण र नारामा मात्र महिला अधिकारको कुरा गर्ने प्रवृति त्यागेर महिलाहरुले गरेका यस्ता उदाहरणीय कार्यहरुलाई कदर गर्ने हो भने विकास वास्तवमै समावेशी हुने देखिन्छ।

लेखक ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा जीविका विज्ञ हुनुहुन्छ । यस लेखलाई कोष विकास समितिद्वारा प्रकाशित बुकलेट “सफलताका कथाहरु” बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार