पानीको स्रोत सुक्न थालेपछि गाउँपालिकाको ध्यान जलाधार संरक्षणमा

आकासे पानीलाई सञ्चित गर्न ३ लाइनमा ड्रिल गरिने

  वास खबर सम्वाददाता  421 पटक हेरिएको

डोटी : पानीको स्रोतहरू सुक्न थालेपछि आदर्श गाउँपालिकाले जलाधार तथा पर्यावरण संरक्षण अभियान सुरुवात गरेको छ । पालिकाको ७ वटै वडामा खानेपानीको हाहाकार छ । बस्ती नजिक रहेका पानीका स्रोतहरू सुक्दै जान थालेपछि तीव्र बसाइँसराइँ तथा खाद्यान्न संकट देखिन थालेका छन् ।

गाउँपालिकाको तथ्यांक अनुसार ५ हजार २३८ घरधुरीमध्ये ४ हजार २९४ घरधुरीमा खानेपानीका धारा जडान गरिएका छन् । तर, त्यसमध्ये ५० प्रतिशत खानेपानीका धारामा पानी आउन छाडिसकेको गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले बताउनुभयो । ‘निर्वाचनमा खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेन्डा बनाएर जनताकहाँ गएको थिए,’ गाउँपालिका अध्यक्ष खड्काले भन्नुभयो, ‘बस्तीनजिक पानीका स्रोत नै सुकिसकेपछि हाहाकार भइरहेको छ, अब जलाधार संरक्षण अभियानमा नलागी भएन ।’

गाउँपालिका अध्यक्ष खड्काले अभियान अर्न्तगत सुकिसकेका पानीका स्रोतहरुलाइ पुरानै अवस्थामा फर्काउन पालिकाले रणनैतिक योजना तयार गरिरहेको बताउनुभयो । जसका लागि पालिकाले अमेरिकाको यूनिभर्सिटी अफ एरीजोनाको भूविज्ञान विभागका प्राध्यापक तथा भूगर्भविद् टंक ओझासॅंग परामर्श गरिरहेको छ ।

आदर्श गाउँपालिकामै जन्मभूमि रहेका भुगर्भविद् ओझाले सुकिसकेका पानीका स्रोतहरूलाई जलाधार तथा पर्यावरण संरक्षणबाट पुनः पुरानै अवस्थामा फर्काउन सकिने दाबी गर्नुभएको छ । त्यसका लागि पालिकाको भूगर्भबारे गरिएको अध्ययनका आधारमा उहाँले विभिन्न ६ स्थानमा जलाधार संरक्षित क्षेत्र तोकिनुपर्ने सुझाव दिनुभएको छ ।

पालिकाले जलाधार संरक्षण तथा पर्यावरणसम्बधी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भूगर्भविद् ओझाले गाउँपालिकालाई ती संरक्षित क्षेत्रमा आकासे पानीलाई सञ्चित गर्न ३ लाइनमा ड्रिल गर्नुपर्ने योजना अघि सार्नुभएको छ ।

‘आकासे पानीलाई त्यही अल्मलाएर माटोको भित्री सतहमा छिराउँदा सुकेका मूल केही वर्षमै फर्कने अवस्था छ,’ ओझाले दाबी गर्दै भन्नुभयो, ‘हामीले विभिन्न देशहरूमा गरेको परीक्षणबाट यो पुष्टि गरिसकेका छौं,’ आदर्श गाउँपालिकालाई तत्कालै यो योजना कार्यान्वयनमा ल्याउन जरुरी छ ।’ साभार कान्तिपुर दैनिक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार