
लुम्बिनी : गर्मी मौसम सुरु भएसँगै नेपाल–भारत क्षेत्रअन्तर्गत पर्ने नाकाका बस्तीमा खानेपानीको समस्या देखिएको छ । विशेष गरेर कोइलाबास, मुसी, खंग्रा, भैसाही, सुकौली लगायतका नाका बस्तीमा खानेपानीको चरम अभाव छ । लुम्बिनी प्रदेश सरकारले एक घर एक धाराको अभियान सञ्चालन गरे पनि नाका क्षेत्रका बस्तीमा अभियानले छुनै सकेको छैन । पानीको स्रोतको अभाव र लगानीको पनि त्यतिकै समस्या भएको स्थानीयको गुनासो छ ।
प्रत्येक गर्मी मौसममा यहाँका स्थानीयले यही समस्या भोग्ने गरेका छन् । खानेपानीको अभाव टार्न कोइलाबासका स्थानीय भारत जाने गरेका छन् भने अन्य नाकाका स्थानीय भने जंगलभित्रका खोल्साखोल्सी चाहार्ने गरेका छन् । खडेरीका कारण कुवा र खोला सुकेपछि बस्तीहरूमा खानेपानीको समस्या देखिएको हो ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत जिल्लाको प्रमुख नाकाका रूपमा रहेको कोइलाबासमा पनि खानेपानीको समस्या छ । कुनै बेला कुवाको पानी पर्याप्त हुने कोइलाबास क्षेत्र अहिले साँझ बिहान पिउने पानीकै लागि पाँच किलोमिटर टाढा भारतको बलापुर गएर पानी ल्याउनु पर्ने बाध्यता छ । कोइलावासमा रहेका कुवा सुकेसँगै वर्षेनी खानेपानीको समस्या देखिने गरेको छ । कुवामा रातभरि संकलन भएको पानी बिहान भर्दाभर्दै सकिन्छ ।
कुवामा पानी सकिएपछि खानेपानीका लागि पाँच किलोमिटर टाढा भारतको बालापुरको जरुवा भन्ने ठाउँ जानुपर्ने बाध्यता भएको कोइलावास निवासी मालती पुनले बताइन् । “अन्य समयमा कुवाँसगै खोलामा सिमको पानीले पुग्ने गरेको हुन्छ । तर गर्मी सुरु भएसँगै कुवामा पानी हुँदैन,” पुनले भनिन्, “जसले गर्दा पानीकै लागि भारतको बालापुर जानुपर्ने बाध्यता छ ।”
कोइलाबास क्षेत्रमा खानेपानीको समस्या हुँदा पहिले नेपाल–भारत सीमा सुरक्षाका लागि बसेको एसएसबीले दिने गरे पनि अहिले उनीहरूको पनि बोरिङ बिग्रिएपछि खानेपानीका लागि दुःख भएको उनी बताउँछिन् । “पहिले एसएसबीले खानेपानी पनि दिने गरेको थियो । तर अहिले धारा बिग्रिएको भन्दै दिँदैन,” उनले भनिन्, “त्यसले गर्दा खानेपानीकै लागि टाढा जानुपर्ने बाध्यता छ ।”
आर्थिक रूपमा सम्पन्न परिवारले भारत तथा नेपालका गढवाबाट खानेपानी किनेरै लग्ने गरे पनि आर्थिक रूपमा विपन्न परिवार पानीका लागि पाँच किलो मिटर टाढा जानैपर्ने बाध्यता रहेको नन्हकप्रसाद सुक्ला बताउँछन् । “हुनेखाने परिवारले गाडीबाट पानी बिक्रीका लागि ल्याएको बेलामा राख्छन्,” उनले भने, “आर्थिक रूपमा कमजोर परिवारसँग पानी किन्नलाई समेत पैसा हुँदैन । त्यसैले उनीहरू एसएसबीलाई भनेर भारतमै पानी ल्याउनुपर्ने बाध्यतामा छन् ।
नदीजन्य उत्खनन्ले पानीको समस्या
कोइलाबासबासीले खानेपानीको समस्या भोग्न थालेको आजको भने होइन । पानीका लागी कोइलाबासका नागरिकले दुःख भोग्नुपरेको एक दशक बढी समय भइसकेको छ । त्योभन्दा अगाडि कोइलाबासमा पानीको दुःख थिएन । कोइलावास बजारभरि इनार थिए । कोइलावासको छेउबाटै खोला बग्ने गदथ्र्यो । तर अहिले कोइलावासमा खोला छ तर, पानी छैन । कोइलाबास खोला चार मिटर गहिरिइसकेको छ, हेर्दा खोलाको पिँध नै भेटाउन मुस्किल हुन्छ ।
कारण खोलाको अनियन्त्रित उत्खनन् । ढुगाका लागि गरिएको अवैध उत्खनन्ले कोइलाबासमा पानीको ठूलो संकट परेको छ । अनियन्त्रित उत्खनन्ले खोला गहिँरिदै गयो । खोलामा पानी सुक्यो । जमिन सुक्खा भए । भएका इनार पनि सुक्दै गए । इनारमात्रै रहे, भित्रको पानी सुक्यो । अहिले ती इनारमध्येका कतिपयमा झारमात्रै छ, पानी छैन । कोइलाबासका इनारमा पानी सुकेपछि केही वर्षअघि डिपबोरिङ खानिएको थियो । तर त्यो पनि स्थायी हुन सकेको छैन ।
कोइलाबासमा खानेपानीको संकट निम्तिएछि हरेक वर्षझैँ तत्कालीन गाविस र जिल्ला विकास समितिबाट बजेट आए पनि त्यसको सदुपयोग नहुँदा अहिले पनि पानीको समस्या भएको स्थानीय बताउँछन् । “कुवामा पानी सुकेपछि धारामार्फत् पानी ल्याउने योजना भयो । बोक्सरेबाट पानी त आयो तर, धेरै समय टिकेन,” गढवा गाउँपालिका–८ का पूर्ववडाध्यक्ष सद्धाम सिद्धिकीले भने ।
स्थानीय सरकार गठन भएपछि कोइलाबासमा नेपाली भूमिबाटै निस्किएको पानी खुवाउने योजनाका साथ डिपबोरिङ खन्ने काम गरिएको थियो । दाङको गढवा गाउँपालिका–८ कोइलावासमा वर्षौ अघि खनिएका इनारमा पानी सुकेको डेढ दशक भइसक्यो । इनारमा पानी सुकेपछि खानेपानीका लागि ०६५ सालमा धारा जडान गरियो । बोक्सरे भन्ने ठाउँमा पाँच वर्ष अघिदेखि पानीको मुहान क्रमिक रूपले सुक्दै गयो । त्यसपछि कोइलाबासको धारामा पानी आउनै छोड्यो । करिब दुई सय घरधुरी रहेको कोइलाबास बजारका नागरिक खानेपानीको लागि छिमेकी भारतमा भरपर्नु परेको खबर कारोबार दैनिकमा छापिएको छ ।
“पानी सुक्यो भने त हामी सबै भारतमै जानुपर्ने हुन्छ,” स्थानीय चन्द्र गुरुङले भने, “पहिले एसएसबीले दिन्थ्यो सजिलो हुन्थ्यो । अहिले त्यहाँ पनि पानी सुक्यो भन्छ । त्यसैले बालापुर नै जानुपर्ने बाध्यता छ ।” “ढुंगाको काम गर्ने बेला ठेकेदारले ढुंगा सबै निकालेर लगिसके । कुवाको लेबल माथितिर भैगो । सोता तलतिर भैगो । पानी छैन,” पूर्ववडाध्यक्ष सिद्धिकीले भने, “१४–१५ वटा कुवा छन् । ढुंगा निकाल्ने बेला खोलाको लेबल तल तिर गएपछि कतिपय कुवामा त पानी नै हुँदैन अहिले ।”
स्थानीय बासिन्दाका अनुसार मनपरि रूपमा ढुंगागिटी उठाउन थालेपछि भूमिगत पानी सुक्न थालेको हो । कोइलाबास खोलामा पानी बग्दासम्म त्यहाँका इनारमा प्रशस्त पानी आउँथ्यो । यही क्रममा कोइलाबास खोलामा बनाइएको बाँध भत्कियो । त्यसपछि कोइलाबासमा पानीको संकट पर्न गएको बुझाइ कोइलाबास घर भएका जावेद अहमद सिद्धिकी बताउँछन् ।
खानेपानीको संकट बढ्दै गएपछि खानेपानी तथा सरसफाइ डिभिजन र भूमिगत जलस्रोत तथा सिँंचाइ डिभिजन कार्यालयको पहलमा ६ ठाउँ डिपबोरिङ खनिएको छ । तर, पानी आएन । सातौँपटक १७५ मिटर गहिरो डिपबोरिङ खन्दा पानी त भेटियो तर दीर्घकालीन हुन सकेको छैन ।


443 पटक हेरिएको 

