चापाकल सुकेपछि पानीको समस्या

यी हुन् चापाकल सुक्नुका कारण

  वास खबर सम्वाददाता  346 पटक हेरिएको

बारा : अत्यधिक खडेरीले बाराका अधिकांश चापाकल सुक्न थालेका छन्। जिल्लाका अधिकांश ठाउँमा पानीको सतह कम हुँदै गएकाले समस्या हुन थालेको स्थानीय बासिन्दा बताउँछन्।

कलैया उपमहानगरपालिका २, ३, ५, १६, १८, वडाको कलैया टोल, भवानीपुर, ब्रह्मपुरी, औधापुर, उत्तरझिटकैया, मझौलिया, श्रीपुर, बकुलहर, कवलपुर, भोडहा, मदिलवा, मनहर्वा, सखुई, बिजुलपुर, सिसवामहेशपुर, गङ्गापुर, भतौडा, कोइरिया टोल, सिसहनिया, पतौरा, पचायनपुर लगायतका गाउँमा चापाकलबाट पानी आउन कम भएको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जैसवालले बताउनुभयो।

यसै गरी जितपुरसिमरा उपमहानगरपालिका ३, ६, ७, ११, १४, १६, १८, वडाको बडहर्वा, मनहर्वा, पिलुवा, डुमरवाना, जैतापुरटोलमा चापाकलबाट पानी आउन बन्द भएको कुवेर ठकुरीले जानकारी दिनुभयो। सो ठाउँमा रहेका नदी, तलाउ र पोखरीको पानी समेत सुकेकाले सहज रूपमा खाना पकाउन, लुगा धुन तथा नुहाइधुवाइ गर्न अहिले समस्या भएको उहाँले उल्लेख गर्नुभयो।

बढ्दै गएको गर्मी र पानी नपरेका कारण सय फिटसम्म गहिराइ रहेका अधिकांश चापाकल सुक्नुका साथै नदी, पोखरीको पानी सुकेकाले गाई, भैँसीलाई समेत पानी खान समस्या हुँदै आएको महागढीमाई नगरपालिका–३ का अरविन्दप्रसाद जैसवालले बताउनुभयो। उहाँले भन्नुभयो, “डेढ सय फिट गहिरो रहेको चापाकलबाट मोटरले पानी तान्न नसकेपछि चेकजाँच गर्दा पानीको सतह नै अत्यधिक कम भेटेपछि एक साताअघि तीन सय फिट गहिरो अर्को चापाकल गाडेको छु।”

मौसमी वर्षाबाहेक अन्य समयमा अकासे पानी नपर्दा यसरी पानीको मुहान सुक्नुका साथै चापाकल, नदी र तलाउमा पानी कम हुन जान्छ, पानी परेपछि सुकेका सबै ठाउँमा फेरि पहिलाकै जस्तो पानी आउन सुरु हुने भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साका प्रमुख विकास ठाकुरले बताउनुभयो।

जाडोयाममा पानीको सतह जमिन माथिसम्म रहेकाले चापाकल, इनार, पोखरी र नदी तलाउमा पर्याप्त मात्रामा पानी रहन्छ, गर्मीयाममा पानीको सतह जमिनमुनि जाने भएकाले सहज रूपमा पानी नभेटिने गरेको तथा मौसम परिवर्तनको कारण यस्तो हुने गरेको उहाँले भन्नुभयो।

यसरी पानीको सतह कम हुन नदिन बढी सङ्ख्यामा रुख, बिरुवा रोप्नुका साथै चुरे भावर आसपासका क्षेत्रमा माटो, बालुवा उत्खनन रोक्नुपर्ने, वन जङ्गल अतिक्रमण भएको स्थानमा नयाँ रुख रोप्ने अभियान चलाउनुपर्ने आवश्यक रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले बताउनुभयो।

हालसम्म बारा जिल्लाको करिब १० हजार हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ। चुरे, भावर क्षेत्रका रुख बिरुवा विनाश हुँदै गएकाले (पानी रिचार्ज) जल पुनर्भरण हुन नसक्दा दक्षिणी भेगमा चापाकलमा पानी सुक्ने समस्या आउने गरेको उहाँले जानकारी दिनुभयो। यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।

चुरे, भावर क्षेत्रमा हुँदै आएको रुख बिरुवा विनाशलाई रोक्नुपर्ने, सो क्षेत्रमा हुने विकास निर्माणको कार्य बन्द गर्नुपर्ने लगायतका कार्यमा स्थानीय सरकार तथा बासिन्दा लागेपछि पानीको समस्याबाट सजिलैसँग छुटकारा हुन सक्ने सजिलो उपाय रहेको डिभिजन प्रमुख सिंहले दाबी गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार